कतार एयरवेजले माग्यो १६७ जना कर्मचारी, तलब ४५ हजारदेखि १.३० लाख सम्म
काठमाडौं । एसियाको चर्चित विमानसेवा प्रदायक कम्पनी कतार एयरवेजले १६७ जना नेपाली कामदारको माग गरेको छ । न्युनतम ४५ हजार रुपैयाँ देखि १ लाख ३० हजार रुपैयाँ सम्म मासिक तलब प्रस्ताव गर्दै कतारले स्टेवार्ड देखि सहायक प्रशासक सम्मको पदमा सो संख्यामा कर्मचारी माग गरेको हो । रियल रेडियन्टल इनटरनेशलन प्रा.लि. मार्फत लगिने कामदारको भिसा शुल्क हवाई टिकट शुल्क लगायत सम्पूर्ण शुल्कहरु कम्पनीले नै व्यहोर्ने र निःशुल्क खाना सुविधा उपलब्ध गराउने भएको छ ।
अझै २५ हजार कर्मचारी समायोजन हुन बाँकी, कहिलेसम्म हुन्छन् ?
काठमाडौँ । सरकारले समायोजन रोजेका करीब २५ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका जनाएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अझै २५ हजार समायोजन गर्न बाँकी रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । करीब ८७ हजार कर्मचारीमध्ये ७७ हजार कर्मचारीले समायोजन रोजेका थिए । उनका अनुसार अहिलेसम्म समायोजन रोजेकामध्ये ५१ हजार ५६५ कर्मचारी समायोजन भएका छन् । समायोजन भएकामध्ये धेरै जना सङ्घमा भएका छन् । सङ्घमा ४७ हजार ९२० आवश्यक कर्मचारीमध्ये ३४ हजार ३९१ कर्मचारी समायोजन भइसकेका छन् भने बाँकी १३ हजार ५२९ जना रहेका छन् । प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्तिको आधा पनि कर्मचारी समायोजन भएका छैनन् । सरकारले प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्ने गरी नयाँ दरबन्दी सिर्जना गरेको छ तर अहिलेसम्म प्रदेश र स्थानीय तहमा भनेजस्तो कर्मचारी समायोजन हुन सकेका छैनन् । प्रवक्ता अधिकारीका अनुसार प्रदेशमा सात हजार ४८६ र स्थानीय तहमा सात हजार ६६८ कर्मचारी समायोजन गरिएको छ । प्रदेशमा आवश्यकभन्दा तीन गुणा कम र स्थानीय तहमा नौ गुणा कम कर्मचारी समायोजन भएका छन् । यस्तै मन्त्रालयले अन्य कर्मचारीलाई फाजिलमा सङ्घ रहने गरी समायोजन गरेको छ । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याएर गत पुस ११ देखि माघ २ गतेसम्म तीनै तहमा कर्मचारी समायोजन गर्न कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमध्ये एक रोज्न आग्रह गर्दै फाराम भराएको थियो । रासस
सशस्त्र प्रहरीमा ३२ सय ९७ लाई जागिरको अवसर, चैत २५ गतेसम्म आवेदन दिन पाइने
काठमाण्डौँ । सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सशस्त्र प्रहरी जवानको माग गरकेो छ । सशस्त्र प्रहरी बलले ३ हजार २ सय ९७ जवान माग गरेको हो । सशस्त्र प्रहरीले एक सूचना प्रकाशित गरी खुलातर्फ १ हजार ७ सय ७७, महिलातर्फ २ सय ९७, आदिवासी जनतातितर्फ ४ सय ७५, मधेसीतर्फ ४ सय १६, दलिततर्फ २ सय २२, पिछडिएको क्षेत्रतर्फ ७४ र अमर प्रहरीतर्फबाट ३६ प्रहरी जवान माग गरेको हो । सशस्त्र प्रहरी जवानका लागि ८ कक्षा उत्तिर्ण गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यद्यपि १८ वर्ष पूरा भएर २२ वर्ष ननाघेका नेपाली नागरिक मात्रै सशस्त्र प्रहरी जवान पदका लागि योग्य हुनेछन् । इच्छुक व्यक्तिले फागुन २४ गतेदेखि चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।