शून्य लागत लागु गर्न कतार सहमत, तर श्रम संझौतामा नखुलाउने !

काठमाडौँ । नेपाली कामदारका लागि प्रमुख गन्तव्यका रुपमा रहेको मध्येपूर्वको देश कतारले नेपाली कामदारका लागि शून्य लागतको व्यवस्था गर्न सहमति जनाएको छ । यससँगै कतारमा नेपाली श्रमिकहरु शून्य लागतमा जान पाउने भएका छन् । कतारमा रोजगारीमा जान अहिलेसम्म नेपाली कामदारले १ लाख बुझाउँदै आएका छन् । नेपाल र कतारका अधिकारीबीच दोहामा भएको छलफलमा कतार श्रमिक भर्ना गर्दाको सबै खर्च व्यहोर्न तयार भएको हो । यधपी यो विषयलाई विस्तुत रुपमा श्रम संझौतामा नै नखुलाउने कतारको प्रस्ताव छ, आजको जनसवाल राष्ट्रिय दैनिकमा समाचार छ ।

नेपाल क्लियरिङ्ग हाउसका सीइओ प्रधानको पदावधि ४ वर्ष थप

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको १२३ औं बैठकले नीलेशमान सिंह प्रधानको सीइओको पदावधि चार वर्षको लागि थप गरेको छ । २०७५ चैत १ गतेदेखि लागु हुने गरी पदावधि चार वर्ष थप गरिएको हो । प्रधान नेपाल क्लियरिङ्ग हाउसमा चैत्र २०६७ देखि कार्यरत छन् । काठमाडौं विश्व विध्यालयबाट बि.ई. र इण्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजिबाट एम.बि.ए गरेका प्रधानको बैंकिङ्ग तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्ष भन्दा बढीको राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव रहेको छ । नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजिको संयुक्त लगानीमा स्थापित नेपाल क्लियरिङ्ग हाउसले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरु स्थापना गर्ने उद्देश्य लिएको छ । कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, कमर्सियल बैंकहरुबाट तीनजना, विकास बैंकहरुबाट एक जना, वित्तीय कम्पनीहरुबाट एक जना र स्मार्ट च्वाइस टेक्नोलोजिबाट एक जनाको प्रतिनिधित्व रहेको छ ।

एनएमबि बैंकका संचालक हरिबाबु न्यौपानेले दिए राजीनामा

काठमाडौं । एनएमबि बैंक लिमिटेडका संचालक हरिबाबु न्यौपानेले राजीनामा दिएका छन् । बैंक संचालक समितिको बैठकले फागुन २९ गतेदेखि लागू हुने गरी संचालक न्यौपानेको राजीनामा स्वीकृत गरेको हो । बैंकमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गरेका संचालक न्यौपानेले गत फागुन २७ गते एक पत्रमार्फत राजीनामा पेश गरेका थिए ।