सहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. मल्ल नियुक्त

काठमाडौं । सहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा प्रा. डा. रवि मल्ललाई नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा. डा. मल्ललाई हृदय केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । गत पुस ६ गते कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो। डा. अधिकारीको कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न नामहरुमा छलफल गरेको थियो। प्रा. डा. मल्ल मुटु राेग विशेषज्ञ तथा सर्जन हुन् ।

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । कार्की आगामी ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की सर्टलिष्टको पहिलो नम्बरमा परेका थिए । उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनले ग्रामिण विकास बैंकको सीईओ भएर पनि काम गरिसकेका छन् । उनले व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन् ।

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल

काठमाडौं । एनआईसी एशिया लघुवित्त अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् । माघ २ गते बसेको सञ्चालक समितिले सञ्चालक पौडेललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यसअघि संस्थाको अध्यक्षमा सन्तोष कुमार राठी थिए । उनले माघ २ गतेबाटै लागू हुने गरी राजिनामा दिएपछि पौडेललाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरिएको हो । राठी एनआईसी एशिया बैंकबाट प्रतिनिधित्व गर्दै आएका थिए । अध्यक्ष सुवर्ण पौडेलले व्यवस्थापन विषयमा स्नाकोत्तर तथा हाल एसएमई फाइनानन्सिङमा विधावारीधी गरी रहेका छन् । उनी सँग इमर्जिङ्ग नेपाल लिमिटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृत साथै व्यवसाय परामर्श, लगानी तथा वित्तीय क्षेत्र गरी एक दशक बढीको कार्यानुभव रहेको छ । साविकको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र मर्जर पश्चात् हालको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५ वर्ष देखि सञ्चालक समितिमा रहि काम गरेको अनुभव समेत रकेको हुँदा उनको नेतृत्वमा संस्थाले नयाँ उचाई हासिल गर्ने संस्थाको विश्वास रहेको छ ।