सीआईटीबाट बाहिरिए रमण नेपाल, नयाँ कार्यकारी निर्देशक खोजिँदै

काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालको कार्यकाल सकिएपछि बाहिरिएका छन् । वि.सं. २०७५ कात्तिक २५ गते कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका नेपाल ५ वर्षे कार्यकाल सकिएपछि कोषबाट बाहिरिएका हुन् । नेपालको कार्यकाल सकिएपछि कोषले खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने भएको छ । कोषले मंगलबार एक सूचना जारी गर्दै रिक्त कार्यकारी निर्देशक पदका लागि विज्ञापन आह्वान गरेको छ । कोषको कार्यकारी निर्देशक बन्न नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ । त्यस्तै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ३ बमोजिम नियुक्तिका लागि योग्यता भएको र सोही मापदण्डको दफा ४ बमोजिम अयोग्य नरहेको हुनु पर्ने सूचनामा उल्लेख छ । उक्त मापदण्ड अनुसार योग्यदा पुगेका आवेदकहरुले निवेदन पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र २प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेश गर्नु पर्नेछ । प्राप्त आवेदन मध्ये बढीमा ५ जनाको नाम सर्टलिस्ट गरिने र सर्टलिस्टमा छनौट भएका उम्मेदवारले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण समेत गर्नु पर्ने छनौट समितिले जनाएको छ । दोस्रो चरणमा अन्तिम ३ जनाको नाम अर्थ मन्त्रालय समक्ष सिफारिस गरिने सूचनामा उल्लेख छ । इच्छुक नेपाली नागरिकहरुले २१ दिन अर्थात् मंसिर ११ गतेसम्म आवेदन पेश गर्न कोषले आग्रह गरेको छ ।

सिबिफिनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त भएका छन् । कोइरालालाई उपमहानिर्देशकमा नियुक्त गरी कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको सिबिफिनले बताएको छ । नबिल बैंकबाट स्वेच्छिक अवकास लिएर बाहिरिएका कोइराला वरिष्ठ प्रबन्धकसम्म बनेका थिए । व्यापार प्रशासनमा स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरेका कोइरालाले रणनीतिक मानवीय पूँजी व्यवस्थापन, व्यवस्थापन विकास, व्यवस्थापकिय नेतृत्व विकास तथा अध्यापन, तालिम र पेशागत विकास लगायत विषयमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरुबाट तालिम समेत लिएका छन् । कर्पोरेट, एसएमई, खुद्रा ऋण, निक्षेप मार्केटिङ, विदेशी व्यापार, जनशक्ति व्यवस्थापन, बैंकिङ क्षेत्रको रणनीतिक विकास, वित्तीय जोखिम न्यूनीकरण लगायतमा कोइरालाको अनुभव छ । कोइरालाको नियुक्तीबाट सिबिफिनले थप उचाइ हासिल गर्ने अपेक्षा गरेको बताएको छ । सिबिफिनले बैंकिङ क्षेत्र, लगानीकर्ता तथा निक्षपकर्ताको हित, वित्तीय क्षेत्र सुदृढ लगायतका विषयमा अध्ययन–अनुसन्धान गर्दै सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सरकार, नियामक र राष्ट्रिय एवं अन्तराष्र्टि«य संघ÷संस्थाहरुसँग निरन्तर सहकार्य र सहयोगीको भूमिका निर्वाह गर्दै आएको सिबिफिनले बताएको छ ।

ग्लोबल आइएमई बैंकको डीसीईओमा सुमन पोखरेल नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल नियुक्त भएका छन् । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई बैंकको डीसीईओमा नियुक्त गरेको हो । यसअघि उनी आइएमई ग्रुपको बरिष्ठ  उपाध्यक्षको भूमिकामा थिए । उनले यसअघि आईएमई रेमिटमा  प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । उनले डिसहोमका प्रबन्ध निर्देशक समेत सम्हालिसकेका छन् । उनी रेमिटर्स एसोशिएसनको पूर्व अध्यक्ष समेत हुन् । उनले यसअघि नेपाल व्यवस्थापक संघको उपाध्यक्ष भएर पनि काम गरिसकेका छन् । बिजनेस स्टडिजमा स्नातकोत्तर गरेका उनीसँग बैंकिङ क्षेत्रमा दुई दशक बढी काम गरेको अनुभव छ । उनीसँग एभरेष्ट बैंकमा पनि काम गरेको अनुभव छ । उनीसँग ग्लोबल आइएमई बैंक र नेपाल इन्फ्राष्ट्रक्चर बैंक को सञ्चालक समिति सदस्य भएर बैंकको नेतृत्व गरेको अनुभव पनि छ । वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल ब्यवस्थापकको रुपमा उनी परिचित छन् । नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठूलो बैंकमा पून: आवद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी ब्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताए । ‘बैंक ठूलाे छ, अब यसलाई अब्बल बनाउनुपर्छ’ उनले विकासन्युजसँग भने । यस बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य छन् भने बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र राज रेग्मी रहेका छन् । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।