स्थानीय तहमा १६ हजार १६ कर्मचारी अभाव, कहाँ कति कर्मचारी अभाव ?

काठमाडौं । स्थानीय तहहरूमा १६ हजार १६ कर्मचारीको अभाव छ । कर्मचारी नहुँदा कतिपय स्थानीय तहको सेवा प्रवाह नै अवरुद्ध भएको छ । ठूलो संख्यामा कर्मचारी अभाव भएपछि स्थानीय विकास मन्त्रालयले व्यवस्थापन गर्न बुधबार सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले ७ सय ४४ वटै स्थानीय तहमा तत्काल १६ हजार १६ कर्मचारी अभाव भएको बताए । सबै तहमा तत्काल प्रशासन सेवा र प्राविधिकतर्फका कर्मचारी पठाउनुपर्ने आवश्यकता रहेको उनले बताए । स्थानीय निकाय हुँदाका अधिकांश गाउँ विकास समिति हाल वडा कार्यालयमा रूपान्तरण भएका छन् । वडा कार्यालयलाई तत्काल कार्यान्वयनमा ल्याउन कम्तीमा एक खरिदार, एक सहायक र प्राविधिक गरी तीन कर्मचारी आवश्यक पर्ने थपलियाले बताए । संविधानअनुसार सरकारले गत २२ माघमा ७ सय ४४ वटा स्थानीय तह गठन गरेको थियो । तर, ती तहमा कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी मापदण्ड बनाउन सकेको थिएन । सरकारले स्थानीय तह सञ्चालन सम्बन्धमा विभिन्न आदेश जारी गर्दै कर्मचारी व्यवस्थापनको पहल गरे पनि प्रभावकारी हुन सकेको छैन । कृषि, स्वास्थ्य, शिक्षा, पशुपक्षी, उद्योग मन्त्रालयअन्तर्गतका कर्मचारी स्थानीय तहमा खटाउने सरकारको निर्णय कार्यान्वयनमा आउन सकेको छैन । कर्मचारीको अभाव यथावत् छ । स्थानीय तहको आर्थिक प्रशासन व्यवस्थापनका लागि गाउँपालिकामा लेखापाल, नगरपालिकामा लेखा अधिकृत र उपमहानगरपालिका, महानगरपालिमाका उपसचिवस्तरका लेखाका कर्मचारी खटाउन पनि स्थानीय विकास मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । कहाँ कति कर्मचारी अभाव गाउँ र नगरपालिकामा ६२६० प्रशासनिक कर्मचारी अभाव स्थानीय विकास मन्त्रालयका अनुसार ४ सय ७९ गाउँपालिकाका ३ हजार ४ सय १० वडा कार्यालयमा सचिवको काम गर्नका लागि नासु वा सोसरहका ८ सय ५० कर्मचारीको अभाव छ । ती गाउँपालिकाका वडा कार्यालयमा प्रशासन सहायकका रूपमा काम गर्ने ३ हजार ४ सय १० कर्मचारीको अभाव छ । त्यस्तै, २ सय ४८ नगरपालिकाका २ हजार ८ सय ७३ वडा कार्यालयमा सचिवको काम गर्न नासु वा सोसरहका २ हजार कर्मचारीको अभाव रहेको स्थानीय विकास मन्त्रालयले जनाएको छ । ६२८३ इन्जिनियर आवश्यक स्थानीय विकास मन्त्रालयका अनुसार ४७९ गाउँपालिकाका ३४१० वडा कार्यालय र २ सय ४८ नगरपालिकाका २८७३ वडा कार्यालयका लागि असिस्टेन्ट सब–इन्जिनियर वा सब–इन्जिनियर गरी ६ हजार २ सय ८३ प्राविधिक इन्जिनियरको अभाव छ । मन्त्रालयका सचिव थपलियाले प्राविधिक कर्मचारीको अभावमा स्थानीय तहमा विकास निर्माणका कामहरू गर्न कठिन हुने भएकाले तत्काल खटाउनुपर्ने बताए । उपमहानगरमा मात्रै चार सय कर्मचारी अभाव ११ उपमहानगरपालिकाका २३२ वडा कार्यालयमा २ सय शाखा अधिकृत र २ सय सब–इन्जिनियर गरी ४ सय कर्मचारी आवश्यक रहेको मन्त्रालयले जनाएको छ । महानगरपालिकामा दुई सय कर्मचारी आवश्यक मन्त्रालयका अनुसार ६ वटा महानगरपालिकाका १६९ वडामा १ सय शाखा अधिकृत र १ सय इन्जिनियर गरी २ सय कर्मचारीको अभाव रहेको छ । नयाँ पत्रिका दैनिकबाट ।

एक बर्षमा सातै प्रदेशबाट भिषा, केन्द्रको चाप अन्त्य हुने

काठमाडौं । गृह मन्त्रालयले एक बर्षभित्र सातवटै प्रदेशबाट प्रवेशाज्ञा (भिषा) जारी गर्ने भएको छ । केन्द्रमा देखिएको सेवाग्राहीको चाप व्यवस्थापन तथा प्रविधियुक्त अध्यागमन कार्ययोजना लागू गर्न हध्यागमन विभागले सबै प्रदेश र कर्पटकीय गन्तव्यका रुपमा रहेका स्थानबाट भिषा जारी गर्न पक्रिया अघि बढाएको खबर आजको कारोबारमा छ । २०७५ असोजभित्र यो सुविधा सबै प्रदेशबाट उपलब्ध गराइने बताइएको छ । विभागका महानिर्देशक गंगाराम गेललका अनुसार आवश्यकता, औचित्य र सेवाग्राहीको चापका आधारमा प्रदेश अन्र्तगतका विभिन्न स्थानमा भिषा सेन्टर स्थापना गरिने छ । कारोबार दैनिकबाट ।

शाहले सम्हाले नेपाल इन्स्योरेन्सको सिईओ पदभार

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)को पद विजय बहादुर शाहले समालेका छन् । चार्टड एकाउन्टेन्ट शाहले सोमबारदेखि यस कम्पनीको सिईओको पदभार ग्रहण गरेका हुन् । शाहले यसअघि पनि बीमा क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गरिसकेका छन् । २०१५ सालमा बर्दिया जिल्लाको गुलरियामा जन्मेका शाहले सन १९८८मा चार्टर्ड एकाउन्टेन्टको अध्ययन पुरा गरेका हुन् । नेपाल बिमक संघको २ कार्यकाल अध्यक्ष रहिसकेका शाह एसिया र अफ्रिकाका विकास शील राष्ट्रहरुमा कार्यरत बीमा तथा पुनर्विमा कम्पनीहरुको सदस्य रहेको एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स कम्पनी इन डेभलपिङ कन्ट्रिज(एआईआरडिएस)को उपाध्यक्ष हुन् । कम्पनीको असार २० गते बसेको संचालक समितिको बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । शाहको कार्यकाल ४ वर्षको हुनेछ ।