रासस महाप्रबन्धकमा ओपेन्द्र शर्मा नियुक्त
काठमाडौँ, । सरकारले राष्ट्रिय समाचार समिति राससमा रिक्त महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शर्मालाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत माघ ६ गतेदेखि सो पद रिक्त थियो । त्यस्तै निर्यात तथा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशकमा शरद्विक्रम राणालाई नियुक्त गरिएको छ । बैठकले बूढीगण्डकी इन्जिनियरिङ प्रोक्यरमेन्ट कन्स्ट्रक्सन ढाँचामा अघि बढाउने सम्झौतापत्र तयार गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ । प्रधानमन्त्रीले संसद्मा विशेष सम्बोधन गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र मन्त्रीहरूले बालुवाटारमा सामूहिक तस्बिर खिंचाएका थिए । रासस
प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालद्धारा पदभार ग्रहण, जवाफदेही पत्रकारिताको विकासमा जोड
काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानीप्रसाद बराललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैंठकले जेठ ४ गने बराललाई अध्यक्षमा नियुक्त गरेको हो । बरालले आज पदभार समालेका छन् । पदबहाली पछि बरालले स्वस्थ, मर्यादित र जवाफदेही पत्रकारिताको बिकासका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजै काउन्सिलले नयाँ अध्यक्षको स्वागत गरेको छ । स्वागत कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिस्टले मिडियाको संख्यात्मक वृद्धि भएको र गुणस्तरतालाई ध्यान दिई बदलिदो परिस्थितिमा काउन्सिलले स्वतन्त्र र स्वायत्त निकायकोरुपमा स्थापित भई आफ्नो भूमिकालाई फराकिलो पार्दै जानुपर्ने बताए । प्रेस काउन्सिलका बोर्ड मेम्बर अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल अहिले नयाँ प्रविधि युक्त भएको बताए । काउन्सिलको विश्वसनियता र प्रभाव बढ्दै गएकोले उच्च ओहोदाका महानुभावहरु समेत उजुरीका गर्न काउन्सिल आउन थालेको बताए । प्रेस काउन्सिल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछानेले जनशक्ति व्यवस्थापन गर्दै काउन्सिलको भूमिकालाई प्रभावकारी बनाउन जोड दिए ।
भूकम्पपीडितलाई ट्याक्सी वितरण जेठ १३ देखि, डेढ लाख अावेदनमध्ये १५ सयले पाउने
काठमाडौं । भूकम्प पीडितले यही जेठको १३ देखि १५ गतेभित्र ट्याक्सीको नम्बर पाउने भएका छन् । सरकारले भूकम्प पीडितका लागि दिएको यो ट्याक्सी सुविधाको जानकारी संचार माध्यमबाट लाइभ गरेर सार्वजनिक गर्ने भएको छ । यातायात व्यवस्था विभागले १ लाख ४९ हजार आवेदनकमध्येबाट जम्मा १५ सय जनालाई मात्रै ट्याक्सी वितरण गर्न लागेको हो । यातायात व्यवस्था विभागलेगत चैत्र २६ मै ट्याक्सी वितरण गर्ने भनेपछि निर्वाचन आचारसंहिताले रोकेको थियो । सरकारले गत साउनमा मागेको आवेदनका आधारमा अहिले ट्याक्सी वितरण गर्न लागेको हो । सरकारले ट्याक्सीको नम्बर प्लेटमात्रै उपलव्ध गराउने र ट््याक्सी खरीदमा भने कुनै अनुदान वा सहयोग नदिने विभागले स्पष्ट पारेको छ । नम्बर लिएपछि भूकम्प पीडितले आफैंले ट्याक्सी किन्नुपर्ने विभागको भनाइ छ । अन्नपूर्ण पोस्टबाट ।