धनगढीमा विद्युतीय रिक्सा चलाएर स्वरोजगार बन्दै युवा

धनगढी । वैशाख महिनाको टन्टलापुर घाममा विद्युतीय रिक्सा अटोरिक्सा चालक शोभाकान्त उपाध्याय धनगढीको सडक छेउमा रिक्सा अड्याएर पैदल हिँडेका यात्रुको खोजी गरिरहेको भेटिए । अन्दाजी ६५ वर्षीय उपाध्यायले विगतमा छोराको विवाह गर्दा लागेको ऋण बुझाउन टन्टलापुर घाममा रिक्सा चलाएर कामाइ गर्नुपरेको दुखेसो सुनाए ।  ‘दुई छोरा भारतमा काम गर्छन्, एउटा छोरा यही गाडी चलाउँछ’, उनले भने, ‘छोराको विवाह गर्दा लागेको पाँच लाख रुपैयाँ ऋण तिर्नै धौधौ परेपछि रिक्सा चलाएर कमाइ गर्नुपरेको हो ।’ धनगढीमा छ धुर जग्गामा बनेको कर्कटपाताको छानो भएको घर छ । उनले १० वर्षदेखि अटो रिक्सा चलाउँदै आएका छन् । यसअघि स्थानीय एक निजी विद्यालयमा रिक्सा चालकका रुपमा काम गरेका उनले युवा अवस्थामा भारतमा मजदुरीको काम गरेका थिए । ‘अटो रिक्सा चलाउँदा सुरुका वर्षमा राम्रै कमाई हुन्थ्यो, हाल रिक्सा धेरै हुँदा यात्रु नपाएर कमाई घटेको छ’, उपाध्यायले थपे, ‘कमाई घटे पनि रिक्साले रोजगारी दिँदा सन्तुष्टि छ ।’ अर्का अटो रिक्सा चालक ६३ वर्षीय अरुण पुजाराले आफ्ना हातपाउ छउञ्जेल आफ्नै देशमा काम गरेर खाने बताए । ‘विदेशमा गएर तल्लोस्तरको काम गर्न तयार हुने तर आफ्नै देशमा काम गर्न लाज मान्ने र इज्जत जाने कुरा गर्नेको प्रगति हुन सक्दैन’, उनले भने, ‘आफ्ना हातगोडा चलेसम्म काम गरेर खाने हो ।’ एकदशक बढी समय भारतको देहरादुनमा मजदुरी गरेका पुजाराका पाँच छोरा सबैले स्वरोजगारी गर्छन् । आफ्नो कमाइप्रति सन्तुष्टि व्यक्त गर्दै उनले थपे, ‘आफू कुनै समयमा महिनामा एक लाख रुपैयाँसम्म कमाउँथे ।’ अहिले दिनमा पाँच सय रुपैयाँदेखि सात सयसम्म कमाइ हुने गरेको उनको भनाइ थियो । धनगढीमा पछिल्ला वर्षमा विद्युतीय रिक्साको व्यवसाय फस्टाएको छ । बजार क्षेत्रका यात्रुको आवागमनका लागि सजिलो साधनका रुपमा रहेको यो व्यवसायबाट धेरैले रोजगारी पाएका छन् । घरायसी काममा मात्रै सीमित रहेका रिक्सा चलाएर कमाइ भइरहेको रिक्सा चालक गौरी चौधरीले बताए । उनले भने, ‘घरमा कमाइ हुने अर्को बाटो छैन, रिक्सा चलाएर हुने कमाइले जासोतसो जीवन गुजारा भइरहेको छ ।’ यहाँले महिलाले पनि रिक्सा चलाएर जीविकोपार्जन गरिरहेका छन् भन्दै चौधरीले महिलाले रिक्सा चलाएको अनौँठो मान्ने सोच र प्रवृत्ति कतिपय ठाउँमा अझै देखिने भनाइ थियो । ‘यस्तो सोचलाई निरुत्साहित गर्दै धेरै महिला विद्युतीय रिक्सा चलाएर आयआर्जन गर्न थालेका छन्’, उनले भने । विद्युतीय रिक्सा चलाएर उनले दैनिक  सात/आठ सय रुपैयाँसम्म कमाइ गरिरहेका छन् । पछिल्ला वर्षमा सहरी क्षेत्रमा भित्रिएका विद्युतीय रिक्सा बेरोजगार भएर बसेकाका लागि मुख्य रोजगारको माध्यम बन्न थालेको रिक्सा मजदुरले बताएका छन् । स्थानीय रिक्सा चालक भीमबहादुर चौधरीले भने, ‘रिक्सा चलाउने कामबाट भइरहेको आयआर्जनबाट घरधन्दा चलाउन सहज भएको छ ।’ विद्युतीय रिक्सा ‘रिचार्ज’ गरेर चलाउन मिल्छ । एक पटक ‘रिचार्ज’ गर्दा झण्डै एक सय किलोमिटरको दूरीसम्म चलाउन सकिन्छ । पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय रिक्सा व्यवसायले धेरै योगदान दिएको छ । यस व्यवसायप्रति आकर्षण बढ्दै जाँदा बजार क्षेत्रमा रिक्साको सङ्ख्या पनि बढ्दै गएको छ । छोटो दूरीमा यात्रा गर्न सहज र सस्तो माध्यम बनेको स्थाीयको भनाइ थियो । विद्युत्बाट चार्ज गरेर चलाउन सकिने भएकाले पछिल्लो समय विद्युतीय रिक्सासँगै स्कुटर र विद्युतीय साइकलको प्रयोग पनि बढ्दै गएको छ । विद्युतीय रिक्सा व्यवसाय फस्टाउँदै गए पनि यसको दर्ता गरी रुट परमिट लिन र चालक अनुमतिपत्र पाउन सास्ती खेप्नु परेको रिक्सा मजदुरको गुनासो छ । यातायात व्यवस्था कार्यालयले यी रिक्सा दर्ता र चालक अनुमतिपत्र प्रदान गर्दछ । सुरुका वर्षमा धनगढी उपमहानगरपालिका कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था थियो । धनगढीमा झण्डै तीन हजार विद्युतीय रिक्सा सञ्चालनमा छन् । विद्युतीय रिक्सा सञ्चालनसँगै दुई दशकअघिसम्म सञ्चालनमा रहेका परम्परागत तीनपाङ्ग्रे रिक्साको व्यवसाय पूर्णरुपमा विस्थापित भएको छ । रासस

एनसेलको सीइओमा जाब्बोर कायुमोभ, दूरसञ्चार क्षेत्रमा २० वर्षको अनुभव

काठमाडौं । एनसेल आजियाटाको नयाँ प्रमुख कार्यकारी अधिकृत(सीइओ) तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन् । एनसेलको सञ्चालक समितिको मंगलबार (वैशाख २६) बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो । उनले आज (वैशाख २७)बाट आफ्नो कार्यभार सम्हालेका छन् । यससँगै एनसेलका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा गु्रपको प्रधान कार्यालयमा १ जुन २०२३ देखि ‘आजियाटा गु्रप चिफ कर्पोरेट अफिसर’का रुपमा कार्यभार सम्हाल्नेछन् । जाब्बोर यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) जस्ता शीर्ष दूरसञ्चार संस्थाअन्तर्गत थुप्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । उनीसँग करिब २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव छ । दूरसञ्चार क्षेत्रका धेरै कम्पनीमा आफ्नो उत्कृष्ट ट्रय्याक रेकर्ड राख्न सफल जाब्बोर कुशल व्यावसायिक नेतृत्वका रूपमा चिनिन्छन् । एनसेलमा आवद्ध हुनु अघि, उनले डिजिसेल ट्रिनिडाड एन्ड टोबागोको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए र डिजिसेल जमैकामा अप्रिल २०२३ सम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । क्यारेबियन देशहरूमा कार्यरत रहँदा उनले डिजिटल सेवाप्रदायक बन्नका लागि व्यावसाय सञ्चालन परिर्वतनको नेतृत्व गरेका थिए । ‘एनसेल टिममा सामेल हुन पाएकोमा म हर्षित छु, प्रभावशाली फुटप्रिन्ट र बलियो ब्रान्ड पोर्टफोलियो भएको एनसेलको प्रतिभावान् टिमसँग काम गर्न उत्सुक छु, टिमसँग काम गर्दै व्यावसायिक कार्यसम्पादनमा वृद्धि गर्नु र आजियाटा ग्रुपको बृहत्तर भिजन एड्भान्सिङ एसियामा आधारित हुँदै नेपालको डिजिटल विकास र नेपालीको जीवनस्तर सुधारमा योगदान पु¥याउन ध्यान केन्द्रित गर्नेछु,’ जाब्बोरले भने, ‘१ करोड ६० लाखभन्दा बढी ग्राहक र नेपालीको सेवा गर्न पाउँदा म गौरवान्वित छु ।’ दूरसञ्चार उद्योगको व्यापक ज्ञानका साथ जाब्बोरले प्रमुख कार्यकारीको रूपमा रही सफल ट्रय्याक रेकर्ड कायम गरेका छन् । पिपल लिडरसिप, बिजनेस इम्प्रुभमेन्ट, डिजिटल स्ट्राटेजी, अर्गनाइजेसनल डिजाइन र प्रोसेसेस् लगायत क्षेत्रमा गरेका उदाहरणीय कामका लागि उनी चिनिन्छन् । उनले ताजिकिस्थानको खुजन्ड स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । नयाँ प्रविधि र ग्राहककेन्द्रित नवीन सेवा–सुविधामा जाब्बोरको चासो छ । डिजिटल इनोभेसन, उच्च ग्राहक सन्तुष्टि र व्यावसायिक सफलता हासिल गर्नका लागि सहयोगी वातावरण अत्यावश्यक रहने उनको विश्वास छ ।

अवैध रुपमा वैदेशिक रोजगारीमा गएकालाई वैधता दिने सरकारको तयारी

काठमाडौं । सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरुलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ । मंगलबार काठमाडौंमा आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमीकको अधिकार विषयक २ दिने राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उनले यस्तो बताएका हुन् । उनले अवैधानिक बाटो हुँदै नेपाली नागरिकहरु विभिन्न मुलुकमा पुगेको र एक पटकका लागि भने सरकारले वैधता दिनेगरी आफ्ना काम कारबाही अघि बढाएको बताए । उनले वैदेशिक रोजागारीमा जाँदा पनि अवैधानिक बाटो हुँदै जाने श्रमीकहरु बढी शोषणमा परेको बताए । उनले अवैध रुपमा विदेश गएका नेपाली नागरिकहरुलाई एक पटकका लागि वैधता दिन सरकारले अभियानकै रुपमा काम थालेको बताए । उनले भने, ‘महिलाहरुको गन्तव्यमुलुकको चोरी बन्द भएको छ, तर महिलाहरु विभिन्न मुलुकमा पुगेका छन्, अनि शोषण भएको छ । अहिले श्रम स्वीकृति नभएर कति विद्यार्थी, भिजिट भिसामा छिर्ने र काम गर्ने गरिरहका छन्, त्यसको लागि केही लिगल कुराहरु छन्, कुनैपनि भिसामा गएका नेपालीहरु काम गरिरहेका छन् भने तिनलाई पनि श्रम स्वीकृति दिने तयारीमा हामी छौँ ।’ कार्यक्रममा बोल्दै ओरेक नेपालका संस्थापक अध्यक्ष रेणु राजभण्डारीले महिलाहरुको श्रमको मूल्य पाउनेगरी सामाजिक सुरक्षा योजना आवश्यक रहेको बताए । उनले प्रभावकारी सामाजिक सुरक्षा कार्यक्रमको आवश्यक्ता रहेको उल्लेख गरे । उनले भने, ‘योगदानमा आधारित, ह्वाट डु यु मिन बाइ योगदानमा आधारित ? योगदान भनेको काम गरेको भयो । घरेलु श्रमीकलाई कुन चाहीँ इम्प्लोयरले पैसा हाल्दिन्छ । शोषण सेक्युरिटि स्किम चाहियो । प्रपर सोसल सेक्युरिटी स्किम चाहियो ।’ कार्यक्रममा महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले वैदेशिक रोजगारीबाट अलपत्र बनेर आएका महिलाहरुको व्यवस्थापनका लागि सातै प्रदेशले सोच्न जरुरी रहेको बताए । उनले वैदेशिक रोजगारीमा गइ अलपत्र परेका महिलाहरुको अभिभावकत्व राज्यले लिनुपर्ने बताए । उनले भने, ‘आज खुला नाकाबाट दिनदहाडै महिलाहरु बेचिइरहेका छन्, पारी गएपछि गर्भवती बनाएर वारी ल्याइएको छ, अब न बाबु, न राज्य न समाजले स्वीकारेको छ, उनीहरुको हालत हामीले देखिरहेको छौँ । राज्यको भुमिकामा सातै प्रदेशमा महिलाहरु वैदेशिक रोजगारीबाट अलपत्र आएभने राज्यले अभिभावकत्व लिनुपर्छ र व्यवस्थापन गर्नुपर्छ ।’ सदस्य खतिवडाले अहिले पनि खुला नाकाबाट महिलाहरु बेचिनुपर्ने अवस्था विद्यमान रहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।