लोकसेवाकै मिलेमतोमा निलम्बित कर्मचारी बढुवा
काठमाडौं । काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ। महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको भेटिएको हो । यसबाट लोकसेवा आयोगको विश्वसनीयतामाथि समेत प्रश्न उठेको छ। पदपूर्ति समितिबाट गरिएको निर्णयमा लोकसेवा आयोगका प्रतिनिधिसमेत रहेका पदपूर्ति समितिका अध्यक्ष शिवप्रसाद मुनकर्मी, सदस्य सचिव (महानगरपालिकाका कार्यकारी अधिकृत) ईश्वरराज पौडेलसहित ६ जनाले हस्ताक्षर गरेको भेटिएको छ। गत २९ फागुनमा बसेको महानगरपालिकाको पदपूर्ति समितिले श्रेष्ठलाई प्राविधिक सेवा अधिकृत स्तरको सातौं तहमा बढुवाको सिफारिस गरेको पाइएको हो। तर, उनको नाम भने बढुवाको सूचीमा प्रकाशित गरिएको छैन। श्रेष्ठसँगै बढुवा भएका अन्य कर्मचारीहरूको नामावली भने २९ फागुनकै मितिमा प्रकाशित गरिएको थियो। राजधानी दैनिकबाट ।
राजधानीमा फेरि रात्रीबस चल्ने, दुई महिनाभित्रै सञ्चालको तयारीमा महानगरपालिका
काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र फेरि रात्री बस सञ्चालनमा ल्याउने भएको छ । तीन बषैदेखि सञ्चालनमा आउन नसकेको रात्रीबस पुन सञ्चालन गर्न महानगरले गृहकार्य गरेको छ । तत्कालिन उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले २०६९ भदौ १ गते तामझामसहित रत्नपार्कमा रात्रिबस उद्घाटन गरेका थिए । २०७० जेठबाट रात्रिबस काठमाडौंमा देखिएनन् । रात्री वस सञ्चालका लागि मन्त्रालयले ३० र महानगरले १५ लाख बजेट विनियोजन गरेका थिए । रात्रीबस संचालनमा पहल गर्ने महानरका तत्कालीन कार्यकारी प्रमुख केदारबहादुर अधिकारी अहिले मन्त्रालयका सचिव छन् । त्यसपछि चार जना कार्यकारी प्रमुख फेरिदा पनि कसैको ध्यान पुगेन । अहिले फेरि संचालनको तयारी र प्रक्रिया अगाडि बढेको महानगरको भनाइ छ । अन्नपूर्ण पोस्टबाट ।
कोरियाली भाषा परीक्षामा १५ हजार त्रुटी, पहिलाेपटक अनलाइन भएकाेले धेरैकाे त्रुटी
काठमाडौं । रोजगारा अनुमति प्रणाली अन्तर्गत कोरिया जानका लागि भरेको भाषा परिक्षाको दरखास्तमा १५ हजार जनाको त्रुटि फेला परेको छ। पहिलो पटक अनलाइनमार्फत दरखास्त संकलन गरिएकोमा १५ हजार निवेदनमध्ये केहीले फोटो, केहीले नाम तथा जन्ममितिमा फरक विवरण भरेका हुन्। चैत ९ गतेदेखि १८ गतेसम्म संकलन गरिएका दरखास्तमध्ये अधिकांशको त्रुटि सच्याएर कोरिया पठाइसकेको इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिए। यसपटक कोरिया भाषा परीक्षा दिन ७५ हजार ५ सय ८३ जनाले दरखास्त दिएका थिए। दरखास्त दिएकाको आगामी जेठ २७ र २८ गते चार सिफ्टमा परीक्षा लिने व्यवस्था मिलाइएको भण्डारीले जानकारी दिए। नागरिक दैनिकबाट ।