राजदूत सिफारिस, तालुक मन्त्रालय परराष्ट्र नै बेखबर
काठमाडौं । सरकारले सोमबार १४ मुलुकका लागि गरेको राजदूत सिफारिस तथा स्पेनमा दूतावास खोल्ने निर्णय लिनुअघि तालुकदार निकाय परराष्ट्र मन्त्रालयलाई संस्थागत रूपमा सहभागी नगराएको पाइएको छ। मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिसको निर्णय लिँदा परराष्ट्र मन्त्रालयका सचिव र उच्चाधिकारीहरू त्यसबारे पूर्ण बेखबर थिए। ‘राजदूत सिफारिस हुँदै छ भन्ने हल्ला मिडियामा आइरहेको थियो। तर, सोमबारै राजदूत सिफारिस हुन्छ भन्ने पूर्वजानकारी थिएन’, मन्त्रालयका अधिकारीहरूले भने। मन्त्रिपरिषद्ले निर्णय गरेपछि परराष्ट्रमन्त्री डा।प्रकाशशरण महतले परराष्ट्र अधिकारीहरूलाई टेलिफोनमा यसबारे जानकारी दिएका थिए। राजदूत सिफारिस गर्दा तालुकदार निकाय परराष्ट्र मन्त्रालयको परामर्श तथा सुझाव लिने प्रचलन छ। सत्ता साझेदार दल कांग्रेसले ६ देशमा, माओवादीले चार देश, राप्रपाले तीन देश र मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० ले एक देशमा राजदूत नियुक्ति सिफारिसका लागि भागबन्डा गरेका छन्। परराष्ट्र सेवाबाट कसैलाई पनि यसपटक सरकारले राजदूत सिफारिस गरेको छैन। सत्तारूढ दलका नेताले खल्तीमा बोकेर हिँडेका व्यक्तिको नाम सिधै मन्त्रिपरिषद्मा पेस भएको बुझिएको छ। ‘कुन खालका व्यक्ति राजदूत सिफारिस गर्न लागिएको हो तथा ती व्यक्तिको विज्ञता र योग्यता के हो भन्नेबारे मन्त्रालयमा कुनै छलफल तथा परामर्श गरिएन। मन्त्रीले सिधै मन्त्रिपरिषद् बैठकबाट राजदूत सिफारिस भइसकेपछि त्यसको सूचना परराष्ट्र सचिवलाई दिएका रहेछन्’, मन्त्रालयका एक उच्च अधिकारीले भने। सरकारले सिफारिस गरेका राजदूतमध्ये सबैभन्दा विवादित शर्मिला पराजुली ढकाल हुन्। ओमनका लागि राजदूत सिफारिस पराजुली म्यानपावर व्यवसायी हुन्। मधेसी जनाधिकार फोरम कोटामा राजदूत सिफारिस उनीविरुद्ध परराष्ट्र मन्त्रालय, मलेसिया र युएईस्थित नेपाली दूतावासमा मानव तस्करीमा संलग्नताको उजुरी परेको छ। कांग्रेस कोटामा राजदूत सिफारिस आशा लामा पनि म्यानपावर व्यवसायी हुन्। ड्याफोडिल स्कुलकी प्रिन्सिपल लामाले युएईमा गैरकानुनी रूपमा मान्छे पठाएर अलपत्र पारेको उजुरी आबुधावीस्थित नेपाली दूतावासमा छ। ‘नेपाली कामदारको हकहित र कल्याण हेर्न खाडी मुलुकमा दूतावास खोलिएका हुन्। अब युएई र ओमनजस्ता कामदार धेरै रहेका मुलुकमा म्यानपावर व्यवसायीलाई राजदूत सिफारिस गरेर के गर्न खोजिएको होला रु ’ परराष्ट्रका अर्का उच्च अधिकारीले टिप्पणी गरे। राप्रपा कोटामा जापानमा राजदूत सिफारिस प्रतिभा राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू हुन्। त्यस्तै, राप्रपा अध्यक्ष कमल थापाका सम्धी पूर्वसैनिक अधिकारी भरत रायमाझीलाई स्पेनमा राजदूत सिफारिस गरिएको छ। अहिले २९ मुलुकमा आवासीय दूतावास, राष्ट्रसंघीय मामिला हेर्ने तीन नेपाली स्थायी नियोग र पाँचवटा महावाणिज्यदूतावास छन्। तीमध्ये ब्राजिल, डेनमार्क, श्रीलंका, म्यानमार र इजिप्टस्थित नेपाली दूतावास बन्द गर्न विज्ञले सुझाव दिइरहेका छन्। स्पेनमा दूतावास खोल्ने निर्णय विवादमा स्पेनमा दूतावास खोल्ने निर्णयबारे परराष्ट्र मन्त्रालयमा कुनै परामर्श भएको थिएन। दूतावास खोल्नुअघि स्पेनसँग पूर्वसहमति पनि लिइएको छैन। सरकारले स्पेनमा खोलिने दूतावासको बजेट र दरबन्दीबारे प्रक्रियागत निर्णय लिइसकेको छैन। राप्रपाले तीन स्थानमा आफूले राजदूत सिफारिस गर्न पाउनुपर्ने अडान लिएपछि सरकारले हतारमा स्पेनमा दूतावास खोल्ने निर्णय गरेको हो। ‘कुनै अमुक पार्टीका अमुक व्यक्तिलाई राजदूत बनाउन स्पेनमा दूतावास खोल्नु दुर्भाग्य हो’, परराष्ट्रका अधिकारीले भने। कुनै पनि युरोपेली मुलुकमा नेपाली दूतावास सञ्चालनका लागि राज्यले महिनाको चार करोड रुपैयाँ खर्च गर्नुपर्छ। स्पेनमा नेपालमा नियुक्त गरेका तीनजना अवैतनिक वाणिज्यदूतले नेपालीका कन्सुलर, राहदानी र भिसासम्बन्धी काम हेर्दै आएका छन्। त्यहाँ दूतावास नभए पनि सहज रूपमा नेपालीले कन्सुलर, राहदानी र भिसासम्बन्धी सुविधा तिनै अवैतनिक वाणिज्यदूतबाट पाइरहेका छन्। स्पेनमा रहेका नेपालीका गम्भीर समस्या फ्रान्सस्थित नेपाली दूतावासले हेर्ने गरेको छ। अन्नपूर्ण पोस्टबाट ।
मलेसियासँग श्रम सम्झौता हुने निश्चित, अब श्रम सम्झौतामा मात्रै नेपाली मलेसिया जाने
काठमाडौं । बर्षौदेखिको प्रयासपछि बल्ल नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने भएको छ । मलेसियाको मावव संसाधान मन्त्रालयका सहसचिव केशाभान कारुपिहा नेतृत्वको प्रतिनिधिभण्डल र नेपाली अधिकारीबीच काठमाडौंमा दुईदिने छलफलपछि मंगलबार श्रम सम्झौता गर्ने समझदारी भएको हो । श्रम सम्झौताबिना लखौं नेपाली मलेसिया जाँदा आर्थिक र अन्य शोषणमा परिरहेको लगातारको गुनासोपछि मलेसिया सरकार सम्झौता गर्न तयार भएको बताइएको छ । मलेसियामा जाने नेपाली कामदारको संख्या घट्न थालेपछि मलेसिया श्रम सम्झौता गर्न तयार भएको बताइएको छ । नागरिक दैनिकबाट ।
मलेसियामा १४ नेपालीलाई मृत्युदण्डको सजायाँ सुनाइयो, १० वर्षदेखि जेलमै
मलेसिया । जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे,भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी। आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आस मर्यो। रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन्। मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटकपटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे। तर, कुनै पहल नभएपछि बाँच्ने आस मारेका छन्। उनीजस्तै अन्य १३ युवालाई मलेसियाको उच्च (पुनरावेदन)अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। यी नेपाली कामदारले आफूलाई फसाइएको भन्दै पटक(पटक जीवनरक्षाको अपिल गरे। दुई वर्षयता विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको छ। संघीय अदालतमा मुद्दा पेस हुने क्रममा छ। यो तहसम्म पुगेपछि जीवन बच्ने सम्भावना न्यून हुने कानुनी व्यवस्था छ। लागुऔषध ओसारपसार, कारोबार र कर्तव्य ज्यानमुद्दामा मृत्युदण्ड सुनाइएका अधिकांश नेपालीलाई फसाएको पाइएको मलेसियास्थित राजदूत निरञ्जनमानसिंह बस्न्यातले बताए। अधिकांश घटनामा घरमालिक र उनका परिवार गैरकानुनी गतिविधिमा संलग्न हुने र ओसारपसारमा नेपाली कामदारलाई लगाउने गरेको उनी बताउँछन्। त्यस्तो अवस्थामा प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको खुलेको बस्न्यातले बताए। एक नेपाली कामदारलाई संघीय अदालतले नै मृत्युदण्डको सजाय सुनाएकाले राष्ट्रपतिले मलेसियाका राजालाई माफीका लागि अनुरोध गरे जीवनरक्षा हुन सक्ने राजदूत बस्न्यातको भनाइ छ। यी नेपाली कामदारको जीवनरक्षाका लागि सरकारलाई पटक/पटक पहल गर्न पत्रमार्फत अनुरोध गरे पनि कुनै कदम नचालेको उनले अन्नपूर्णसँग दुखेसो पोखे। ‘उच्च अदालतसम्मको फैसलामा नेपाल सरकारले माफीका लागि अनुरोध गरेर केही रकम बुझाए माफी पाउने व्यवस्था भएकाले पहल गर्न भनेको थिएँ तर चासो दिइएनु, उनले भने। संघीय अदालतमा मुद्दा पुगेपछि राष्ट्र प्रमुखको मात्र सिफारिस लाग्ने र त्यसको सम्भावना न्यून हुने भएकाले १३ जनाको जीवनरक्षा गर्न मुस्किल पर्ने उनले बताए। परराष्ट्र मन्त्रालयका सूचना अधिकारी सुधीर भट्टराईले यो विषय कन्सुलर विभागले हेर्ने भएकाले आफूलाई थाहा नहुने बताए। कन्सुलर विभागका सूचना अधिकारी तारा गौतमले यसबारे विभागलाई कुनै जानकारी नभएको बताइन्। मिडियाबाट केही सुनेको तर लिखित रूपमा केही नआएकाले कुनै कदम नचालेको उनी बताउँछिन्। दुई वर्षदेखि नेपाली कामदारलाई उच्च अदालतले मृत्युदण्ड सुनाएपछि संघीय (सर्वोच्च)अदालतमा पेस हुनुअघि नै कामदारको जीवनरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरिसकेको दूतावासले जनायो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा केही घटनामा माफीका लागि आग्रह गरेको तर मलेसिया सरकारले चासो नदेखाएपछि मलेसियाका राजासँग कुरा गर्न तत्कालीन राष्ट्रपति रामवरण यादवलाई अनुरोध गरिएको दूतावासको भनाइ छ। दुई देशको सरकार र राष्ट्रप्रमुखबीच राम्रो सहकार्य भए माफी दिने व्यवस्था र प्रचलन रहेको राजदूत बस्न्यात बताउँछन्। नेपाली कामदारको जीवनरक्षाका लागि दूतावासले वार्षिक पाँच लाख रुपैयाँ खर्च गरेर वकिलबाट बहस गर्दै आएको छ। दूतावासले कामदारको अवस्था बुझ्न विभिन्न क्याम्प, जेल र कम्पनीमा अनुगमन, सातामा एक घन्टा रेडियो कार्यक्रम, निःशुल्क हटलाइन टेलिफोन सेवा सुरु गरी जनचेतना फैलाउन सुरु गरेको छ। राजदूत बस्न्यातले इन्डोनेसिया र फिलिपिन्ससमेत हेर्ने गरेको जनाउँदै ती देशमा पनि मृत्युदण्ड सुनाइएका नेपालीको संख्या बढी रहेको बताए। दूतावासले कामदारको आपतकालीन उद्धारका लागि एक करोड २० लाख माग गरे पनि डेढ वर्षपछि यसै महिना सरकारले ५० लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ। कम्पनीले एक कामदारको भिसा थपबापत मलेसिया सरकारलाई तिर्नुपर्ने एक हजार दुई सय ५० रिंगेट शुल्क नतिर्दा नेपाली कामदार गैरकानुनी हुने र प्रहरीले पक्राउ गरी क्याम्पमा राख्ने गरेको छ। भिसाको म्याद थप्न कम्पनीलाई राज्यले उचित कदम चाले सम्पर्क अवधिसम्म कामदार वैध हुन्छ। दुई वर्षका लागि भिसा पाए पनि वार्षिक म्याद थप्दा सम्पर्क अवधिभर दुई हजार पाँच सय रिंगेट खर्च हुने भएकाले कम्पनीले नेपालीलाई गैर बनाई फर्कन बाध्य पार्ने गरेको कामदार टीकाराम घिमिरेले बताए। अन्नपूर्ण पोस्टबाट ।