नवीकरण नगर्ने १० म्यानपावर खारेज

काठमाडौं । समयमा नवीकरण नगर्ने १० ओटा म्यानपावरको दर्ता खारेज गरिएको छ । बैदेशिक रोजगार विभागले इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी स्टामफार्ड ब्रिज इन्टरनेशनल, ध्वनी इन्टरनेशनल, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट, प्रिसाइस इन्टरनेशनल, इनोभेटिभ सर्भिस, रिक्रियशन इन्टरनेशनल, प्रसिद्ध ओभरसिज, वल्र्ड फस्र्ट जब प्लेसमेन्ट र निजम ओभरसिजको दर्ता खारेज गरेको विभागले जनाएको छ । विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले नियमानुसार आफ्नो वार्षिक विवरण पेश गरी आवश्यक शुल्क बुझाएर म्यानपावर कम्पनीहरुले आफ्नो इजाजतपत्र नवीकरण नगरेपछि नियमानुसार ती कम्पनीहरुको दर्ता खारेज गरिएको जानकारी दिए । दर्ता खारेजीसँगै ती म्यानपावरहरुको नामबाट वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि प्रक्रिया अघि बढ्न नसक्ने गुरागाईँले बताए ।

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल नियुक्त

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल नियुक्त भएका छन् । सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्दै आएका दाहाल बैशाख २० गतेबाट लागु हुने गरी बैंककाे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । १६ वर्षअघि बैंकिङ्ग करियर थालेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन् । ६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा बैंकसंग आबद्ध भएका दाहाल यसअघि बैंकको भगिनी संस्था सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । उनले वित्त तथा योजना तर्जुमा विभाग, आईटी, संचालन विभाग, कर्जा प्रशासन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपुर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको छ । हाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन् ।

आङ देण्डी शेर्पा घरेलु लघुवित्तको अध्यक्षमा चयन

काठमाडौँ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीहरुको बाट मनोनित सञ्चालन आङ देण्डी शेर्पा सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् । नव नियुक्त अध्यक्ष शेर्पाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीइ संस्था नियमन विभागका कामु निर्देशक बमबहादुर मिश्र समक्ष सपथ ग्रहण गरे । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाका नियमन विभागका निर्देशक नरेन्द्रसिंह विष्ट, कामु निर्देशक वीरन्द्र दत्त अवस्थी, उपनिर्देशक पञ्चलक्ष्मी मानन्धर, सहायक निर्देशक महेशकुमार जोशीका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद अधिकारी तथा अधिकृत प्रदीपकुमार घिमिरेको उपस्थिति रहेको थियो ।