विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार, मासिक ७० हजारभन्दा बढी आम्दानी

गण्डकी । जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन् । पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिएका छन् । भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनी जागिरको सिलसिलामा अष्ट्रेलिया पुगे । उनले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गरे । ‘अष्ट्रेलियामा मूर्तीकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती बनाउनुहुन्थ्यो’, उनले भने, ‘सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए ।’ उनी अष्ट्रेलियामा काम गर्दा मासिक दुई लाख आम्दानी गर्थे । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उनी स्वदेशी फर्किए । छ वर्ष अघि स्वदेश फर्केका उनले मासिक ७० हजारभन्दा बढी आम्दानी गरिरहेको छन् भने तीन जनालाई जागिर पनि दिएका छन् । होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उनले भने, ‘पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ती निर्माण गर्दा सामग्री बाहेक रु १२ हजार ज्याला लिन्छु ।’ आर्टसमा समेत रुचि राख्ने उनले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताए । उनीसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहेको छन् । उनीहरुले मासिक १७ हजारका दरले पारिश्रमिक पाउछन् । ‘मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र काम गर्न जानुहुन्छ’, उनले भने । पोखरा महानगरपालिका वडा नं. १७ सिताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्दै गरेका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताए । ‘एक जोडि शिबलिङ्ग र गौमुखे धारा निर्माण गरेको रु छ हजार पाँच सयका दरले सात लाख दुई हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ’, उनले भने । शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए । रासस

नेपाली सेनाले खोल्यो ४ सय जनाका लागि विज्ञापन

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा गरी लगभग ४ सय जनाका लागि नयाँ विज्ञापन खोलेको छ । सैनिक मुख्यालय भद्रकालीका अनुसार मेडिकल, इन्जिनियरिङ, हवाई इन्जिनियरिङ, लेखा, समाचार सम्पादक/वाचक, हवाई सम्भार, ग्राउन्ड ह्यान्डलिङलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले ती पदहरूमा साउन २७ गतेसम्म नियमित शुल्क र भदौ २ गतेसम्म दोब्बर शुल्क बुझाए आवेदन दिन सकिनेछ ।

सशस्त्र प्रहरी बलमा ९३२ जनालाई रोजगारीको अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । सशस्त्र प्रहरी बलले ९३२ जना कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरी बलको नेपाल प्रधान कार्यालयले सूचना जारी गर्दै विभिन्न ९३२ कर्मचारी माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले साउन २८ सम्म आवेदन दिन सक्नेछन् । साथै, दोब्बर दस्तुर तिरेर साउन २९ सम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत आफूलाई पायक पर्ने सशस्त्र प्रहरी बलमा बुझाउन सकिनेछ ।