रोजगार संयोजकः २६८ रिक्त, १० हजारको आवेदन
काठमाडौँ । रिक्त २६८ रोजगार संयोजकका लागि नौ हजार ८७४ दर्खास्त परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ३० गतेदेखि आवेदन माग गरेको थियो । आज अपराह्न ५ बजेसम्म प्रदेश नं १ बाट दुई हजार २५९, प्रदेश नं २ बाट एक हजार ४२२, प्रदेश नं ३ बाट दुई हजार १२०, गण्डकी प्रदेशबाट ६३२, कर्णाली प्रदेशबाट एक हजार ८९७ र सुदूरपश्चिमबाट एक हजार ५४४ जनाको दर्खास्त परेको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ । श्रम मन्त्रालयले १० दिनभित्र प्राप्त दर्खास्तमध्येबाट स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पद सङ्ख्याको तीनगुणा बराबर आवेदकको योग्यताक्रमको प्रारम्भिक सूची प्रकाशन गरिने जनाएको छ । प्रारम्भिक छनोटमा परेको व्यक्तिबाट कम्प्युटर प्रणालीबाट परीक्षा लिइनेछ । परीक्षा उत्तीर्ण हुने रोजगार संयोजकले स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रबाट बेरोजगार व्यक्तिको सूची सङ्कलन गरी उनीहरुलाई रोजगारीको अवसरसँग जोड्ने छन् ।
कोरिया जानेको लर्काे, ३ दिनमै भरे ६२ हजारले फारम
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन परेको छ । शनिबार साँझसम्म ६१ हजार ९७८ जनाले आवेदन फारम भरेको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाका लागि बिहीबार राति १२ बजेदेखि आवेदन फारम भर्न खुला गरिएको थियो । यही चैत १७ गतेसम्म भाषा परीक्षामा सहभागी हुन आवेदन दिन सकिनेछ । कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते हुनेछ भने आगामी असार १३ गते नतिजा प्रकाशन गरिने इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।
कामदार जापान लैजान सोमबार सम्झौता हुँदै, १४ वटा क्षेत्रमा १८ वर्ष पुगेका युवा लैजाने
काठमाडौं । नेपाली कामदार लैजान जापान सरकाले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको हो । एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार मन्त्रालयका अधिकारीहरुले हस्ताक्षर गर्नेछन् । जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी राजदूतले श्रमसचिवसमक्ष पेस गर्ने कायक्रम छ । जापान स्वयंमका लागि विदेशी कामदार लैजाने विषय नयाँ भएकाले कतिपय विषयहरु प्राविधिक कमिटीको कार्यक्षेत्रमा राखेर एमओसी तयार पारिएको छ । कामदारको माग जापानस्थित नेपाली राजदूतावासबाट प्रमाणीकरण भएर सोझै बैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत वैदेशिक रोजगार विभागमा आउनेछ । जापानले विदेशी कामदार लैजान अध्यागमन कानुन परिमार्जन गरी नयाँ भिसाको व्यवस्था गरेको हो । नयाँ भिसा श्रेणीअन्तर्गत आगामी अप्रिलदेखि वृद्धवृद्धाको स्याहारसुसार, कृषि, निर्माणसहितका १४ वटा क्षेत्रमा १८ वर्ष पुगेका करिब ४ लाख विदेशी कामदार जापानले लैजानेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।