प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त, यस्तो बन्यो ६ जनाको सञ्चालक समिति
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । एकीकृत कारोबारपछि बसेको सञ्चालक समितिको बैठकले साविकको प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष भट्टचनलाई नयाँ कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो । उक्त बैठक गत साउन १ गते बसेको थियो । त्यस्तै, संस्थापक समूहबाट शुसन शेरचन, सुरेश सापकोटा र उमेश लाल श्रेष्ठ नियुक्त भएका छन् भने सर्वसाधारण समूहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त भएका हुन् । उक्त समितिमा साविकको प्रभु लाइफ इन्स्योरेन्सको तर्फबाट चार जना र दुई जना साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालकमध्ये सापकोटा र श्रेष्ठ साविकको महालक्ष्मी लाइफको तर्फबाट हुन् भने बाँकी सबै प्रभु लाइफको तर्फबाट नियुक्त भएका हुन् ।
क्षेत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित कार्य समितिले लिए शपथ, मेडिकल डाइरेक्टरमा मानन्धर
काठमाडौं । क्षेत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) का नव निर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार काठमाडौंको ठमेलमा आयोजित कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता विश्वराज भट्टराईले अध्यक्ष डा. मनोजमान श्रेष्ठसहितका पदाधिकारी र कार्य समितिका सदस्यहरुलाई पद तथा गोपनयिताको शपथ ग्रहण गराएका हुन् । मिति २०८० बैशाख १६ गते भएको निर्वाचनबाट निर्विरोध निर्वाचित हुनु भएका कार्य समितिका पदाधिकारी र सदस्य तथा आजै बसेको सञ्चालक समितिले मनोनित गरेका थप दुई जना सञ्चालक तथा पदेन सदस्यसहित कूल १४ जना पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो । नव निर्वाचित पदाधिकारीहरुको पदावधी चार वर्षको हुनेछ । कार्यक्रममा पूर्व अध्यक्ष बिजय बहादुर मालीले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्वाचित कार्य समितिमा अध्यक्ष डा. मनोजमान श्रेष्ठ, उपाध्याक्ष कुमारदेव मानन्धर, महासचिव डा.कृष्टिना श्रेष्ठ, सचिव जगदीश माली, कोषाध्यक्ष लहना श्रेष्ठ, सह कोषाध्यक्ष कृष्ण प्रसाद मानन्धरले शपथ लिएका छन् । त्यसैगरी, कार्यकारिणी सदस्यहरुमा डा. निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डि.एल चन्द्र मानन्धरले पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ कार्य समितिको बैठकबाट सजनी जोशी र कपिल श्रेष्ठलाई कार्य समितिको सदस्यमा मनोनित गरिएको छ । त्यस्तै, नविन मानन्धरलाई पदेन सदस्यको रुपमा मनोनित गरिएको छ । क्षेत्रपाटी निःशुल्क चिकित्सालय २०१३ सालमा १० रुपैयाँ चुक्ता पुँजिबाट सुरु भएको नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पताल हो । मेडिकल डाइरेक्टरमा सन्तोष मानन्धर नियुक्त २०१३ सालमा स्थापना भएको काठमाडौको क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) को मेडिकल डाइरेक्टरमा डा. सन्तोष मानन्धर नियुक्त भएका छन् । नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पतालको नव निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठले आजै शपथग्रहणपछि बसेको बैठकले मानन्धरलाई मेडिकल डाइरेक्टरमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए । आजको सञ्चालक समितिको बैठकबाट मेडिकल डाइरेक्टरमा नियुक्त भएका डा. मानन्धरलाई अध्यक्ष डा. मनोजमान श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । नव नियुक्त डा. सन्तोष मानन्धरलाई क्षत्रपाटी निःशुल्क चिकित्सालयको स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउने, गरिब, असहायले सहजै उपचार सुविधा पाउने व्यवस्था गर्ने र अस्पताललाई अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार, मासिक ७० हजारभन्दा बढी आम्दानी
गण्डकी । जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन् । पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिएका छन् । भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनी जागिरको सिलसिलामा अष्ट्रेलिया पुगे । उनले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गरे । ‘अष्ट्रेलियामा मूर्तीकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती बनाउनुहुन्थ्यो’, उनले भने, ‘सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए ।’ उनी अष्ट्रेलियामा काम गर्दा मासिक दुई लाख आम्दानी गर्थे । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उनी स्वदेशी फर्किए । छ वर्ष अघि स्वदेश फर्केका उनले मासिक ७० हजारभन्दा बढी आम्दानी गरिरहेको छन् भने तीन जनालाई जागिर पनि दिएका छन् । होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उनले भने, ‘पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ती निर्माण गर्दा सामग्री बाहेक रु १२ हजार ज्याला लिन्छु ।’ आर्टसमा समेत रुचि राख्ने उनले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताए । उनीसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहेको छन् । उनीहरुले मासिक १७ हजारका दरले पारिश्रमिक पाउछन् । ‘मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र काम गर्न जानुहुन्छ’, उनले भने । पोखरा महानगरपालिका वडा नं. १७ सिताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्दै गरेका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताए । ‘एक जोडि शिबलिङ्ग र गौमुखे धारा निर्माण गरेको रु छ हजार पाँच सयका दरले सात लाख दुई हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ’, उनले भने । शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए । रासस