सिद्धार्थ बैंकको कामु सीईओमा शम्भुनाथ गौतम नियुक्त

शम्भुनाथ गौतम काठमाडौं । सिद्धार्थ बैंकले कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शम्भुनाथ गौतमलाई नियुक्त गरेको छ । जेठ २२ गते बसेको बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले दिएको राजीनामा स्वीकृत गर्दै गौतमलाई कामु सीईओ नियुक्त गरेको हो । गौतम यसअघि सोही बैंकमा डेपुटी सीईओको जिम्मेवारीमा थिए । उनी सिद्धार्थ बैंक स्थापना भएदेखि नै सेकेण्ड म्यानकाे भूमिकामा थिए । सिद्धार्थ बैंकबाट राजीनामा दिएका भण्डारी कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ती पाईसकेको छन् ।

कतारसँग छिमेकीकाे सम्बन्ध विच्छेद,  नेपालीको रोजगारी गुम्ने सक्ने, हवाइ उडान साेमबारबाटै रद्द

काठमाडौं । करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । अरबी क्षेत्रमा अस्थिरता ल्याएको र इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरू कतारसँग क्रूद्ध बनेका हुन् । नेपालीको रोजगारी गुम्ने खतरा कतारको अर्थतन्त्र कमजोर बन्दै जाँदा त्यहाँको निर्माण क्षेत्र कमजोर हुन्छ र उसले विदेशी कामदार फर्काउन सक्छ । अर्कोतर्फ कतारले विदेशी कामदार लैजान कम ग(यो भने पनि प्रभावित त नेपाली नै हुन्छन् । कतारका व्यवसायीले विदेशमा गरेको लगानी बन्द भयो भने पनि त्यस्ता कम्पनीमा कार्यरत नेपालीलाई फर्काउन सक्छ । गणेश गुरुङ, वैदेशिक रोजगारविज्ञ सूक्ष्म रूपमा हेरिरहेका छौँः परराष्ट्र मन्त्रालय खाडी क्षेत्रको पछिल्लो घटनाक्रमलाई सूक्ष्म रूपमा हेरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘यो घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा हेरिरहेको छ, आज जुन घटना भएको छ, दोहा, अबुधावी, कायरो, रियादका दूतावासलाई अध्ययन गरी प्रतिवेदन दिन निर्देशन दिएका छौँ,’ परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले भने । नयाँ पत्रिका दैनिकबाट । सोमबारबाटै उडान रद्दः सयौं यात्रु मर्कामा काठमाडौं । कतार जाने कुनै पनि यात्रुलाई साउदी अरेबीया र यूएईका एयरलाइन्सले यात्रु नबोक्ने घोषणा गरेपछि नेपालबाट कतारको दोहा ट्रान्जिट भएर जाने यात्रुहरु मर्कामा परेका छन् । आसपासका ६ राष्ट्रले कतारसँगको आफ्नो सबै कूटनीतिक सम्बन्ध र सबै सीमा, सामूहिक र हवाईमार्ग समेत विच्छेद गरेपछि यो समस्या उत्पन्न भएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ । साउदी अरेबिया र यूएईका एयरलाइन्सले सोमबार नै काठमाडौंबाट दोहा जाने यात्रु नलाने घोषणा गरेपछि सयौं यात्रुहरु काठमाडौंमा नै अलपत्र परेका छन् ।

आरएमसी राजेश जस्तापाताको ब्राण्ड एम्बेस्डरमा केकी अधिकारी नियुक्त

काठमाडौं । आरएमसी राजेश रंगीन जस्तापाताको ब्राण्ड एम्बेस्डरमा सुपरिचित चलचित्र नायिका केकी अधिकारी नियुक्त भएकी छन् । सोमबार कम्पनीले आफ्नो ब्राण्ड एम्बेस्डरमा नायिका अधिकारीलाई नियुक्त गरेको हो । राजेश रंगीन जस्तापाताका उत्पादक राजेश मेटलक्राफ्ट्स् प्रा.लि.ले लामो समयदेखि गुणस्तरीय जस्तापाताको उत्पादन तथा विक्री-वितरण गर्दै आएको छ । शुरुमा सादा जस्तापाता उत्पादन गर्दै आएको सो कम्पनीले केही वर्ष अघि देखि रंगीन जस्तापातालाई समेत आफ्नो उत्पादन सृङ्खलामा समावेश गरेको हो । राजेश ब्राण्डको जस्तापाता नेपाली निर्माण सामग्री बजारमा गुणस्तरीय उत्पादनका रुपमा लोकप्रिय रही आएको कम्पनीले जनाएको छ । सादा तथा रंगीन जस्तापाताका अतिरिक्त राजेश मेटल क्राफ्ट्स् प्रा.लि.ले राजेश जीआई पाइप एवं ब्ल्याक पाइप तथा आरएमसी सिमेन्ट प्रा.लि.बाट गुणस्तरीय सिमेन्टको उत्पादन तथा विक्री–वितरण गर्दै आएको छ । यी सबै उत्पादनहरु निर्माण सामग्री बजारमा सुपरिचित ब्राण्डका रुपमा स्थापित भएका छन् ।