नेको इन्स्योरेन्समा काम गर्ने अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेको इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ । कम्पनीले सहायक अधिकृत, बरिष्ठ अधिकृत तथा ब्रान्च म्यानेजरको माग गरेको हो । कम्पनीले देशको विभिन्न भागमा रहेको आफ्नो शाखाका लागि बरिष्ठ अधिकृत तथा सहायकको माग गरेको छ । यसैगरी काठमाडौं उपत्यकाभित्र रहेको आफ्नो ब्रान्चका लागि सहायक अधिकृत, अधिकृत र बरिष्ठ अधिकृतको माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

बतास एमएडब्लुको सीइओमा दीपक अग्रवाल नियुक्त 

काठमाडौं । बतास एमएडब्लुको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपक अग्रवाल नियुक्त भएका छन् । अग्रवाललाई कम्पनीले औपचारिक रूपमा असार १० गतेदेखि सीइओमा नियुक्त गरेको हो । अग्रवालले अटोमोबाइल तथा कर्पोरेट क्षेत्रमा कुशल व्यवस्थापकको छवि बनाइ सकेका छन् । यस अघि अग्रवाल टीभीएसको आधिकारिक बिक्रेता शंकर समूहको जगदम्बा मोटर्सको सीइओ थिए । अग्रवाल नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कार्यसमिति सदस्य समेत हुन् । अग्रवालले बतास एमएडब्लुलाई नम्बरवान स्थानमा पुर्याउन आफ्नो महत्त्वपूर्ण भूमिका रहने बताए । भोल्भो आइसरका ट्रक तथा बसहरू, गाेद्रेजका उत्पादन लगायत धेरै वस्तुहरु तथा सेवाहरु बतासले नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी, प्लस टुलाई पनि अवसर

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्या कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ४६५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि सहायक (चौथो तह)देखि वरिष्ठ प्रबन्धक (नवौँ तह)सम्म कर्मचारी माग गरेको हो । बैंकले खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, मधेसीतर्फ ४७ जना, दलिततर्फ २८ जना, अपांगतर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १९ जना कर्मचारी भर्ना गर्न लागेको हो । कुल पदमध्ये सहायक (प्रशासन र नगद) मा मात्रै २५६ जना कर्मचारी भर्ना गर्ने भएको हो । बैंकले आह्वान गरेको विज्ञापनमा प्लस टूदेखि पद अनुसारको योग्यता आवश्यक हुने बैंकले जनाएको छ । इच्छुक उम्मेदवारले असार १० गतेदेखि असार ३० गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरी साउन ६ गतेसम्म दरखास्त पेस गर्न बैंकले जनाएको छ ।