हुलास स्टील–हिप्को रोजगारको लागि फारम खुल्ला

काठमाडौं । हुलास स्टील–हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फारम खुल्ला भएको छ । नेपालको श्रम बजारको प्रमुख चुनौतिहरुलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सीप कार्यक्रम अन्तरगत नेपालको लुम्बिनी र मधेश प्रदेशमा तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फारम खुल्न भएको हो । यस कार्यक्रमले ४५ हजार नेपालीहरुको जीविकोपार्जन उन्नत बनाउने काम गर्दै आईरहेको छ । यो कार्यक्रमलाई दिवाकर गोल्छा कर्परेशन अन्तर्गत हुलास स्टील उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रुपमा कार्यान्वयन गर्दै आईरहेको हो । नेपाल उद्योग परिसंघ र मेक ईन नेपाल (स्वदेशी) अभियानले साझेदारी गरेका छन् । यस कार्यक्रमले १ हजार ३४८ जनालाई श्रम बजारको माग अनुरुप तालिम र रोजगार दिन लागेको हो । यस तालिम सात दिनको अवधि भरि रहने छ । यो तालिम बिरगंज महानगरपालिका वडा नं ३१ बेलवा परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा दिन लागिएको हो । यो तालिम बिशेष गरि स्टील / फलामका श्रमिक, महिला, अति निम्न आय भएका व्यक्ति र बिपन्न वर्गलाई लक्षित गरिएको छ । यस तालिममा नेपाली नागरिकता भएका र मधेश प्रदेश र लुम्बिनी प्रदेशमा स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेकाहरु सहभागी हुन सक्नेछन् । यो तालिम असार २०८० देखि कार्तिकसम्म लागु गरिनेछ । यस तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरुलाई आफ्नो व्यवसायको माग अनुसारको दक्ष कामदार प्रदान गर्दछ । हुलास स्टील उद्योग लिमिटेडको औद्योगिक यात्रा नेपालमा सन् १९८१ मा ग्रीनफिल्ड भेन्चर, कोमक्राफ्ट र गोल्छा समूहले संयुक्त रुपमा शुभारम्भ गरेको हो । हाम्रो उद्योगको ‘गुराँस’ छाप आज कर्कट जस्तापाता, अलुमिनियुम पाईप र स्टील संरचना उत्पादनको उच्च गुणस्तरताको पर्यायवाची नामको रुपमा चिनिने गरेको छ ।

तालिमले जन्माएको उत्साह र आत्मविश्वास

काठमाडौं । कुनै समय रोजगारीको खोजीमा भौँतारिएकी ताप्लेजुङ मैवाखोला गाउँपालिका–६ थोपेङकी लाप्साङ शेर्पा अहिले निकै खुसी देखिन्छीन् । जिल्लाका विभिन्न सङ्घसंस्था र कार्यालयहरुमा काम खोज्दै भौँतारिइरहेकी लाप्साङलाई यतिबेला रोजगारीको कुनै चिन्ता छैन, बरु उनी अचेल आफ्नो सीप देखाएर अझ राम्रो कमाई गर्ने अवसरको खोजीमा छिन् । सही ऊर्जा, धैर्य, लगनशीलताले हामी जुन पनि लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने एक उदाहरण बन्न सफल भएकी छिन उनी। मौसमी काम गरेर दैनिकी चलाउँदै आएकी उनलाई अब कसले काम देला भन्ने पिरलो छैन, उनमा यतिबेला सीप बेच्न सकियो भने चाहेजति कमाउन सकिन्छ भन्ने आत्मविश्वास भरिएको छ । निम्नवर्गीय घरमा जन्मिएकी उनको सानै उमेरमा बिहे भएको थियो । कुनै औपचारिक शिक्षा नलिए पनि उनमा सधैँ केही न केही सीपमूलक व्यवसाय गर्ने रुचि भने थियोे र नयाँ अवसरहरुको खोजीमा थिइन् । केही समय अगाडि उनले जिल्ला घरेलु कार्यालय ताप्लेजुङबाट तान बुन्ने तालिम लिइन् । र अल्लो कपडा बुन्न सुरु गरिन् । कपडा बुन्न चाहिने धागो भने गाउँमा उपलब्ध नभएका कारण उनले छिमेकी जिल्ला सङ्खुवासभाबाट अल्लोको धागो मगाई कपडा बुन्न थाल्नुभयो । पटकपटक धागो मगाइराख्न असहज भएकाले लाप्साङले कपडा बुन्ने कामलाई निरन्तरता दिन सकिनन् । ती दिनहरु सम्झँदै उनी भन्छिन्, ‘अल्लो यहाँ प्रशस्तरुपमा पाइन्छ । आफैँ धागो बनाउन जाने त सङ्खुवासभाबाट धागो मगाइराख्ने झञ्झट नै हुँदैनथ्यो र सजिलैसँग कपडा बुन्न सक्थेँ ।’ उनको त्यो सपनालाई सार्थकता दियो जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) को लागि जर्मन विकास सहयोग (जिआइजेड) को सहयोगमा सञ्चालित नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमले । उनका लागि यो तालिम ‘ढुङ्गा खोज्दा देउता पाए’ जस्तै भयो । उनले तुरुन्तै आफ्नो गाउँपालिकासँग समन्वय गरी तालिममा आफ्नो सहभागिता सुनिश्चित गराइन। सो कार्यक्रममार्फत लोधुम्वाखोला लघु जलविद्युत् आयोजना क्षेत्रका महिला तथा पिछडिएका वर्गहरुलाई लक्षित गरी गत भदौ १७ देखि २३ गतेसम्म अल्लोको धागो निकाल्ने र कपडा बुन्ने तालिम सञ्चालन गरेको थियो । सदरमुकाममा रहेका घरेलु उद्योगहरुको अध्ययन गर्दा त्यहाँ तानबाट अल्लो कपडा बुन्ने उद्योगहरु भए पनि यस्ता उद्योगलाई आवश्यक पर्ने मुख्य कच्चा पदार्थ अल्लो धागो उत्पादन हुने गरेको थिएन । सात दिनसम्म सञ्चालन भएको तालिममा उनमा अल्लो बनाउने सीपको राम्रो विकास हुनसक्यो । यसले उनमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास अझ बढेर आयो । तालिमपश्चात् अझ हौसिएकी लाप्साङले बिहान बेलुका धागो कात्ने र त्यही धागोबाट कोट र सलका कपडा बुन्ने कामलाई पुनः निरन्तरता दिएकी छन् । आफ्नो घरायसी कामकाज सकेर फुर्सदको समयमा अल्लोको कपडा बनाएर समयको सदुपयोग र आम्दानी गर्न सकिने भएकाले सीपमुलक तालिम लिएको स्थानीय विपना गुरुङको भनाइ छ । लाप्साङ, विपना गुरुङ, सुकमाया शेर्पा मात्र होइनन् उक्त तालिम पाएपछि उनीहरूसँगै १२ जनालाई यतिबेला काम खोज्दै हिँड्नुपर्ने बाध्यता टरेको मात्र होइन, स्वरोजगार र उद्यमी बन्ने अवसर जुरेको छ । उनीहरुले तालिम लगत्तै गाउँपालिकामा आफ्नो व्यवसाय पनि दर्ता गराएका छन् । तालिममा उनीहरुलाई अल्लोको धागोबाट कोट, जुहारीकोट, टोपी, गलबन्दी, झोला, हातेब्याग, पर्सलगायतका पोशाक र सामान बनाउने सीप सिकाइएको थियो । लाप्साङले आफूले बुनेका विभिन्न कपडाहरु फुङ्गलिङ बजारमा र छिमेकी जिल्लाहरुमा आयोजना हुने महोत्सवहरुमा विक्री गर्दै आएकी छन् । मिहिनेत र उद्यमबाट राम्रो सफलता पाउन सकिन्छ भन्ने राम्ररी बुझिसकेकी लाप्साङले आफ्नो उत्पादन बढाउने तान र धागो कात्ने मेसिन खरिदका लागि करिब रु एक लाख लगानी गरेको बताउछिन् । अल्लोबाट धागो निकाल्ने र यसबाट कपडा बनाएर बेच्दा राम्रो कमाइ गर्न सकिनेमा उनी विश्वस्त छिन् । आफ्नो अनुभव सुनाउँदै उनी भन्छिन् , ‘यसरी महिलाहरुले आफ्नै सीपबाट केही आयआर्जन गर्न सके घरपरिवार चलाउन सहज हुने र आत्मसम्मान हुने रहेछ् ।’ अल्लोको रेशाबाट धागो बनाउने र सोबाट बनेको विभिन्न किसिमका कपडाको हाल निकै माग छ । पछिल्लो समय अल्लोको कपडा सूती जस्तै तथा प्राकृतिक रेशाबाट बन्ने भएकाले यस प्रति जनमानसको आकर्षण बनेको छ । अल्लो बाट बुनेका कपडाको स्थानीयको साथै वैदेशिक माग पनि उच्च रहेको देखेपछि तालिममा सहभागी प्रायः सबैले यसलाई व्यावसायिक रुपमा अगाडि बढाएका छन् । अल्लोको कपडा बुन्नको लागि कुनै विशेष प्रकारको प्रविधिको आवश्यकता नपर्ने साधारण हाते तानद्वारा चलाउन सकिन्छ । कार्यक्रम सञ्चालन भएका पालिकाहरुमा सामाजिक र आर्थिक रुपमा पछाडि पारिएका महिला र सिमान्तकृत वर्गलाई नवीकरणीय ऊर्जामा आधारित सानातिना व्यवसाय गरी आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले स्थानीय निकायहरुसँग समन्वय गरी डेरी, हर्बल साबुन, बेकरी, सोलार मर्मतसम्भारलगायत विभिन्न आयमूलक तालिम सञ्चालन गरिएको जनाइएको छ । रासस

राष्ट्रिय योजना आयोगको प्रवक्तामा दाहाल

काठमाडौं । राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्बेवारी सहसचिव सुमन दाहालले पाएका छन् । विभागका वरिष्ठ सहसचिव दाहाललाई आयोगको बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि आयोगका सदस्यहरु मध्येबाट एक जना र कर्मचारी प्रशासनबाट गरी छुट्टाछुट्टै प्रवक्ता राख्ने चलन थियो । त्यो प्रचलन पनि हटाउँदै दाहाललाई एकमात्रै प्रवक्ताको रुपमा आयोगले जिम्मेवारी दिएको हो । दाहाल अर्थमन्त्रालयको पनि प्रवक्ता भइसकेका व्यक्ति हुन् । केही साता अघिमात्रै अर्थ मन्त्रालयबाट आयोग सरुवा भएर आएका दाहाल कोशी प्रदेश सरकारका पूर्व अर्थसचिव तथा भन्सार विभागका पूर्व महानिर्देशक समेत हुन् ।