इन्जिनियरिंगका विद्यार्थीद्धारा विभिन्न प्रविधिको विकास
काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा विभिन्न विषयमा अध्ययनरत विद्यार्थीले विभिन्न नयाँ प्रविधिको विकास गरेका छन् । कलेजमा इलेक्ट्रोनिक्स चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू बिनिता भट्टराई, संदिपराज घिमिरे र रेजिना विष्ट सम्मिलित समूहले आवाजबाटै घरायसी विद्युतीय उपकरणहरू अन अफ गर्न सकिने प्रविधिको विकास गरेका थिए । आई.ओ.टी. बेष्ड होम अटोेमेशन नाम दिईएको सो प्रविधिको प्रयोगले मोवाइल फोनबाट गुगल असिष्टेन्टको सहायतामा विद्युतीय उपकरणहरू जस्तै बल्व, फ्यान टाढैबाट अन अफ गर्न सकिने जनाइएको छ । यसरी, इलेक्ट्रोनिक्स चौथो सेमेस्टरमा अध्ययनरत अर्का विद्यार्थीहरू सरोज चौधरी, हिमाल दाहाल, निश्चल राई तथा चन्द्र प्रकाश रावल सम्मिलित समूहले आफ्नो परिधिभित्र आएका बस्तुहरुको वास्तविक स्थान, कोण र सापेक्षिक आकारको जानकारी दिन सक्ने प्रविधिको विकाश गरेका छन् । सोलार मनिटरिङ्ग सिस्टम नामक उक्त प्रविधिको प्रयोगले सुरक्षाको चुनौतिलाई हल गर्न मद्दत गर्दछ । यसैगरी, कलेजमै अध्ययनरत विद्यार्थीहरू आशिष यादव, अनिल तिरुवा, सिदार्थ यादव र वाहिद मियाँहरूले ठूलाठूला कारखानाहरूमा सामान ओसारपोसार तथा अस्पतालको सरसफाईको कार्य गर्न सक्ने लाईन फलोइङ रोवोट बनाएका थिए । यस्तै इलेक्ट्रोनिक्स दोस्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरू अनिलकुमार यादव, आनन्द कुमार यादव र बलराम रायले लर्न ‘ए टु जेड’ नामक कम्प्युटर सफ्टवेर बनाएका थिए । यसद्वारा बच्चाहरूले सजिलै श्रव्य तथा दृष्यका माध्यमबाट अंग्रजी बर्ण तथा शब्दहरू सिक्न सक्दछन् । उक्त कार्यक्रम चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र तथा कलेजका संस्थापक अध्यक्ष प्रा. डा. दीपकप्रसाद भट्टराईबाट संयुक्त रूपमा गरिएको थियो । कलेजमा विभिन्न सेमेष्टरहरुमा अध्ययनरत विद्यार्थीहरुले आफूले सिकेको ज्ञान प्रदर्शनीको रुपमा प्रोजेक्ट इक्जिविशनको रुपमा कार्यक्रम गरेको कलेजका कार्यबाहक प्राचार्य दीपक धामीले बताएका हुन् । २०१४ देखि वर्ष विराएर यस्तो कार्यक्रम गर्दै आएको नेपाल इन्जिनियरिंग कलेज इलेक्टोनिक्स एण्ड कम्युनिकेशनका प्रोजेक्ट म्यानेजर एवं एक्जिविशन कोअर्डिनेटर सचिन श्रेष्ठले जनाएका छन् ।
वैदेशिक रोजगारीको नाममा ठगी, अढाई लाखदेखि चार लाखसम्म उठाएर भरत र भोपाल फरार
गाईघाट । वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिएका छन् । जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालिका जाँतेका भोपाल थापाले जिल्लाका साउने, खाबु, त्रियुगा नगरपालिका, जाँते, लाफागाउँ, चुहाडे क्षेत्रका तीन दर्जन युवालाई विदेश पठाइदिने भन्दै करोडौँ रकम असुलेर बेपत्ता भएपछि आफूहरु ठगिन पुगेको पीडित युवाको गुनासो रहेको छ । जिल्लाका पीडितमध्येका हरिबहादुर कार्कीका अनुसार कसैलाई युरोप, कसैलाई दुबई र अफगानिस्थान पठाइदिने भनेर आफूहरुबाट रु अढाइ लाखदेखि चार लाखसम्म रकम उठाएर मगर र थापा अहिले सम्पर्कविहीन भएका छन् । अर्का पीडित अमृत आलेमगरले काठमाडौँस्थित सिनामङ्गलमा रहेको भेरी ओभरसिज मार्फत आफूहरुलाई विदेश पठाइदिने भन्दै आफूहरुबाट रकम असुलेर उनीहरु अहिले सम्पर्कविहीन भएको कारण आफूहरुको रकम डुबेको बताए । केही पीडित युवाले न्यायको लागि जिल्ला प्रशासन उदयपुरमा समेत निवेदन दिएको र आफूहरुलाई ठगी गर्नेविरुद्ध कारवाहीको लागि निवेदन दिएको बताउँछन् । यस विषयमा उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का भन्नुहुन्छ, “केही युवा आफूहरु ठगिएको गुनासो लिएर प्रशासनमा आएको तर पठाउने कम्पनी आधिकारिक हो कि हैन, ती पठाउने व्यक्ति सम्बन्धित कम्पनीका हुन् कि हैनन भनेर बुझ्न र आधिकारिकता र कारवाहीका लागि क्षेत्रीय श्रम कार्यालय विराटनगरमा जान सुझाव दिएको छु ।” पीडित युवामा जिल्लाका विभिन्न स्थानका इन्द्र मगर, रामबहादुर मगर, गोविन्द मगर, सुपबहादुर मगर, अम्बर रिमाल, अमृत आले, हरिबहादुर कार्की, डम्बर मगर रहेका छन् । त्यसैगरी राजेश श्रेष्ठ, पूर्णथापा मगर, रामकुमार मगर, खगेन्द्र मगर, बमहादुर राईसहित तीन दर्जन युवा वैदेशिक रोजगारी पठाइदिने नाममा दलालबाट ठगिन पुगेको पीडितले बताएका छन् । विदेश पठाइदिने भन्दै पटक–पटक सबैबाट रु चार लाखसम्म रकम सङ्कलन गरेर अब तयारी रहनु भनेर उनीहरु हाल मोबाइलसमेत स्विचअफ गरेर बेपत्ता भएपछि आफूहरु ठगिएका रहेछौँ भनेर जानकारी भएको पीडित युवाले बताएका छन् । रासस
सिबिआईएल क्यापिटलको अध्यक्षमा समिर दाहाल, सिईओमा नवराज गिरी नियुक्त
काठमाडौँ । सिबिआईएल क्यापिटल लिमिटेडको अध्यक्षमा समिरप्रसाद दाहाल नियुक्त भएका छन् । मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनल लिको तर्फबाट मनोनित भई अध्यक्ष रहेका बोधराज देवकोटाले व्यक्तिगत कारण देखाई राजीनामा दिएपछि अध्यक्ष पद खाली रहेको थियो । रिक्त अध्यक्ष पदमा साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिरप्रसाद दाहाललाई बाँकी अवधिसम्मको लागि अध्यक्षमा नियुक्त गरेको कम्पनीका सिईओ नवराज गिरीले जनाएका छन् । यसैबीच, सिबिआईएल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा नवराज गिरी नियुक्त भएका छन् । बैशाख १ गतेदेखि कामु सिइओका रुपमा कार्यरत गिरीलाई साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि नै लागू हुने गरी सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । दुई दशक भन्दा बढी हिमालयन बैंक लिमिटेडमा विभिन्न शाखा प्रमुखका रुपमा र विभिन्न विभागमा विभागीय प्रमुखका रुपमा साथै उच्च व्यवस्थापनमा रही लामो अनुभव बटुलेका गिरी मार्केटिङ, जनसम्पर्क, बैंकिङ अपरेशन, जोखिम व्यवस्थापन तथा कर्जा व्यवस्थापनमा विशेष दख्खल राख्छन् ।