कुमारी बैंकको सीईओ बने रामचन्द्र खनाल

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रूपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । बैंकका सीईओ रमेशराज अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी दिईएको हो । सीईओ अर्यालले एक साताअघि दिएको राजीनामा शुक्रबार स्वीकृत गर्दै सीईओमा खनाललाई नियुक्त गरेको बैंकका सञ्चालक इमानसिंह लामाले बताए । उनी यसअघि पनि कुमारी बैंकको सीईओ थिए । तर, साविकको एनसीसी बैंकसँग मर्जर भएपछि अर्याल सीईओ र खनाल डीसीईओ बनेका थिए । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले एनआईसी एसिया र  सिद्धार्थ बैंकमा पनि काम गरेका थिए । नवनियुक्त सीईओ खनालले यसअघि पनि कुमारी बैंकमा  तीन महिना कामु सीईओ र ९ महिना सीईओ भएर काम गरिसकेका छन् । ‘मैले यसअघि पनि बैंकको नतृत्व गरिसकेको छु, त्यतिबेला तरलताको समस्या हुँदा पनि बैंकलाई सहज किसिमले अगाडि बढाइयो, अब खराब कर्जा घटाउँदै लग्ने तथ एसेट म्यानेजमेन्ट गर्दै जानु पर्ने चुनौती छ, त्यसका लागि म मेहनत गर्छु,’ उनले विकासन्युजसँग भने,’

ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ

काठमाडौं । गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङ्गलाइ सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित गुरुङ्ग यसअघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाईनान्सको संचालकको भूमिकामा रहि कार्य सम्पादन गरिसकेका छन् । नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत गुरुङले यस बैंकको उच्च ब्यवस्थापनमा आबद्ध भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो अहंम भूमिका रहने बताए ।

आशा लघुवित्तको निमित्त सीईओमा दुलाल, लोहनीको राजीनामा स्वीकृत

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दुलाललाई दिईएको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले बद्री प्रसाद दुलाललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । लघुवित्तको सीईओ जया लोहनीले स्वास्थ्यको कारण देखाई राजीनामा दिएपछि दुलालले निमित्त सीईओको जिम्मेवारी पाएको जनाएको छ । साथै, सीईओ लोहनीले दिएको राजीनामा सञ्चालक समितिले कात्तिक ३० गतेदेखि लागू हुने गरी स्वीकृति दिइसकेको छ । निमित्त सीईओ दुलाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुन् । मिर्मिरे लघुवित्त, नाडेप लघुवित्त लगायतका संस्थामा काम गरिसकेका दुलाल यसअघि आशा लघुवित्तको सीईओ समेत भएर काम गरिसकेका छन् ।