नेशनल माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा सिजापति चयन, राष्ट्र बैंक समक्ष लिए शपथ
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रबिन सिजापति चयन भएका छन् । लघुवित्तको नयाँ गठन भएको सञ्चालक समितिले सिजापतिलाई अध्यक्षमा चयन गरेको हो । साथै, अध्यक्ष सिजापतिले नेपाल राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुणाकर भट्टसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । समिट लघवित्तलाई एक्विजिशन गरेपश्चात् नेशनल माइक्रोफाइनान्स लघुवित्तको नयाँ सञ्चालक समिति गठन गरिएको थियो । लघुवित्तको नयाँ गठन भएको सञ्चालकमा रबिन सिजापति, केशब प्रसाद आचार्य, क्षितिज खड्का, नरेन्द्र सतकुटी, तिर्थराज ढकाल र प्रजित्त कुमार रेग्मी चयन भएका हुन् । सञ्चालक समितिको बैठकले सिजापतिलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष सिजापति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिनिधित्व गर्छन् । उनी बैंकमा सिनियर डेपुटी जेनेरल म्यानेजर पदमा कार्यरत छन् । यसअसघ लघुवित्तको अध्यक्षको जिम्मेजारी आचार्यले सम्हाल्दै आएका थिए । तर, उनी काम विशेषले विदेशमा रहेकाले नयाँ अध्यक्ष चयन गरिएको लघुवित्तले बताएको छ । गत असार ३० गतेदेखि समीट लघुवित्तलाई गाभेर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गरेको हो । नेशनल माइक्रोफाइनान्सले ७३ रुपैयाँमा समिट लघुवित्तलाई गाभेको हो । मर्जरपश्चात् लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राम बहादुर यादव चयन भएका हुन् । सीईओ यादव नेपाल लघुवित्त बैंकर्स संघको कार्यवाहक अध्यक्ष समेत हुन् ।
लक्ष्मी सनराइज बैंकका अध्यक्ष नेपालले लिए सपथ
काठमाडौं । लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले सपथ लिएका छन् । अध्यक्ष नेपालले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपश्चात् बनेको लक्ष्मी सनराइज बैंकको अध्यक्षमा नेपाल नियुक्त भएका हुन् । उनी साविक लक्ष्मी बैंकको अध्यक्ष समेत थिए । उनी नागरिक लगानी कोषको प्रतिनिधित्व गर्दै बैंकको अध्यक्ष बनेका हुन् । नेपाल नागरिक लगानी कोषका कार्यकारी निर्देशक हुन् । कोषको लक्ष्मी बैंकमा करिब १५ प्रतिशत सेयर लगानी रहेको छ । मोरङको बुढीगंगा गाउँपालिका स्थायी घर भएका अध्यक्ष नेपालले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । साथै, उनले पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिल पनि गरेका छन् । नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश पाएका नेपालसँग बैंक अन्तर्गतको नियमन, सुपरीवेक्षण, विनिमय विभागका साथै बैंकका क्षेत्रीय कार्यालयहरुमा समेत काम गरेको अनुभव छ ।
बूढानीलकण्ठका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिने
काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ। नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोटका लागि आवेदन खुलइएको हो । नगरपालिकाले खुलाएको आवेदनमा नगरभित्र कार्यरत योग्यता र क्षमता भएका शिक्षक शिक्षिकालाई आवेदन दिन आह्वान गरेको छ । त्यसका लागि आवेदकले आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ । त्यसैगरी माध्यमिक तहका लागि विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने नगर शिक्षा शाखा प्रमुख उपसचिव ललितविक्रम सिंहले बताए । प्रतिस्पर्धाका आधारमा छनोट गर्दा क्षमता भएका प्रधानाध्यापकले विद्यालयमा नेतृत्व होस् र अब्बल तरिकाले विद्यालयको नेतृत्व हुनुपर्छ भनेर नगरपालिकाले यस्तो तयारी गरेको नगर प्रवक्ता नवराज भट्टराईको भनाइ छ । यसअघि प्रावि र निमावि तहका प्रधानाध्यापक पनि लामो समयको अनुभव तथा जेष्ठताका आधारमा मावि तहसम्मका प्रअ हुने खालका परम्पराको अन्त्य गर्दै क्षमतावान शिक्षक छनोट गर्न र विद्यालयलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन आवेदन खुलाएको उनले बताए । आवेदक सबैले कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेको हुनुपर्ने, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुपर्ने आवेदनमा जनाइएको छ । बूढानीलकण्ठभित्र ११ मावि, पाँच आधारभूत र तीन प्रावि गरी कूल १९ सामुदायिक विद्यालय छन् । उम्मेदवारले आवश्यक कागजातका साथ नगरपालिकाको कार्यलयमा आफैँ उपस्थित भई शिक्षा, युवा तथा खेलकुद महाशाखामा बुझाउन अनुरोध गरिएको छ । अवेदन फाराम एक प्रति, नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, सुरु स्थायी नियुक्तिदेखि हालसम्मको नियुक्तिपत्रको प्रतिलिपि आफूले अध्यापन गरेको विषयमा पछिल्लो तीन वर्षको नतिजा सिटको प्रतिलिपि र मामिला अध्ययनमा आधारित विद्यालय विकास प्रस्तावसमेत पेस गर्नुपर्ने जनाइएको छ । रासस