नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त, पुस १३ गते बोलायो एजीएम

काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त भएकी छिन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिमा आइएमई इन्स्योरेन्सबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक दिवाकर पौडेल बिदा भएसँगै कम्पनीले उक्त पदमा मास्केलाई नियुक्त गरेको हो । मास्के यसअघि एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक थिइन् । उनले हालै मात्रै उक्त पदबाट राजीनामा दिएकी हुन् । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएसँगै उक्त समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक बाहिरिएका हुन् । गत साउनमा मात्रै नेपाल इन्स्योरेन्समा रहेको आईएमई समूहको २१ लाख ५७ हजार ६१५ कित्ता अर्थात १५ प्रतिशत संस्थापक सेयर एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनेको थियो । साथै, मंगलबार बसेको सोही बैठकले आगामी पुस १३ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।

अटोचालक महिला भन्छिन् : इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका- ६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उनी भन्छिन्,’जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।’ उनी छोरीसँगै अटो लिएर बिहान साढे ९ बजे घरबाट निस्कन्छिन् । छोरीलाई स्कुल छाडेपछि अनिताको अटोको काम सुरु हुन्छ । महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोचलाई परिवर्नन गर्न र आर्थिक उपार्जनका लागि पनि अटो चलाएको अनिताको भनाइ छ । ‘अटो चलाउन थालेको पाँच वर्ष बितिसक्यो, परिवारको पूरापुर सहयोग भएर यहाँसम्म आएको छु’, उनले भनिन्,’महिला भएर पनि अटो चलाउन सक्छौँ भन्नेले मेरो मेहनत देखेर अहिले प्रशंसा गर्न थालेका छन् ।’ अटो चलाउन थालेपछि अनिताको दैनिकी फेरिएको छ । आम्दानी बढेको छ, घर-घडेरी जोडिएको छ । छोराछोरी पढाउन सजिलोमात्रै भएको छैन, विदेश गएका श्रीमान् पनि श्रीमतीको मेहनत र कमाई देखेर स्वदेश फर्किएका छन् । ‘पहिले सानो एउटा घर थियो, अहिले अर्को पक्की घर बनाएकी छु’, उनले भनिन्,’मेरो काम देखेर श्रीमान् विदेश नजाने हुनुभएको छ, यही पसल गर्ने योजना बनाएका छौँ।’ महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ । सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने महिलामाथिको विभेद र हिंसा घटाउन सकिने उनले बताइन् । ‘लगनशील र इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ’, उनले भनिन्,’महिलाले सीप सिक्न र आत्मनिर्भर बन्न जरुरी छ, यसबाट महिलाहरूकै मेहनतले घर सम्पत्ति जोडेका उदाहरण पनि भेटिन्छन् ।’ महिलालाई सीप सिक्न र स्वरोजगारमा जोडिएर आत्मनिर्भर बन्न अनिताको सुझाव छ । यसले परिवार र समाजबाट हुने हिंसा घटाउने उनको बुझाइ छ । अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अनिताजस्तै अरू महिला पनि सवारी चालक बनेका छन् । गैँडाकोटमा दुई जना महिला व्यावसायिकरूपमा अटो चालक रहेका छन् । सङ्गठित भएका चालकहरूको सम्पर्कमा दुई जनामात्र महिला छन् । रासस

चन्द्रागिरी हिल्सको निमित्त महाप्रबन्धकमा तण्डुकार, थापाले दिए राजीनामा

काठमाडौं । चन्द्रागिरी हिल्सको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त भएका छन् । मंसिर १८ गते सोमबार बसेको ५२ औं संचालक समितिको बैठकले तण्डुकारलाई निमित्त महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव झलकराज शर्माले जानकारी दिए । कम्पनी सचिव शर्माका अनुसार ताण्डुकार यसअघि एक्जुकेटीभ म्यानेजर पदमा कार्यरत थिए । कम्पनीका महाप्रबन्धक संजीव थापाले दिएको राजिनामा सञ्चालक समितिले स्वीकृति दिएसँगै ताण्डुकारलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।