प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभाव झापामा, औजार बोकेर गाउँगाउँमा युवा

काठमाडौं । नेपालमा पहिलोपल्ट बेरोजगारहरुलाई ‘कामका लागि पारिश्रमिक’ दिने गरी शुरु गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को प्रभाव झापामा देखिएको छ । पहेँलो हेल्मेट र ज्याकेट लगाएका युवाहरु औजार बोकेर निर्माणका काममा खटिँदा गाउँगाउँमा विकासको जागरण फैलिएको छ । झापामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारप्राप्त जनशक्तिलाई विद्यालयको रङरोगन, धार्मिक पर्यटकीयस्थलको सरसफाइ लगायतका काममा परिचालन गरिएको छ । जिल्लाका १५ स्थानीय तहमध्ये आठ नगरपालिका र छ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यस वर्ष दुई हजार ७ सय ५३ ले रोजगारी प्राप्त गरेका छ, भने गौरीगञ्ज गाउँपालिकाले भने तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ । झापाका आठ नगरपालिकामध्ये सबैभन्दा सानो कनकाईले सबैभन्दा धेरै ९ सय ४६ लाई रोजगारी प्रदान गरेको छ । रोजगारीका लागि आवश्यक मापदण्ड पूरा गरी निवेदन दिन आएका कसैलाई पनि रोजगारी पाउने हकबाट वञ्चित नगरिएको नगरका प्रमुख राजेन्द्रकुमार पोखरेल बताए। कनकाई नगरपालिकाले कोटीहोम, धनुष कोटीधाम लगायतका धार्मिक पर्यटकीय स्थलमा सरसफाइ, टहरा निर्माण, वृक्षरोपण लगायतका काममा उनीहरुलाई परिचालन गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिए । झापाको सात गाउँपालिकामध्ये बुद्धशान्तिले सबैभन्दा बढी १४० लाई रोजगारी प्रदान गरेको छ । १४० जनालाई रोजगारी उत्पादन बुद्धशान्ति गाउँपालिकाले सरकारले तोकिएको दैनिक ज्याला रु ५ सय १७ मा गाउँपालिकाका तर्फबाट रु ५० थपेर ज्याला प्रदान गरेको अध्यक्ष रमेश भुजेल बताए । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले स्थानीय १७ सामुदायिक विद्यालयमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रङरोगनकार्य धमाधम भइरहेको जानकारी दिए । रङरोगन सकेपछि उनीहरुलाई हुलाकी राजमार्गको दुवै किनारमा वृक्षरोपण गर्न लगाउने योजना रहेको बताए । कमल गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएकालाई नदी कटान रोक्ने बाँध निर्माणमा खटाएको छ । गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले उनीहरुलाई गाउँपालिका कार्यालयको पर्खाल र रिङरोड लगायतका सार्थक निर्माण काममा लगाइएको बताए। झापाका नगरपालिकामा, कनकाईमा ९ सय ४६, मेचीनगरमा २ सय ५२, अर्जुनधारामा २७०, भद्रपुरमा १ सय ४९, विर्तामोडमा १ सय ८९, शिवसताक्षीमा १ सय ४४, गौरादहमा १ सय २५ र दमक नगरपालिकामा १ सय ७६ ले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएका छन् । गाउँपालिकामा बुद्धशान्तिमा १ सय ४०, बाह्रदशीमा ७२, कमलमा ८३, कचनकवलमा ८३, हल्दिबारीमा ६२ र झापामा ६२ ले रोजगारी पाएका छन् । राज्यको ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले निकै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले रोजगारी पाउनेमा आधाभन्दा बढी महिला भएको बताए । आर्थिक वर्षको अन्त्यतिर मात्र कार्यक्रम लागू भएता पनि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी पाउँदा बेरोजगारहरु उत्साहित भएको मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टीकाराम मग्राती भने । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरेको छ भने कतै रोजगारी नपाएकाहरुले वडा कार्यालयमार्फत आ–आफ्नो नगर तथा गाउँपालिकामा बेरोजगारको सूचीमा नाम दर्ता गराएका छन् । बेरोजगारले निवेदन दर्ता गर्दा नै काम रोज्न पाउने व्यवस्था मिलाइएको कनकाई नगरपालिकाका रोजगार संयोजक सरोज मैनाली बताए। रोजगार पाउनेहरुले दैनिक रु ५ सय १७ ज्याला पाउने सरकारी व्यवस्था रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि गाउँ तथा नगरका भित्री कच्ची सडक र पर्यटकीय तथा सार्वजनिकस्थलमा रहेको झाडी–फोहर सरसफाइ भएकाले चिटिक्क देखिन थालेका छन् । रासस

आशा राणा अधिकारी सनराइज बैंकको कामु सीइओमा बढुवा

काठमाडौं । आशा राणा अधिकारी सनराइज बैंक लिमिटेडको कामु सीईओमा बढुवा भएकी छिन् । बैंकको गत जेठ २२ गतेको बैठकले अधिकारीलाई कामु सीईओमा बढुवा गर्ने निर्णय  गरेको हो । साथै निजले हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालेकि छिन् । विगत ३१ वर्षदेखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहेकी अधिकारी सनराइज बैंकमा, बैंकको स्थापना कालदेखि नै कार्यरत थिइन् । सनराइज बैंकमा आउनु अघि उनले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढी काम गरिसकेकी छिन् ।

नेपाल र मलेसियाबीच श्रम साझेदारी कार्यान्वयन गर्ने विषयमा छलफल

काठमाडौं । नेपाल र मलेसिया श्रम साझेदारी कार्यान्वयनमा लैजाने विषय छलफल भएको छ । अन्तर्राष्टिय श्रम सम्मेलनमा सहभागि हुने क्रममा स्विटजरल्याण्डमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दहालले मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनसँग सो विषय छलफल भएको बताएका छन् । मंगलबार साँझ भएको भेटका क्रममा दुइ देशबीचको श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भयो । नेपालको प्रतिनिधी मण्डलमा रहेका मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए । नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंगाउने गरि छलफल केन्द्रित भएका हुन् । त्यसका लागि एक महिना भित्रै दुवै देशको संयुक्त प्राविधिक समितीको बैठक बस्ने र छलफलमा दुवै देशले अहिले सम्म गरेका तयारीका बारेमा जानकारी गराएका दिएका छन् ।