आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सीईओमा बाबुराम शर्मा नियुक्त
काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बाबुराम शर्मा नियुक्त भएका छन् । भेन्चर हायर पर्चेजमा बिजनेस हेडको रुपमा साढे ३ वर्ष अगाडि प्रवेश गरेका शर्मालाई मंगलबार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय गरेको हो । डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आइएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका थिए । पछि फाइनान्स बैंकसँग मर्ज भएपछि ४ वर्षआइएमई मोटर्स वीरगन्जको प्रमुख समेत भएर काम गरिसकेका छन् । सरकारी जागिर छोडेर बैंकिङ सेवातिर लागेका उनले बैंकिङ्ग र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल राख्छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले म्यानेजमेन्ट डेभलपमेन्ट कलेज (म्यान)बाट ईएमबीए समेत गरेका छन् । आइएमई ग्रुप अन्तर्गतको वित्तीय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजत प्राप्त संस्था हो । ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले अहिले बजारमा २ अर्बभन्दा बढी लगानी गरेको छ । लगातार ४ वर्षदेखि नाफामा रहेको कम्पनीलाई आगामी दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र छिट्टै आईपीओ समेत निष्काशन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको कार्यबाहक अध्यक्षमा नवराज अधिकारी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यबाहक अध्यक्षको जिम्मेवारी नवराज अधिकारीलाई दिइएको छ । सरकारले अर्को व्यवस्था नभएसम्मका लागि रिक्त पदमा प्राधिकरणका सदस्य अधिकारीलाई उक्त पदको जिम्मेवारी दिएको हो । सरकारले दूरसञ्चार नियमावलीको नियम (३) (ङ) बमोजिम अधिकारीलाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको हो । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत दिएका राजीनामा स्वीकृत गरेको छ । त्यस्तै, रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
विज्ञापन संघको अध्यक्षतामा बन्यो १४ सदस्यीय कार्यसमिति
काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को अध्यक्षमा सुदिप थापा निर्विरोध चयन भएका छन् । संघको २४औं वार्षिक साधारण सभाले संघको ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो । जसमा पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचित भएका हुन् । संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती चयन भएको छ । जसमा प्रथम उपाध्यक्षमा उजय शाक्य निर्विरोध निर्वाचित हुँदा द्धितिय उपाध्यक्षमा पंकज लाल प्रधान, महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका हुन् । यस्तै कार्यसमिति सदस्यमा अरुणकाजी स्थापित, रोशन रेग्मि, आरसि सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी, र प्रभात रिमाल निर्वाचित भएका हुन् । संघका पदाधिकारी तथा सदस्यहरुले शपथ ग्रहण पनि आईतबार नै गरिसकेका छन् ।