हिमालयन रिको सीईओ बन्दै उपासना पौडेल

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त हुने भएकी छिन् । गत साता बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्न सिफारिस गरेको हो । उक्त सिफारिस स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाइएको तर हालसम्म प्राधिकरणबाट स्वीकृति आइनसकेको कम्पनीले स्रोतले बताएको छ । ‘सीईओ चन्द्रशेखरनको राजीनामा स्वीकृत गरेको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको छ, प्रस्तावलाई स्वीकृत गराउन प्राधिकरणमा समेत पेश गरिएको छ, हालसम्म स्वीकृति भने आईसकेको छैन,’ कम्पनी स्रोतले विकासन्युजसँग भन्यो । पौडेलले पनि सञ्चालक समितिको बैठकले आफूलाई सीईओमा नियुक्त गरेको स्वीकार्दै प्राधिकरणको एप्रुभल भने आउन बाँकी रहेको विकासन्युजलाई जानकारी गराएकी छिन् । यसअघि हिमालयन रिको सीईओमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी थिए । उनले गत साता राजिनामा दिएका र सोही साता बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । र, सोही बैठकले नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको उक्त निर्णयलाई प्राधिकरणले स्वीकृति दिएपछि मात्रै पौडेलले कम्पनीको सीईओ कार्यभार सम्हाल्ने छिन् । पौडेल हाल सोही कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रुपमा कार्यरत छिन् । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल गत २०७९ मंसिरमा पुनर्बीमा क्षेत्र अर्थात हिमालयन रिमा डीसीईओको रुपमा प्रवेश गरेकी हुन्। त्यसअघि उनी तत्कालिन युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् ।

नेपाल टेलिकमको सञ्चालकमा सुवेदी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको सञ्चालकमा कोशलचन्द्र सुवेदी नियुक्त भएका छन् । असोज ४ गते बसेको सचिवस्तरको निर्णयले सुवेदीलाई टेलिकमको सञ्चालकमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सुवेदीले असोज ८ गते गोपनीयता र इमान्दारीताको शपथ लिएका छन् । यसअघि उक्त पदमा सुशील कोइराला थिए । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पत्रानुसार सञ्चालक परिवर्तन भएको हो । नेपाल दूरसञ्चार कम्पनीको नियमावलीमा पनि उक्त मन्त्रालयका सह सचिव कम्पनीको सञ्चालक बन्ने प्रावधान रहेकोले कोइरालाको ठाउँमा सुवेदीलाई नियुक्त गरिएको हो ।

प्रभु इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । प्रभु इन्स्योरेन्स केही संख्यामा कर्मचारी मागेको छ । कम्पनीले विभिन्न प्रदेशका लागि कर्मचारी मागेको हो । कम्पनीका अनुसार बिरगंज शाखामा (प्रदेश अफिसर) एसिस्टेन्ट वा डेपुटी म्यानेजर तथा म्यानेजर पदका लागि एक जना र जुनियर अस्टिेन्ट वा सिनियर अफिसरका लासग केही संख्यामा कर्मचारी मागेको हो । त्यस्तै, कटारी शाखाका लागि (सब ब्रान्च अफिसर) जुनियर अफिसर एक जना र जुनियर वा सिनियर असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी मागेको हो । त्यस्तै, धरान शाखा, चपुर शाखा दमौली शाखा र जनकपुर शाखा कार्यालयका लागि पनि केही संख्यामा कर्मचारी मागेको हो । कम्पनीका अनुसार उक्त पदका लागि कम्तिमा पनि स्नताक तह शैक्षिक योग्यता हुनु पर्नेछ । इच्छुक ब्यक्तिले १५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।