जनता बैंककाे प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्री नियुक्त
काठमाडौं । जनता बैंक नेपालकाे प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले क्षेत्रीलाई अागामी चार वर्षकाे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको सञ्चालक नारायण प्रसाद घिमिरेले विकासन्युजलाई जानकारी दिए । बुधबार मात्र सो बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले पदबाट राजीनामा दिएका थिए । चार वर्षको लागि नियुक्ती पाए पनि लम्सालले २ वर्ष मात्र काम गरे । बैंकले विहीबार साँझ नयाँ प्रमुख कार्यकारी अधिकृत क्षेत्रीलाई स्वागतको साथै पुरानो प्रमुख कार्यकारी अधिकृत लम्साललाई विधाई कार्यक्रम आयोजना गरेको छ । नवनियुक्त क्षेत्रीले यसअघि ग्राण्ड बैंक नेपालमा प्रमुख कार्यकारी अधिकृत थिए । उक्त बैंकलाई नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गरेपछि क्षेत्रीले सो बैंकबाट राजीनामा दिएका थिए । त्यसअघि उनले बैंक अफ एशिया नेपालमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका थिए । त्यसअघि उनले सिटिजन्स बैंक इन्टरनेशन र नेपाल बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेको थिए । शंकरदेव क्याम्पसबाट एमबीए गरेपछि उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालबाट बैकिङ करिअर शुरु गरेका थिए । ग्राण्ड बैंक छोडेपछि क्षेत्रीले नेपाल बैंकिङ इन्स्टीच्यूटका लगायत संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा काम गर्दै आएका थिए । जनता बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसअघि जनतामा त्रिवेणी विकास बैंक गाभिएको थियो । दुई वटा विकास बैंक गाभेपछि जनता बैंक ठूलो पोर्टफोलियोको बैंक बन्दैछ । यसको चुक्ता पुँजी करिव ६ अर्ब ९१ करोड हुँदै छ भने करिव ६० अर्बको विजनेश पोर्टफोलियो हुँदैछ ।
सपनाकाे देश ठानिने अमेरिकाबाटै सात नेपाली निष्कासित
काठमाडौ । अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निस्कासन गरेको छ। निष्कासित सातै जनालाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधवार साँझ ल्याइएको हो। जहाज ओर्लनासाथ ती सात नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो। निष्कासित हुनेमा रामेछापका टासी शेर्पा, रूकुमका तारक पुन मगर र धनीराम बुढा, पोखराका केशव थापा, हेम्जाका चित्रबहादुर थापा र मकवानपुरकाक रवीन्द्र बलामी तथा बागलुङका अमर बस्नेत छन्। उनीहरू ९ देखि १६ महिनासम्म अमेरिकाको अध्यागमन हिरासतमा बसेका थिए। अमेरिकास्थित नेपाली दूतावासले उनीहरूको ट्राभल डकुमेन्ट बनाएपछि त्यहाँको अध्यागमनले उनीहरूलाई निष्कासन गरेको हो। अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अवैध रूपमा अमेरिका छिरेका ७ नेपालीलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको पुष्टी गरे। ‘यसबाट अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्नेले पाठ सिक्नुपर्छ। यो घटनाबाट सबैमा सकारात्मक सन्देश जाओस्,’ गेलालले भने।
कतारको संकटले नेपालीलार्इ तत्काल असर नगर्ने, नयाँ रोजगारीमा समस्या
काठमाडौं । कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर र त्यहाँ कार्यरत कामदारको भविष्य के हुन्छ भन्ने सन्दर्भमा सरकार पर्ख र हेरको रणनीतिमा छ । ‘पछिल्लो घटनाक्रमबाट कतारस्थित नेपाली नागरिकलाई नकारात्मक असर परेकोबारे अहिलेसम्म कुनै रिपोर्टिङ आइसकेको छैन,’ उनले भने, ‘परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैगरी रणनीति बनाउँछ ।’ लामो समय आर्थिक नाकाबन्दी भए मात्र रोजगारीमा समस्या श्रम तथा रोजगार मन्त्रालयका अनुसार कतारमा अहिले साढे ३ देखि ४ लाख नेपाली कामदार कार्यरत छन् । त्यसमध्ये ठूलो हिस्सा निर्माण क्षेत्रमा सक्रिय छ । मन्त्रालयका अनुसार भारतपछि धेरै नेपाली कामदार निर्माण क्षेत्रमा कार्यरत छन् । त्यसकारण कूटनीतिक विच्छेद र नाकाबन्दीले रोजगारीमा तत्काल ठूलो असर नपर्ने, तर आर्थिक नाकाबन्दी लामो समय रहेमा भने समस्या आउन सक्ने मन्त्रालयको भनाइ छ । नयाँ रोजगारीमा समस्या कतार समस्या लामो समय लम्बिएमा नया रोजगारीको अवसर नआउने र कतारको गन्तव्य नै खतरामा पर्ने सम्भावनाबारे आशंका सुरु भएको छ । तर, व्यवसायीहरू भने यो समस्या शीघ्र हल हुनेमा आशावादी छन् । ‘यो समस्या कति दीर्घकालसम्म लम्बिन्छ भन्ने विषय महत्वपूर्ण हो,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमलप्रसाद ढकाल भन्छन्, ‘आजकै दिनमा अब के हुन्छ भनेर प्रतिक्रिया दिन सक्ने अवस्था छैन ।’ ”कतार समस्याबाट नेपालीमाथि पर्ने तत्कालीन असर वायुसेवाको टिकट हो, यसका लागि पनि विकल्प छन् । आगामी दिनमा के हुन्छ आजै भन्न सकिने अवस्था छैन । परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैअनुसार रणनीति बनाउँछ ।” (गोविन्दमणि भुर्तेल, प्रवक्ता, श्रम तथा रोजगार मन्त्रालय आफ्नो मुलुकमा ट्रान्जिट गरी कतारसम्म उडान गर्ने कम्पनीले कतारको टिकट बिक्री बन्द गरेपछि अन्य कम्पनीले मौकाको फाइदा छोपी भाडा बढाउन सक्छन् । नेपाली कम्पनीहरूलाई निकै राम्रो अवसर आएको छ । नेपाली कम्पनीले उडान संख्या बढाएर नेपाली दाजुभाइलाई सेवा दिनुपर्छ । – यमबहादुर खड्का, प्रबन्ध निर्देशक, एरोलिना ट्राभल । नयाँ पत्रिका दैनिकबाट ।