सबैभन्दा बढी खाद्यान्न मूल्य मुद्रास्फीति भएका १० देशमध्ये श्रीलङ्का पाचौंमा

कोलम्बो । विश्व बैंकको पछिल्लो तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी खाद्यान्न मूल्य मुद्रास्फीति भएका १० देशमध्ये श्रीलङ्का पाँचौं स्थानमा परेको छ । आफ्नो खाद्य सुरक्षा अनुगमन अद्यावधिक प्रतिवेदनमा विश्व बैंकले युक्रेनमा युद्ध शुरु भएदेखि नै खाद्यान्न र कृषि मलहरूको मूल्य वृद्धिसँगै यसको खाद्य सुरक्षाको सहजतामा कठिनाइ थपिएको छ । कोरोना महामारीको शुरुमा सम्भावित खाद्यान्न अभावको सामना गर्दा देशहरूले घरेलु आवश्यकताहरूलाई परिपूर्ति गर्न सक्रिय व्यापार नीति प्रयोग गरेका थिए जसले विश्वव्यापारमा उतारचढाव ल्याएको छ । गत जुलाईसम्म श्रीलङ्काले घरेलु खाद्यान्न आपूर्तिमा चरम अभावको अनुभव गरिरहेको छ । विदेशी मुद्रा सञ्चिति अभावले देशले ठूलो व्यापार घाटा व्यहोरेको छ । खाद्यान्न आयात गर्न अहिले पनि विदेशी मुद्राको चरम अभाव छ । पाकिस्तानलगायत दक्षिण एसियाली देशहरूमा खाद्यान्नको मूल्य मुद्रास्फीति उच्च रहँदा यस्तो भएको हो । भरखरै युक्रेनी अन्न ढुवानी चलिरहेको छ तर खाद्य सुरक्षामा चुनौतीह यथावत् छ । विश्व बैंकको मूल्याङ्कनअनुसार विगत दुई साताको अवधिमा विश्वव्यापी रूपमा कृषि, अनाज र निर्यात मूल्य सूचकाङ्कहरू स्थिर रहेकाले कृषि तथा अनाजको मूल्य सूचकाङ्क दुई साता अघिको तुलनामा एक प्रतिशतले बढेको छ । एएनआई

अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे

क्यानबेरा । मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २००० मा ११ हजार सात सयले मिर्गौला प्रतिस्थापन थेरापी लिएकामा सन् २०२० मा त्यो सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएर २७ हजार सात सय पुगेको थियो । अस्पताल भर्ना भएका मध्ये ५३ प्रतिशत डायलासिस (मिर्गौलाले राम्रोसँग काम गर्न छोडेपछि रगतबाट फोहोर हटाउने यान्त्रिक प्रक्रिया)मा थिए र बाँकी मिर्गौला प्रत्यारोपण गराउनेहरू थिए । सन् २०१९/२० मा अस्ट्रेलियामा अस्पताल भर्ना हुने सबैभन्दा धेरै मिर्गौलाका बिरामी रहेका तथा ती मध्ये १४ प्रतिशतले डायलासिस गराएका थिए । एआईएचडब्यूका प्रवक्ता मिरियम लुम ओन तीन महिना वा सोभन्दा बढी समयसम्म रगतबाट फोहोर हटाउन नसक्ने मिर्गौलाको अवस्थालाई ‘क्रोनिक’ मिर्गौला रोग हो भन्दै उनले १७ लाख अष्ट्रेलियालीमा मिर्गौला रोगको प्रारम्भिक लक्षण भएको अनुमान सुनाइन् । उनले धेरै अष्ट्रेलियालीहरू रोगबारे अनजान रहेका पनि बताइन् । मिर्गौला रोगको सबैभन्दा गम्भीर रूप मिर्गौला फेल हुनु हो । मिर्गौलाले काम गर्न नसकेपछि बाँच्नको लागि डायलासिस वा प्रत्यारोपण एकमात्र विकल्प भएको वास्तविकता पनि उनले सुनाइन् । सन् २०२० मा प्रमुख शहरहरूमा बस्नेहरूभन्दासबैभन्दा कम सामाजिक आर्थिक गतिविधि हुने तथा दुर्गम र अति दुर्गम क्षेत्रका मानिसले मिर्गौला प्रतिस्थापन थेरापी गराएका थिए ।

रुस-युक्रेन युद्धमा ९ हजार युक्रेनी सेना मारिए

कीभ । रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ । छ महिनादेखि रुस-युक्रेन युद्ध जारी छ । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरू बीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन् । युक्रेनका कमाण्डर-इन-चीफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका छन् । थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा छन् । ती मध्ये कतिपय त मारिका छन् । बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ। जारी युद्धका बीच यही बुधवार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ । मस्कोको सेनाले राजधानी कीभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ। छ महिनादेखि जारी रुस-युक्रेन युद्धले ऊर्जा-इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ र विश्वभर युद्धको झट्का महसुस भइरहेको छ । यसै बीच रुसको एफएसबी सुरक्षा सेवाले सोमबार मस्कोको बाहिरी इलाकामा शनिबार भएको कार बम विष्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ। सो विष्फोटमा परी कट्टर रुसी विचारधाराका नेता अलेक्ज्याण्डर डगकी छोरी डारिया डुगिना मारिएकी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकका परिवारप्रति समवेदना सन्देश पठाउँदै “घृणित अपराध” को निन्दा गरेका छन् । रासस- एएफपी