एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सुनिल केसी नियुक्त भएका छन् । मंगलबार बैंकमै आयोजित एक कार्यक्रममा अध्यक्ष पवनकुमार गोल्याणले केसीलाई पद बहालीको लागि सपथ ग्रहण समेत गराएका छन् । बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको पदमा रही कार्य गर्दै आएका केसी बिगत ८ बर्ष देखि एनएमबि बैंक सँग आवद्ध छन् । २७ वर्षे बैकिङ्ग अनुभव संगालेका केसी बैकिङ्ग क्षेत्रमै सटिक विश्लेषण गर्न सक्ने व्यक्तिका रुपमा चिनिन्छन् । एनएमबि बैंकलाई यो स्थानमा ल्याउनमा केसीको महत्व पुर्ण योगदान रहेको बैंकले जनाएको छ । मंगलबार कार्यकाल सम्हाल्दै केसीले भने-“ बैंकलाई नाफा मात्र नभई हरेक प्रकारले उत्कृष्ट बैंक बनाउने मेरो उद्देश्य रहेको छ । बैंकले आफ्नो रणनीति अनुरुप, नाफा मात्र आधार नबनाई स्थानीय समुदायमा समेत लगानी गर्नेछ तथा आत्मनिर्भर नेपालका लागि सर्मपित रहदै कार्यहरु गर्ने छ । ”

नयाँ संरचनाले स्थानीय तहका कर्मचारीलाई भ्याइनभ्याई, थप २७० शाखा अधिकृत र ६० उपसचिव खटिए

फाइल तस्बिर काठमाडौं । जिल्ला विकास समितिको कार्यालय सिन्धुपाल्चोकका कर्मचारीहरूलाई सोमबार भ्याइनभ्याइ थियो । केही कर्मचारी नयाँ लेटर प्याड छाप्न दगुरिरहेका थिए भने कोही बोर्ड फेर्न, छाप बनाउन भन्दै प्रेसमा धाइरहेका थिए । स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही पुनःसंरचनाअनुसार स्थानीय तहमा नयाँ कर्मचारीहरू खटाइएको पत्रमा हस्ताक्षर गरिरहेका थिए । संविधानले व्यवस्था गरेबमोजिम पुराना स्थानीय संरचना स्वतः रद्द भई नयाँ संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको व्यवस्था गरेपछि गाविस र नगरपालिकाका कर्मचारीहरू अन्योलमा देखिन्थे । जिल्ला समन्वय समितिको कार्यालय (तत्कालीन जिल्ला विकास समिति) ले जिल्लाका यसअघिका पुरानो संरचनाका सबै गाउँ विकास समिति र नगरपालिकाका कर्मचारीहरूलाई कार्यालयमा बोलाई अब नयाँ संरचनाअनुसार काम गर्नका लागि निर्देशन दिन आयोजना गरिएको कार्यक्रममा स्थानीय निकायका अस्थायी कर्मचारीहरू आफ्नो भविष्यबारे अन्योलमा देखिन्थे । स्थानीय विकास मन्त्रालयले तत्कालै कर्मचारीहरू व्यवस्थापन गरी स्थानीय तहको शासन सञ्चालनका लागि निर्देशन दिएपछि जिल्ला समन्वय समितिको कार्यालयले सोमबार नै जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिकामा प्रमुखहरूको व्यवस्था गरी कर्मचारी खटाएको स्थानीय विकास अधिकारी शाहीले जानकारी दिए । तत्कालीन गाविस सचिवमध्येबाट ज्येष्ठताका आधारमा प्रमुखको जिम्मेवारी दिइएको शाहीले जानकारी दिए । ‘केन्द्रबाट कर्मचारी नपठाउँदासम्म उहाँहरूले मंगलबारदेखि नै कामकाज सुरु गर्नुहुन्छ,’ शाहीले भने, ‘केही अन्योल छ, तर यो बिस्तारै ठीक हुन्छ ।’ यसअघिका गाविस स्वतः वडा कार्यालयमा परिणत भएको छ भने दुई वडा भएको यसअघिको गाविसमा संयुक्त वडा कार्यालय स्थापना हुने स्थानीय विकास अधिकारी शाहीले बताए । गाविसबाट यसअघि हुने सबै कार्यहरू अब वडाबाट हुने उनले बताए । गाउँपालिका र नगरपालिकामा अब कर्मचारी व्यवस्थापन गर्दा सबै स्थायी र अन्य सेवा समूहबाट पनि हुने भएपछि यसअघि स्थानीय तहमा कार्यरत कर्मचारीहरू कता व्यवस्थापन हुने हो अन्योलमा नै रहेको गाविस कर्मचारी संघका केन्द्रीय सदस्यमिमबहादुर योञ्जनले बताए ।यसअघि जिविस, गाविस र नगरपालिकाहरूले असारसम्मको योजना सम्झौता गरेकाले अब भुक्तानीलगायत अन्य प्रक्रियामा पनि समस्या देखिएको छ । राजधानि दैनिकबाट । सामान्यप्रशासनले खटायो २७० शाखा अधिकृत र ६० उपसचिव सात सय ४४ वटै स्थानीय तहमा तत्काल कार्यकारी अधिकृत पठाउने अन्तिम तयारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ। निर्वाचन आयोगले चैत ३ भित्र सबै गाउँपालिका र नगरपालिकामा कर्मचारी खटाइसक्नुपर्ने निर्देशन दिएपछि मन्त्रालयले उनीहरूलाई पठाउन लागेको हो। मन्त्रालयमा नपुग कर्मचारी सामान्य प्रशासन मन्त्रालयसँग माग गरेकामा सामान्य प्रशासनले सोमबारै ३ सय बढी अधिकृतको व्यवस्थापन मिलाएको छ। सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले स्थानीय तहमा पठाउने गरी २ सय ७० जना शाखा अधिकृत र ६० उपसचिवको व्यवस्थापन भइसकेको बताए। ‘उहाँहरूलाई पत्र दिने काम भइरहेको छ,’ उनले भने, ‘बाँकी कर्मचारी पनि साताभित्रै व्यवस्थापन भइसक्नेछ।’ स्थानीय तहलाई खटाइएका सबै शाखा अधिकृत नयाँ लिइएका कर्मचारी हुन्। लोकसेवा उत्तीर्ण भएर स्टाफ कलेजमा तालिमरत २ सय ७० जनालाई सामान्य प्रशासन मन्त्रालयले पठाउने निर्णय लिएको हो। ६ महिने तालिममा रहका उनीहरू ३ महिना तालिमपछि विभिन्न जिल्ला र निकायमा काम सिक्दै थिए। अब मात्रै उनीहरूलाई जिम्मेवारीसहित खटाइन लागेको हो। सामान्यले स्थानीय तहमा पठाउन लागेका उपसचिवहरू पनि भर्खरै बढुवा भएका हुन्। फाइल बढुवा भएका तर नियुक्ति नपाएका ६० उपसचिवलाई स्थानीयमा खटाउने निर्णय भएको न्यौपानेले बताए। स्थानीय मन्त्रालयले २ सय ७० जना शाखा अधिकृत, १ सय ८० जना उपसचिव र ३ सहसचिव माग गरेको छ। ‘मागअनुसार शाखा अधिकृत पुगेको छ, सहसचिव पठाउन समस्या छैन,’ न्यौपानेले भने, ‘आवश्यक बाँकी उपसचिव विभिन्न मन्त्रालयबाट लिनेछौं।’ सामान्यले बढी उपसचिवको दरबन्दी भएका गृह, भूमिसुुधार र सञ्चार मन्त्रालयसँग विवरण मागेको छ। शिक्षा मन्त्रालयले पनि आफूसँग भएका उपसचिवलाई खटाउन सकिने प्रस्ताव गरेको छ। सकेसम्म मिल्दो सेवा समूहबाटै कर्मचारीको खोजीमा सामान्य प्रशासन मन्त्रालय जुटेको छ। ‘स्थानीय तहमा जाने कर्मचारी सामान्य प्रशासन समूहका हुन्, पहिलो विकल्प मिल्दो समूहबाटै कर्मचारी खोज्दै छौं,’ प्रवक्ता न्यौपानेले भने, ‘नियमित काममा प्रभावित नहुने गरी कुन–कुन मन्त्रालयबाट उपसचिव झिक्न सकिन्छ भन्ने गृहकार्यमा छौं।’ कान्तिपुर दैनिकबाट ।

पशुपक्षी विकास मन्त्रालयमा श्रीप्रसाद जगेबु, प्रधानमन्त्रीद्धारा राज्यमन्त्रीको कार्यभार प्रदान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री रहेएका श्रीप्रसाद जगेबुलाई पशुपक्षी विकास मन्त्रालयको राज्यमन्त्रीको कार्यभार प्रदान गरेका छन्। प्रधानमन्त्रीले सोमबार राज्यमन्त्री जगेबुलाई सो मन्त्रालयको सम्पूर्ण कार्यभार सञ्चालन गर्ने गरी जिम्मा दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उपप्रधानमन्त्रीको हैसियतसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यभार सम्हालेपछि राज्यमन्त्री जगेबुलाई पशुपक्षी विकास मन्त्रालयको जिम्मा दिएका हुन् । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँलाई प्रधानमन्त्रीले गृहराज्यमन्त्रीको जिम्मेवारी दिएका छन् । सो मन्त्रालयमा राप्रपाका दिलनाथ गिरी मन्त्री भएर आएका र राज्यमन्त्रीमा सोही पार्टीका परशुराम तामाङ मन्त्री भएर आएपछि राज्यमन्त्री बानियाँलाई गृह राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । रासस