विद्युत प्राधिकरणले माग्यो ६५४ जना कर्मचारी, एसइईमा सी ग्रेड ल्याउनले पनि आवेदन दिन पाउने
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ६५४ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले अधिकृत स्तर(१० तह) देखि जुनियर टेक्निसियन(तह ३) सम्म कर्मचारी माग गरेको हो । विभिन्न तह र सेवा समूहमा रिक्त पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको प्राधिकरणले जनाएको छ । असार १३ गतेदेखि २१ दिन भित्र अर्थात साउन २ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर साउन ९ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्राविधिक र प्रशासन सेवा समूहमा कर्मचारी माग गरेको छ । विभिन्न सेवा समूह/उपसमूहका अधिकृत स्तर(७ तहदेखि १० तहसम्म) का १११ जना, सहायक स्तर मिटर रिडिङ सुपरभाइजर(प्रशासन) ४२ जना, लेखापाल ३६ जना, सुपरभाइजर(५ तह, प्राविधिक) ८५ जना, सिनियर मिटर रिडर(४ तह) ६७ जना, सहायक लेखापाल ५१ जना, फोरमेन(इलेक्टिकल, मेकानिकल, सिभिल) ११९ जना, इलेक्ट्रिसियन(३ तह) १३४ जना, जुनियर मिस्त्री ७ जना र जुनियर टेक्निसियन २ जना माग गरेको हो । अधिकृत स्तर १० तहको लागि २०००, ९ र ८ तहको लागि १५००, ७ तहको लागि १२०० रुपैयाँ परीक्षा दस्तुर बुझाउनु पर्नेछ भने सहायक स्तर तह ५ को लागि ८००, तह ३ र ४ को लागि ६०० दस्तुर बुझाउनु पर्ने जनाइएको छ । अधिकृत स्तरका सबै र काठमाडौँ क्षेत्रका सहायकस्तरका दरखास्त फारम नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुरमा बुझाउनु पर्नेछ । अन्य क्षेत्रको सहायक स्तरका पदहरुमा सम्बन्धित क्षेत्रीय कार्यालयहरु क्रमशः विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरिया मै आवेदन दिनु पर्ने प्राधिकरणले जनाइएको छ । सम्बन्धित पदमा आवश्यक योग्यताका आधारमा स्नातकोत्तरदेखि प्राविधिक एसएलसी उत्तीर्ण वा प्राविधिक एसइईमा कम्तीमा सी प्लस ग्रेड ल्याएकाले आवेदन दिन सक्नेछन् ।
सरिता भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा
काठमाडौं । सरिता भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी छिन् । नेपाल राष्ट्र बैंकको बुधबार बसेको बोर्ड बैठकले भट्टलाई कार्यकारी निर्देशकमा बढुवा गरेको राष्ट्र बैंकले जनाएको छ । वि.सं. २०४६ साल पुसमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेकी भट्ट यसअघि विदेशी विनिमय विभागमै निर्देशकको रुपमा कार्यरत थिइन् । कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाको अनिवार्य अवकाशपछि उनी सोही विभागमा कामू कार्यकारी निर्देशकको रुपमा रहेकोमा हाल उनलाई सोही विभागमा कार्यकारी निर्देशकको पूर्ण जिम्मेवारी दिइएको हो । नेपाल राष्ट्र बैंकमा रहँदा बैंकिङ कार्यालय तथा लघुवित्त सुपरीवेक्षण, बैंक सुपरीवेक्षण, विकास बैंक सुपरीवेक्षण तथा विदेशी मुद्रा विनिमय विभागमा लामो समय काम गरेको अनुभव छ । स्थायी ठेगाना काठमाडौं रहेकी कार्यकारी निर्देशक भट्टले व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको उपाधि हासिल गरेकी छन् । हालको व्यवस्थाअनुसार उनको कार्यकाल यही पुससम्म मात्रै रहनेछ ।
इलाममा चिया परीक्षण भवन बन्ने, रु २६ करोडको लागतमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ । मुलुकमै पहिलो पटक चियाको गुणस्तर सुधार गर्न यहाँको सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने भएको हो । यसरी, दुई वर्षभित्र सम्पन्न हुने केन्द्रको बहुतले भवन निर्माणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा रु पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । सो कार्यमा साझेदारी गर्न आवश्यक बजेट विनियोजन गर्ने सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए ।“चिया परीक्षण केन्द्र बनाउन प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ”, उनले भने, “प्रदेश सरकारसँग हामीले साझेदारी गर्नुपर्ने आवश्यक रकम हामी विनियोजन गर्छौं ।” रु २६ करोडको लागतमा निर्माण हुने उक्त केन्द्रको भवनका लागि प्रदेश सरकारको ८० र नगरपालिकाको २० प्रतिशत साझेदारी हुनेछ । परीक्षण केन्द्र निर्माण भएपछि इलामको अर्थोडक्स चियाको बजार प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास चियाको किसानको छ ।परीक्षण केन्द्रको विस्तृत परियोजना प्रतिवेदन र डिजाइन स्टिमेट तयार भइसकेकाले निर्धारित मितिभित्र नै निर्माण सकिने नगरप्रमुख राईले बताएका छन् । यहाँ निर्माण हुन लागेको चिया परीक्षण भवनमा चियाको प्राङ्गारिक परीक्षणसमेत गरिने जनाइएको छ । धेरै झञ्झट गरेर ठूलो मूल्यमा विदेश लगेर चियाको प्राङ्गारिक परीक्षण गर्ने काम पनि यो भवन निर्माणपछि अन्त्य हुने भएको छ । सर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईका अनुसार प्राङ्गारिक परीक्षणको सबै प्रक्रिया यहीँ गरिने र अन्तिम नतिजाका लागि मात्र विदेश पठाइनेछ । योसँगै यहाँ चियाको सूचना केन्द्रसमेत निर्माण गरिने छ । यसरी, चियासम्बन्धी जानकारीमूलक विषयको सोधखोजका लागि यहाँ सूचना केन्द्र निर्माण गर्न लागिएको हो । चिया व्यवसायी सोमन योल्मोले बहुउपयोगी प्रयोगका लागि निर्माण हुने यो भवन चियाको बजारीकरणमा देखिएको समस्या हल हुनसक्ने बताए । रासस