पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १३५ जना कर्मचारी
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले लोक सेवा आयोगको सहमतिमा १५ जना कर्मचारीका लागि आवेदन माग गरेको छ। संस्थानले ११ औं तहदेखि ५ औं तहसम्मको विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । प्राध्यापकका लागि २ जना, सह–प्राध्यापकका लागि ३ जना, सहायक प्राध्यापकमा लागि ३४ जना, लेक्चर ५ जना, नर्सिङ्ग सुपरभाइजर १ जना, नर्सिङ्ग अधिकृत ३ जना, ल्याब टेक्नोलोजिष्ट २ जना, फिजियोथेरापी टेक्नोलोजिष्ट, अडियोलाजिष्ट १ जना, अप्टोमेष्टिक १ जना, रेडियोलोजी टेक्नोलोजिष्ट २ जना, स्टाफ नर्सका लागि ५९ जना लगायत अन्य पदका लागि पनि कर्मचारी मागेको हो । अधिकृत पदको लागि २१ वर्ष तथा सहायक पदको लागि १८ वर्ष उमेर पूरा भएका र प्राज्ञिक सेवा तर्फ सहायक प्राध्यापक पदको लागि ४२ वर्ष, सह–प्राध्यापक पदको लागि ४५ वर्ष, प्राध्यापक पदका लागि ५० वर्ष, प्राविधिक सेवा तर्फ ४० वर्ष, प्रशासन सेवा तर्फ ३५ वर्ष उमेर ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । बैशाख १५ गतेदेखि जेठ ४ गतेसम्म ४ गतेसम्म र दोब्बर दस्तुरमा जेठ ११ गतेसम्म आवेदन दिनुपर्ने बताइएको छ ।
समता घरेलु लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी
काठमाडौं । रोजगारी खोज्नेहरुको लागि खुसिको खबर छ । समता घरेलु लघुवित्तले ठूलो संख्यामा कर्मचारीहरुको माग गरेको छ । संस्थाले विभिन्न १० पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अनुगमन तथा सुपरिवेक्षण विभाग, जोखिम विभाग, प्रशासन विभाग अन्तर्गत व्यवस्थापकीय अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । साथै, संस्थाले लेखा विभाग, वित्त विभाग, सूचना तथा प्रविधि विभाग लगायतका अन्य विभागमा वरिष्ठ सहायक पददेखि सहायक अधिकृत पदहरुमा १ १ जनाका दरले कर्मचारी माग गरेको छ । प्रशिक्षार्थी देखि अधिकृतसम्मका पदहरुका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । संस्थाको अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले एसएलसी देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । अनुभवि, स्किलफुल तथा क्षमतावान उम्मेदवालाई बढी प्राथमिकता दिइने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाइट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने लघुवित्तले जनाएको छ ।
म्याग्दी जिल्लाका स्थानीय तहबाटै श्रम स्वीकृति
म्याग्दी । म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनः स्वकृतिसम्बन्धी सेवा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा दिन थालिएको छ । अन्नपूर्ण, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाले रोजगार शाखाबाट श्रम स्वीकृति लिने र पुनःस्वीकृतिका लागि अनलाइन आवेदन गर्ने काम सुरु गरिएको जानाइएको छ । मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाले पनि स्थानीय तहबाटै श्रम स्वीकृति तयारी गरेका छन् । धौलागिरि गाउँपालिकाका रोजगार संयोजक देवेन्द्र पुनका अनुसार मन्त्रालयको परिपत्रअनुसानै उक्त काम सुरु गरिएको हो । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौं गएर स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने गुरुङले बताए । ‘यसअघि अन्यत्रै गएर यससम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो,‘उनले भने, ‘लागत पनि बढी पर्दथ्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ ।’ श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सोसम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने धौलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव रिजालले बताए । सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनुपूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बिमाका लागि तिर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङमार्फत रकम तिर्न सकिने बताइएको छ । कल्याणकारी कोषका लागि एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि न्यूनतम दुई हजार रुपैयाँ र बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने रिजालले जानकारी दिए । उक्त सबै काम भएपछि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने गर्छ । जिल्लाका सर्वसाधारण श्रम स्वीकृतिका लागि पोखरा र काठमाडौं जाने गर्दथे । तेस्रो व्यक्तिको सहयोग लिनुपर्दा पैसा र समय बढी खर्च हुनुका साथै स्थानीय तहबाटै सेवा लिन पाउँदा सहज हुने र सहयोगीबाट ठगिने समस्या हट्ने अपेक्षा गरिएको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । मन्त्रिपरिषद्को २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था सुरु भएको हो । वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । रासस