चौध देशमा राजदूत नियुक्तिका लागि सिफारिस, कुन देशकाे लागि काे सिफारिस ?
काठमाडौँ, ९ फागुन । सरकारले १४ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय आज गरेको छ । सिंहदरबारमा आज दोस्रो पटक बसेको मन्त्रिपरिषद्को बैठकले युनाइटेड अरब इमिरेट्सका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युवनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास र अस्ट्रेलियाका लागि लक्की शेर्पालाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । त्यस्तै कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमाका लागि भीम उदास, श्रीलङ्काका लागि विश्वम्भर प्याकुर्याल, ओमनका लागि शर्मिला पराजुली, दक्षिण कोरियाका लागि अर्जुनजङ्गबहादुर सिंह, बङ्गलादेशका लागि चोपलाल भुसाल र इजरायलका लागि निरञ्जन थापालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । साथै सरकारले स्पेनमा राजदूतावास खोली त्यहाँ भरत रायमाझीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता कार्कीले बताए । रासस
कतारमा २२० कामदार अलपत्र भाेकभाेकै, तलव छैन खानपनि पाएनन्
काठमाडौं । कतारको स्केल ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनी बन्द भएपछि झन्डै २ सय २० कामदार अलपत्र परेका छन् । जसमा ८० जना नेपाली कामदार छन् । कम्पनी सञ्चालक सम्र्पकविहीन भएपछि ती कामदारले चार महिनादेखि तलबसमेत पाएका छैनन् । गत डिसेम्बर २८ देखि काम बन्द भएपछि उनीहरू सनैया–४१ स्थित लेवर क्याम्प बस्दै आएका छन् । ‘हामीले अक्टोबर महिनाबाटै तलब पाएका थिएनौं । तलब नपाए पनि काम गर्दै आएका थियौं । कम्पनी मालिक नै सम्पर्क नभएपछि डिसेम्बर २८ बाट काम छाडेर क्याम्मै बस्दै आएका छौं,’ कम्पनीका ड्राइभर रहेका धादिङका रत्न लामाले कान्तिपुरलाई भने,‘अहिले हामीलाई दिनहुँ छाक टार्न समस्या पर्न थालेको छ ।’ ती कामदारहरू अधिकांश दुई वर्षअघि मिथिला र सेफल्याण्ड म्यानपावरबाट गएका थिए । ८ जना मात्रै ८ महिना अगाडि पुगेका हुन् । उनीहरूले लसेलस्थित व्यक्तिको घर बनाउने काम गर्दै आएका थिए । उनीहरू सबै गैरकानुनी हैसियत भइसकेका छन् । ‘हामी सबैको आईडी कार्ड ९परिचयपत्र०को म्याद सकिसकेको छ । प्रहरीले चेकजाँच गर्दा पक्राउ परिन्छ । दिनभर राखेर बेलुका छाडिदिन्छ,’ अर्का पीडित धनुषाका अजय चौधरीले भने, ‘हामी स्वदेश फिर्न चाहन्छौं । तर सकिरहेका छैनौं ।’ अधिकांश कामदारले ४ देखि ५ हजार रियाल ९एक लाख ५० हजार रुपैयाँसम्म० तलब लिन बाँकी छ । उनीहरूले आफूहरूलाई उद्धार गरी स्वदेश पठाउन कतारको उच्च अदालत, श्रम विभाग र खोज तथा अनुसन्धान विभागमा समेत पुगेको बताए । ‘कतैबाट केही सहयोग पाइएको छैन । बस्न समस्या छैन तर खाना समस्या भइसक्यो,’ उनले भने,‘जेनतेन साथीभाईसँग सहयोग लिएर दैनिकी चलाउदै आएका छौं ।’ कतारस्थित नेपाली दूतावासले पीडित कामदारले समस्या समाधान गर्न कतार सरकारलाई आग्रह भइसकेको जनाएको छ । ‘पीडितको समस्या समाधान गर्न दूतावासले सम्बन्धित निकायलाई पत्र पठाइसकेका छौं,’ दूतावासका एक अधिकारीले भने,‘हाम्रो तर्फबाट पनि कामदार र कम्पनी प्रतिनिधिसँग समन्वय गरिरहेका छौं ।’ कम्पनी प्रतिनिधिले आर्थिक समस्या आएकाले कामदारलाई तलब भुक्तानी गर्न कठिनाई भएको र स्वदेश पठाउन नसकिएको जनाएको छ । दूतावासले स्वदेश फिर्नेलाई नेपाल पठाइदिन र कतारमै बस्न चाहनेलाई ‘रिलिज’ ९अर्को कम्पनीमा काम गर्न पाउने अनुमति० दिन कम्पनी प्रतिनिधिलाई अनुरोध गरेको छ । प्रतिनिधिले कामदारको इच्छा अनुसार स्वदेश पठाउन र कतारमै राख्न आफुहरू तयार भएको प्रतिबद्धता दिएको दूताबासले जनाएको छ । कान्तिपुर दैनिकबाट ।
अमेरिका हिँडेका ३ सय नेपाली मेक्सिकोमा अलपत्र, तस्करमार्फत २३ महिनामा मेक्सिकोसम्म
अमेरिका । अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौं लगाएर मेक्सिको पुगेका ३ सय बढी नेपाली अमेरिक र मेक्सिकोको सीमामा रोकिएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लागेर उनीहरु २३ महिनामा त्यहाँ आइपुगेका हुन् । सामान्य पढे–लेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् । उनीहरुले न्यूनतम ४० देखि अधिकतम ७५ लाख रुपैयाँसम्म खर्चेका छन् । सुरुमा २० देखि २५ लाख लाग्ने भन्ने तर पछि बाटोमा थप रकम माग्दै जानाले लागत रकम बढेको हो । त्रिविबाट स्नातकोत्तर गरेका तुल्सीपुर दाङका सुलभ भट्टराईले आफ्नो नाम सबै स्थानमा परिवर्तन गरेर आएको जानकारी दिए । उनले नागरिकतादेखि विद्यालय सर्टिफिकेटमा समेत नाम परिवर्तन गरेका छन् । उनी अमेरिका प्रवेश गरेको चार साता भइसके पनि उनकै टोलीमा रहेका कयौंले अमेरिका प्रवेश पाएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीप्रति कडा नीति लिदैं मेक्सिकोको सीमामा समेत कडाइ गरेकाले नेपाली र अन्य मुलुकका गैरकानुनी प्रवेश गर्न चाहनेलाई असहज भएको हो । कान्तिपुर दैनिकबाट ।