कुवेतमा १२५ नेपालीले तलब पाएनन्, काम छाडे

काठमाडौँ । रोजगार करार सम्झौताअनुसार तलब नदिइएको भन्दै कुवेतस्थित इनासको कम्पनीमा कार्यरत १ सय २५ नेपालीले काम रोकेका छन् । नियमित तलब नदिएको, दुर्घटनामा पर्ने कामदारलाई बिमाको सुविधा नदिएको र मोटरसाइकलमा पेट्रोल हाल्ने पैसासमेत नदिएको भन्दै उनीहरूले काम छाडेका हुन् । उनीहरू ुबाइक राइडरु हुन् । उनीहरू अधिकांश स्यारोन म्यानपावर कम्पनीमार्फत कुवेत गएका हुन् । ‘म जनवरी ११ मा कुवेत आएको हुँ । आजसम्म ३९ कुवेती दिनार मात्रै पाएको छु,’ कम्पनीमा कार्यरत मोरङका एकेन्द्र राईले कान्तिपुरलाई भने, ‘हामी जहाँबाट अर्डर आउँछ । त्यहाँ खाना पुर्‍याउने काम गर्ने हो । पछिल्लो समय कम्पनीले तलबसमेत नदिएको मात्र नभई मोटरसाइकल चलाउनसमेत पैसा दिएको छैन । कहाँबाट पेट्रोल हाल्ने पैसा जुटाउने ? कसरी काममा जाने ?’ कामदारहरूले आफूहरूलाई म्यानपावरले सम्झौता गरेर पठाएअनुसार कम्पनीले सेवा सुविधा नदिएको बताए । बाहिर सडकमा मोटरसाइकल कुदाउने काम निकै खतराजनक छ । बिमा कार्ड छैन । कति साथीहरूको त हेल्थ कार्ड र परिचय पत्रसमेत बनाइदिएको छैन, उनले भने, ‘काम गर्न चाहिने न्यूनतम आधार नै बनाइदिएन ।’ कामदारहरूले आफूहरू सामाजिक सेवा गर्न कुवेत नआएको बताए । ‘मैले १ सय २० दिनार पाउने सर्तमा एक लाख ७० हजार रुपैयाँ एजेन्टलाई बुझाएर आएको हुँ । यहाँ पैसा कमाउन आएको हो । कम्पनीको सेवा गर्न होइन,’ राईले भने, ‘पैसा नै नदिने भए किन काम गर्ने ?’ कम्पनीले काम गरेपछि पैसा दिने बताइरहेको नेपाली दूतावासले जनाएको छ । दूतावासले कम्पनीको व्यवस्थापनसँग छलफल गरी विवाद समाधान प्रयास भइरहेको जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सिबिआइएल क्यापिटलको कामु सिइओमा नवराज गिरी नियुक्त

काठमाडौँ । सिबिआइएल क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत नवराज गिरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा नियुक्त भएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत समिर दाहाल मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटडको सहायक प्रमुख कार्यकारी अधिकृतमा पदस्थापना भएका कारण प्रमुख कार्यकारी अधिकृत पद रिक्त हुँदै थियो । समितिको बैशाख १७ गते बसेको बैठकले बैशाख २० गतेदेखि लागु हुने गरी कामु प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा गिरीलाई नियुक्त गरेको हो । सिटिजन्स बैंकको सहायक कम्पनीका रुपमा रहेको सिबिआइएल क्यापिटलमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको लगानी रहेको छ ।

सेञ्चुरी बैंकको अध्यक्षमा पुनः राजेशकुमार श्रेष्ठ चयन

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा राजेशकुमार श्रेष्ठ पुनः चयन भएका छन् । बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक श्रेष्ठलाई पुन: बैंकको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो । श्रेष्ठ ३ वर्षदेखि सेञ्चुरी बैंकको अध्यक्ष पदमा रहेका छन् । बैंकको साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूँजीको २५ बराबरको बोनस शेयर र ४.५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको बैंकले जनाएको छ ।