कोरियामा कोरोना सङ्क्रमण घटेन, भारतमा घट्दै
सोल । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ । बिहीबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ८९ हजार पाँच सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३४ लाख १७ हजार चार सय २५ पुगेको छ । दक्षिण कोरियामा अघिल्लो दिन अर्थात बुधबार सार्वजनिक भएको तथ्याङ्अनुसार ८१ हजार पाँच सय ७३ जना नयाँ सङ्क्रमित थपिएका थिए । दक्षिण कोरिया कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बुधबारको तुलनामा बिहीबार घटेको छ । बुधबार कोरोना सङ्क्रमणको कारण एक सय १२, जनाको मृत्यु भएको थियो भने, बिहीबार ६४ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन । यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमानेको सङ्ख्या २६ हजार नौ सय ४० पुगेको छ । यसैबीच भारतमा एकै दिनमा छ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म छ हजार एक सय ६८ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४४ लाख ४२ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात बिहीबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा सात हजार नौ सय ४६ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ हजार दुई सय १० जना रहेका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । २४ घण्टाको समयावधी बिहीबार मध्यरात अर्थात कोरोना सङ्क्रमणबाट भारतमा २१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार नौ सय ३२ भन्दा बढीको मृत्यु भएको छ । भारतमा हिजो एक दिनमा नौ हजार छ सय ८५ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३८ लाख ५५ हजार तीन सय ६५ जना कोरोनामुक्त भएका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। । सो समयबाट हालसम्म दुई अर्ब १२ करोड ७५ लाख २३ हजार चार सय २१ भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६४ लाख ६६ हजार दुई सय ५५ जना कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
डब्लूएचओले भन्यो: जाडोमा कोरोनाबाट मृत्युदर बढ्न सक्छ
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने जनाएको छ । यसका साथै कोभिडका सङ्क्रमितको मृत्यु दर तथा उनीहरु अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने पनि विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताएका छन् । उनले भने ‘हामीले अहिले कोरोना भाइरसको घट्दो दरका साथमा यसको स्वागत गरिरहेका छौँ तर अबका दिनमा आउने चिसो मौसममा भने यस सङ्क्रमणको असर अझ बढी देखिन सक्छ, हामी अहिलेदेखि नै यसका लागि तयार रहनुपर्दछ ।’ विश्वमा यसको सङ्क्रमणको पछिल्लो अवस्था हेर्दा घट्दै गएको तथ्याङ्कले देखाउँछ । साप्ताहिकरुपमा गरिने यसको गणनाअनुसार पछिल्लो हप्तामा यसको सङ्क्रमण ५३ लाख मानिसमा भएको देखिएको छ । यो सङ्ख्या यो भन्दा अघिल्लो हप्ताको तुलनामा नौ प्रतिशतले कम हो । त्यसैले अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको भनेर यसको स्वागत गरेर बस्नुभन्दा पनि आगामी जाडो मौसममा हुनसक्ने यसको असरलाई मध्यनजर गरेर सतर्कता अपनाउनुपर्ने महानिर्देशक ग्याबे्रसियसले बताएका छन् । रासस
सामाजिक सञ्जालको पोस्टले पैतालीस वर्ष जेलमा
काठमाडौं । साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पु¥याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो । सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको समाजिक एकतामा बाधा पु¥याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद अल–काहतानीलाई ४५ वर्षको काराबासको सजाय सुनाइएको वासिङटनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वल्र्डलाई उद्धृत गर्दै फक्स न्यूजले जनाएको छ । अल–काहतानीले अनलाइन के पोस्ट गरे वा उनको सुनुवाई कहाँ भयो भन्ने बारेमा भने केही खुलाइएको छैन । उनले केवल आफ्नो विचार ट्वीट गरेकी थिइन् । यसअघि पनि एक जना ३४ वर्षीया महिलालाई ट्वीट गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो । उक्त घटनालाई लिएर अन्तर्राष्ट्रियस्तरमा विरोध भएको थियो । रासस