प्रभु इन्स्योरेन्सको सञ्चालकमा शान्ता गौतम

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा शान्ता गौतम नियुक्त भएका छन् ।  गौतम कर्मचारी सञ्चय कोषको तर्फबाट इन्स्योरेन्स कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि कोषको तर्फबट महेश प्रसाद खनालले प्रतिनिधित्व गर्दै आएका थिए । तर, कोषले खनाललाई फिर्ता पठाएर गौतमलाई सञ्चालकमा पठाएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गौतमलाई सञ्चालकमा नियुक्त गरेको हो ।

कृषि विकास बैंकको विज्ञापन आह्वान, माग्यो १७९ जना कर्मचारी

काठमाडौं । कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो । बैंकले विभिन्न पदमा रिक्त रहेकोमा १७९ जनाका लागि आवेदन आह्वान गरेको हो । आजदेखि असार ७ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले वरिष्ठ शाखा प्रमुख (नवौं तह) १ जना, शाखा प्रमुख (८ औं तह) ४ जना, वरिष्ठ लेखा अधिकृत ¬(सिए, ७औं तह) ६ जना, वरिष्ठ इन्जिनियर आईटी (७ औं तह) १ जना, छैटौं तहका व्यवसाय अधिकृत ३८ जना, व्यवस्थापन सूचना प्रणाली अधिकृत ३ जना, कानुन अधिकृत २ जना, इन्जिनियर आईटी १ जना, कर्जा अधिकृत ९ जना मागेको छ । यस्तै, पाँचौं तह अन्तर्गत व्यवसाय सहायक ३६ जना, ऋण सहायक ६ जना र चौंथो तह अन्तर्गत लेखापाल ७२ जना कर्मचारी मागेको बैंकले जनाएको छ ।

राष्ट्रपति पौडेलले नियुक्त गरे पाँच देशका लागि गैरआवासीय राजदूत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिना, रुसी महासङ्घका राजदूत मिलनराज तुलाधरलाई बेलारुस, डेनमार्कका प्रा डा रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका राजदूत तापस अधिकारीलाई टर्कीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेकाको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस