कामनपाको श्रम बैंकमा चार सयले दिए आवेदन
काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ । गत भदौ पहिलो साता महानगरले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार चार सय आवेदन परेका महानगरका प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिए । राईका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार महानगरले आवेदन माग गरेको हो । ‘यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी शुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ,’ प्रमुख राईले भनिन् । महानगरका ३२ वटै वडामा आवेदन आएको बताउँदै राईले महानगरले श्रम बैंक सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको जनाउँदै सङ्कलन भएका आवेदनबाट प्राथमिकिकरण र वर्गीकरणको काम भइरहेको पनि बताइन् । ‘बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैङ्कमा श्रमिकलाई आबद्ध गराइएको हो, महानगरले तयार गरेको श्रम बैङ्कमा श्रमिकको नाम हुन्छ, जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार फोन नं.र श्रमिक कहाँ बस्नेलगायत विवरण उल्लेख गरिएको हुन्छ,’ उनले भनिन् । कार्यक्रमको मुख्य उद्देश्य सहज रुपमा श्रमिक उपलब्ध गराई सीप क्षमता भएका श्रमिकलाई काममा लागाई उचित पारीश्रमिकको व्यवस्था गर्नु रहेको प्रमुख राईले बताइन् । उनका अनुसार चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ । राईका अनुसार आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा महानगरको रोजगार सेवा केन्द्रमा बुझाउन पर्ने पनि जानकारी दिइन् । ‘श्रम बैङ्कमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौंमा बसोबास भएको हुनुपर्ने छ, ‘प्रमुख राईले भनिन्, ‘यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ ।’ राईका अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ । रासस
नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने चयन, डेपुटी गभर्नर ढुंगानासमक्ष लिए शपथ
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) को सञ्चालक समितिको अध्यक्षमा विश्वम्भर न्यौपाने चयन भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । निवर्तमान अध्यक्षलाई प्रतिस्थापन गर्दै नयाँ सञ्चालक मनोनित भएपछि केहि समयदेखि अध्यक्ष पद रिक्त रहेको थियो । उक्त रिक्त पदमा न्यौपाने नियुक्त भएका हुन् । नवनियुक्त अध्यक्ष न्यौपाने लामो समयदेखि नेपाली बैंकिङ्ग क्षेत्रमा विभिन्न भूमिकाहरुमा आवद्ध भई योगदान पुर्याएको र हाल माछापुच्छ्रे बैंकमा नायब प्रमुख कार्यकारी सञ्चालक पदमा कार्यरत छन् । अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले भुक्तानी प्रणाली विनियमावली (पहिलो संशोधन, २०८०), २०७७ को विनियम १२ बमोजिम ईजाजत प्राप्त संस्थाको सञ्चालक समितिको अध्यक्षले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर वा विभागको कार्यकारी निर्देशक समक्ष सपथ ग्रहण गर्नुपर्ने प्रावधान अनुसार सपथ लिएका हुन् । नेप्स १२ वटा बैंक तथा वित्तीय संस्थाहरुद्वारा संस्थापित एवं संचालित नेप्स नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली संचालकका साथै पीसीआई एसएससीको बोर्ड अफ एडभाइजरी र पीसीआई डीएसएस भर्जन ३.२ र पीसीआई पीन प्रमाणित संस्था पनि हो । नेप्सले बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्ड मार्फत विद्युतीय भुक्तानी सम्बन्धि कार्य गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै अन्य सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ । हाल ११ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न कार्ड संजाल मार्फत कारोबारका लागि होस्टिंग र स्विचिंग सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
नेपाल बैंकको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी
काठमाडौं । नेपाल बैंकको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी चयन भएका छन् । असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा डा. अधिकारीलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष डा. अधिकारीले असोज ४ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।