लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशीलराज पराजुली, आजै लिए सपथ ग्रहण
काठमाडौं । लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशीलराज पराजुली चयन भएका छन् । नवनियुक्त अध्यक्ष पराजुलीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष आइतबार(आज)पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक बमबहादुर मिश्र, का.मु. निर्देशक वीरेन्द्र दत्तअवस्थी, लुम्बिनी विकास बैंकका सञ्चालक प्रविणकृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा तथा कम्पनी सचिवहरिकृष्ण सुवेदीको उपस्थिति रहेको थियो । विकास बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा पराजुलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
३ सय ६० जनाले पूरा गरे इञ्जिनियरिङको पढाई, कलेजले गर्यो बिदाई
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले कलेजमा इन्जिनियरिङ अध्ययन पूरा गरेका तीन सय ६० जना विद्यार्थीलाई राजधानीमा एक कार्यक्रम गरी विदाई गरेको छ । कलेजमा सिभिल, आर्किटेक्चर, कम्प्युटर, इलेक्टिकल, इलेक्टोनिक्समा पढाई पूरा गरेका विद्यार्थीको विदाई गरेको हो । कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष प्रा. दीपक भटराईले कलेजका अध्ययन पूरा गरेर कलेजले विदाई गर्नु भनेको समुद्रमा पौडन सक्ने गरी छोडनु जस्तै भएको बताए । विशाल समुद्रमा अव तपाईँहरुले समुद्रका अन्य जीवजन्तुसँंग संघर्ष गरेर अगाडि वढ्नुपर्छ, उनले भने, जुन संघर्ष कक्षाकोठाको संघर्ष भन्दा अझ वढी चुनौतीपूर्ण हुन्छ । कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले पढाईका साथै व्यवहार पनि उतिकै राम्रो हुनुपर्ने खाँंचो औंल्याए । नलेज इज समथिंग, आटिट्युट इज मोर थिंग (ज्ञान केही हो, व्यवहार धेरै ठूलो कुरा हों) उनले भने । कलेजका उपप्राचार्य दीपक धामीले एसईई, प्लस टु, स्नातक, स्नातकोतर तह जति चुनौतीपूर्ण छ त्यो भन्दा वढी चुनौतीपूर्ण जीवन संघर्ष भएको बताए । सम्वन्धित विभाग (सिभिल, आर्किटेक्चर, कम्प्युटर, इलेक्टिकल, इलेक्टोनिक्स)को संयुक्त आयोजनामा भएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । साथै विषयगत रुपमा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो ।
नेपाल इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दुई जना नियुक्त भएको छ । कम्पनीको सञ्चालकमा नेपाल बैंकको संस्थापक समुह तर्फबाट लक्ष्मण पौडेल र सर्वसाधरण सेयरधनी समूहको तर्फबाट विष्णुबहादुर जि.सी नियुक्त भएका छन् । फागुन १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले कम्पनी सञ्चालकमा दुई जनालाई नियुक्त गरेको हो ।