तलब नबढेपछि कर्मचारी निराश, तलबभत्ता पुनरावलोकन आयोग गठनमा असन्तुष्टि

काठमाडौँ । नयाँ बजेटमा कर्मचारीको तलबभत्ता केही वृद्धि हुने आशा बोकेर बसेका कर्मचारी बजेट भाषणपछि हिस्स परेका छन् । सङ्घीयता कार्यान्वयनमा कर्मचारी व्यवस्थापनको विषय निकै चुनौतीपूर्ण भइरहेको अवस्थामा कर्मचारीलाई स्थानीय निकायमा जान प्रोत्साहित गर्नकै लागि भए पनि सरकारले बजेटमार्फत आफ्ना माग सम्बोधन गर्ने आशा कर्मचारीले गरेका थिए । तर, सरकारले घुमाउरो पारामा तलबभत्ता पुनरावलोकन आयोग गठन गरेर उसको सिफारिसका आधारमा तलब वृद्धि गर्ने आश्वासन दिएकोप्रति कर्मचारीले असन्तुष्टि जनाएका छन् ।  बजेटमा सरकारले राष्ट्रसेवकको तलबभत्ता र सुविधामा पुनरावलोकन गरी उपयुक्त सुझाव सिफारिस गर्न एक उच्चस्तरीय तलब सुविधा सुझाव आयोग गठन गर्ने भनेको छ । “यो हामीलाई झुक्याउने पारा मात्र हो”, आधिकारिक ट्रेड युुनियनका अध्यक्ष पुण्य ढकालले भन्नुभयो, “यसअघि पनि यस्ता समिति बनेका थिए तर कुनै समितिको सिफारिस पनि सरकारले कार्यान्वयन गरेन । अब बन्ने समितिको सिफारिस कार्यान्वयन हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने ? उहाँले सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पाटो कर्मचारी समायोजन भएको बताउँदै यस्तो अवस्थामा कर्मचारीमा उत्प्रेरणा जगाउने गरी तलबभत्तामा विचार नगरेर सरकारले विवेक नपुर्याएको आरोप लगाउनुभयो । “यसले सङ्घीयताको सकारात्मक समृद्धिमा असर पर्ने सम्भावना रहन्छ”, उहाँले थप्नुभयो । निजामती सेवामा रहेका अन्य कर्मचारी सङ्गठनहरूले पनि कर्मचारीप्रति बजेट उदासीन देखिएको गुनासो गरेका छन् । “बजेटले कर्मचारीलाई प्रोत्साहित गर्न सकेन”, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)का केन्द्रीय सदस्य विश्वबन्धु रेग्मीले भन्नुभयो । धेरै तलब बढाउन नसके पनि साङ्केतिक वृद्धि गरेर कर्मचारीको मनोबल बढाउने काम गरिनुपथ्र्यो । सङ्घीयतामा कर्मचारी समायोजनका साथै असार ९ मा हुने दोस्रो चरणको स्थानीय तहको चुनाव, त्यसपछिको प्रदेश र सङ्घको चुनावमा कर्मचारीको सकारात्मक सहयोग र सद्भावका लागि पनि तलबभत्तामा साङ्केतिक वृद्धि गरिनुपर्ने सम्बद्ध क्षेत्रका विज्ञहरूले बताउनुभयो । वरिष्ठ प्रशासनविद् डा.भीमदेव भट्टले कर्मचारीको तलब सुविधामा धेरै वृद्धि गर्न नसके पनि साङ्केतिक वृद्धि गरेर उनीहरूलाई प्रोत्साहित गर्ने बजेट ल्याएको भए राम्रो हुने प्रतिक्रिया दिनुभयो । गोरखापत्र दैनिकबाट ।

कैलाश विकास बैंकका नयाँ कार्यकारी प्रमुख अमृतचरण श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा अमृतचरण श्रेष्ठ नियुक्त भएका छन् । नवनियुक्त श्रेष्ठले आइतबार बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरेका छन् । बैंकको संचालक समितिको बैठकले जेठ १४ गते देखि लागु हुने गरी चार वर्षको लागि श्रेष्ठलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नयाँ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँग नेपालका बिभिन्न वाणिज्य बैंकमा करिव ३० वर्ष कार्य गरेको कार्यानुभव रहेको छ ।

एभरेष्ट इन्स्योरेन्सको अध्यक्षमा राजिब सापकोटा नियुक्त

काठमाडौं । एभरेष्ट इन्स्यारेन्सको अध्यक्षमा राजिब सापकोटा नियुक्त भएका छन् । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सापकोटालार्इ सो पदमा नियुक्त गराएका हुन् । यस अघि कम्पनीको अध्यक्षको कार्यभार सुरेन्द्र सिलवालले सम्हालेका थिए । सिलवालले गत वैशाख २१ गते देखि लागु हुने गरी राजीनामा दिएका हुन । सोही दिन बसेको कम्पनीको बैठकले सिलवालको राजीनामा स्वीकृत गरेको हो ।