प्राइम बैंककोे अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ

काठमाडौं । प्राइम कमर्शियल बैंकको संचालक समितिको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ चयन भएका छन् । जेठ २७ गते बसेको बैंक संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । बैंकको गत जेठ २६ गते सम्पन्न ११औ बार्षिक साधारण सभाले संस्थापक समुहबाट राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदय मोहन श्रेष्ठ निर्विरोध निर्वाचित गरेको थियो । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध रुपमा निर्वाचित भएका थिए ।

यूनिभर्सल पावरको अध्यक्षमा प्रभुलाल अधिकारी, प्रबन्ध सञ्चालकमा खड्का

काठमाडौं । यूनिभर्सल पावर कम्पनीको अध्यक्षमा प्रभुलाल अधिकारी चयन भएका छन् । कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक अधिकारीलाई कम्पनीको अध्यक्ष पदमा सर्वसहमत चयन गरेको हो । साथै, नवनियुक्त अध्यक्ष अधिकारीको प्रस्तावमा सञ्चालक भोजकुमार खड्कालाई कम्पनीको प्रबन्ध सञ्चालकमा सर्वसहमत चयन गरेको छ ।

सहयोगि विकास बैंकको कामु सीईओमा सुन्दर खड्का, बैंकिङ क्षेत्रमा ३० वर्ष बढीको अनुभव

काठमाडौं । सहयोगि विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा सुन्दर खड्का नियुक्त भएका छन् । गत जेठ २२ गते बसेको विकास बैंकको सञ्चालक समितिको बैठकले खड्कालाई संस्थाको कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको सीईओ पदको कार्यभार विनय रिजालले सम्हालेका थिए । उनले जेठ २६ गतेदेखि लागू हुने गरी उक्त पदबाट राजिनामा दिएका थिए । सोही रिक्त हुन आएको सीईओ पदमा संस्थाले जेठ २६ गतेदेखि लागू हुने गरी कामु सीईओको रुपमा खड्कालाई नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्का नागरिक लघुवित्त वित्तीय संस्थाको पूर्व एमडी र अरनिको डेभलमपेन्ट बैंकको पूर्व डीसीईओ थिए । त्यस्तै, बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव रहेका खड्का सूर्य डेभलपमेन्ट बैंकमा पूर्व सीईओको रुपमा कार्यरत थिए ।