डोमेनिक रिपब्लिकको अवैतनिक बाणिज्यदूतमा अग्रवाल नियुक्त
काठमाडौं । नेपालका लागि डोमेनिक रिपब्लिकको अवैतनिक बाणिज्यदूतमा गौरव अग्रवाल नियुक्त भएका छन् । अग्रवाल काठमाडौं मेरियट होटलको प्रबन्ध निर्देशक छन् । वाणिज्यदूतमा अग्रवालको नियुक्तिले दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक पक्षको प्रवद्र्धनमा सहयोग पुग्ने उनले बताएका छन् । अग्रवालले नेपाल र डोमेनिक रिपब्लिकबीचको मित्रता र सहयोगलाई बढावा दिनेतर्फ ध्यान दिने बताएका छन् । डोमेनिक रिपब्लिकले नेपालसँग पर्यटन, व्यापार र शिक्षाको क्षेत्रमा सहकार्य गर्न सक्ने अग्रवालले बताए । त्यसका लागि आफूले सक्दो प्रयास गर्ने उनले बताएका छन् ।
शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल
काठमाडौं । शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा चयन गरेको हो । यसअघि अध्यक्ष एवम् सञ्चालक रहेका राजेन्द्र प्रसाद श्रेष्ठले सञ्चालक पदबाट राजीनामा दिएपछि अग्रवाललाई चयन गरिएको कम्पनी सचिव सुरज राजबाहकले जानकारी दिए । श्रेष्ठको राजीनामा गत शुक्रवार बसेको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । अग्रवाललाई आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरिएको हो ।
चौथो बरियताका रायमाझीलाई हिमालयनले नवौंमा झारेपछि छाडे बैंक, अब विदेश जाँदै
काठमाडौं । हिमालयन बैंकबाट सचिनजङ्ग रायमाझी बाहिरिएका छन् ।असिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसर रायमाझी हिमालयन बैंकमा कुरा नमिलेपछि बैंक छोड्न बाध्य भएका हुन् । तत्कालीन सिभिल बैंकबाट सीईओ सुनिल पाेखरेल बाहिरिएपछि साे बैंकको कर्मचारीको तर्फबाट रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा गाभिएको थियो । उनी हिमालयन बैंकमा चौथो वरियतामा रहने बताइएको थियो । तर, अहिले उनलाई नवौं तहमा झारेपछि उनी असन्तुष्ट बन्दै बैंक छाड्न बाध्य भएका हुन् । रायमाझीले हिमालयन बैंकमा आफुले काम गर्ने सहज वातावरण नपाएपछि बैंक छोड्न बाध्य भएको बताएका छन् । उनले मर्जर तथा एक्विजिशनमा गएका सबै बैंकका कर्मचारीहरु अहिले समस्यामा रहेको सुनाए । ‘मर्जरपछि ठूलो बैंकले सानो बैंकलाई हेप्ने गरेका छन्, त्यो अनुभव पनि गरियो, आफ्नो गल्ति ढाकछोप गर्न सबै दोष सानो बैंकलाई दिइने रहेछ, पछिल्लो समय आफ्नो स्वार्थका लागि मात्रै मर्ज भएको जस्तो देखिन्छ, कर्मचारीले सकस भोगिरहेका छन्,’ रायमाझीले भने । अब उनले विदेशी बैंकमा काम गर्ने बुझिएको छ । उनी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडको चिफ रिस्क अफिसर पदमा नियुक्त भएर जाने भएका हुन् । साविक सिभिल बैंक छोडेका सुनिल पोखरेल सो बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा काम गरिरहेका छन् । सीईओ पोखरेलले नै रायमाझीलाई टिसा बैंकमा बोलाएका हुन् । रायमाझी हिमालयन बैंकबाट बाहिरिएसँगै विदेशी बैंक टिसाको चिफ रिस्क अफिसर पदमा नियुक्त भएर जान लागेको जानकारी दिए । उनका अनुसार उनी टिसा बैंकमा तीन वर्षका लागि काम गर्न जान लागेका हुन् । साढे दुई दशकको बैंकिङ अनुभव भएका उनले नेपाल बंगलादेश बैंकबाट करिअर सुरु गरेका थिए । उनले प्रभु बैंकको नायव महाप्रबन्धक भएर पनि काम गरिसकेका छन् ।