नेको इन्स्योरेन्सको सिईओमा अशोककुमार खड्का,‘अनलाइनबाट बीमा पोलिसी किन्न सक्ने बनाउँछु’

काठमाडौं । नेको इन्स्योेरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा अशोककुमार खड्का नियुक्त भएका छन् । खड्का यसअघि सोही कम्पनीको डेपुटी सिईओको रुपमा कार्यरत रहेका थिए । उनको कार्यकाल ४ वर्षको लागि तोकिएको छ । उनलाई बुधबारदेखि सिईआको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो । साढे तीन वर्षदेखि नेको इन्स्योरेन्स डेपुटी सिईओको पद सम्हाल्दै आएका खड्काले आफ्नो बीमा बजारलाई डिजिटाइजेशन गर्ने बताए । ‘आम उपभोक्ताले घरमै बसेर बीमा पोलिसी किन्न सक्ने वातावरण बनाउने छु,’ उनले भने- ‘ मेरो प्राथमिकता भनेकै बीमा बजारलाई डिजिटाइजेशन गर्नु हो ।’ साथै नयाँ/नयाँ पोलिसी ल्याएर आम जनमानसलाई सेवा दिने छु ।’ निर्जीवन बीमा क्षेत्रको पहुँच विस्तार गर्न नयाँ क्षेत्रमा प्रवेश गर्ने समेत उनको योजना छ । उनले सरकारले लिएको नीति बमोजिम मर्जर प्रक्रियालाई अघि बढाउने योजना सुनाए । ‘नेको अन्य कम्पनीसँग गएर गाभिदैन,’ उनले भने-‘हामी अन्य कम्पनीलाई गाभ्ने छौं । सरकारले लिएको नीतिलाई सघाउन म सधै अग्रसर रहने छु ।’ वि.सं २०५० सालमा तत्कालिन इन्डोसिज बैंक, हालको नेपाल इन्भेष्टमेन्ट बैंक(एनआईबीएल) मा असिटेन्टबाट बैंकिङ करियर शुरु गरेका खड्काले १२ वर्ष सोही बैंकमा काम गरे ।अधिकृतमा काम गर्दै गर्दा एनआईबीएल छाडेका उनले त्यसपछि प्राइम कमर्सियल बैंकमा असिस्टेन्ट म्यानेजरको रुपमा प्रवेश गरेका हुन् । प्राइममा साढे दुई वर्ष काम गरेपछि खड्का स्टाण्डर्ड फाइनान्समा डिजीएम भए । स्टाण्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा मर्ज भएपछि त्यहाँ खड्का चिफ म्यानेजर थिए । २०७१ सालमा सल्लाहकार बनेर नेको इन्स्योरेन्स प्रवेश गरेका खड्काले डेढ वर्ष सोही पदमा रहेर कार्य सम्पादन गरे । त्यस यता उनी डेपुटी सिइओ थिए । हाल नेको इन्स्योरन्सको चुक्ता पुँजी एक अर्ब १७ करोड रहेको छ भने कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस दिने निर्णय गरिसकेको छ । उक्त कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ४८३ रुपैयाँ रहेको छ ।

नवलपरासीका ७० उद्योग खारेज, बढी पर्यटन उद्योग

परासी । घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगलाई आर्थिक वर्ष २०७५/०७६ मा खारेज गरेको छ । खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन उद्योग छन् । कार्यालयले दिएको जानकारीअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३ सेवामूलक, ११ उत्पादमूलक, १० कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन् । औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ तर अहिले खारेज भएका उद्योग उद्योगी स्वयंको आग्रहमा खारेज गरिएको कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले बताएका छन् । कार्यालयका अनुसार गत एक वर्षको अवधिमा जिल्लामा एक हजार ७५ लघु तथा साना उद्योग पनि थपिएका छन् । कच्चा पदार्थ उपलब्ध हुने भएकाले ती उद्योगतर्फ लगानीकर्ता आकर्षित देखिएको कार्यालयले जनाएको छ । पछिल्लो समय औद्योगिक वातावरण बन्दै जानुका साथै सानो पूँजीबाट राम्रो आम्दानी हुने गरेपछि जिल्लामा साना उद्योगको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख भुसालले जानकारी दिए । विशेषगरी लगानीको वातावरण जिल्लामा राम्रो रहेको र विदेशबाट फर्किने धेरैले साना उद्योगमा लगानी गर्न थालेका छन् । थोरै लगानीबाट आम्दानी पनि राम्रै हुने भएकाले यसतर्फ आकर्षण बढेको देखिन्छ । भुसालका अनुसार हाल जिल्लामा १०७ लघु उद्योग र छ हजार ६११ साना उद्योगसहित कूल छ हजार ६४८ साना उद्योग सञ्चालनमा छन् । गत आवमा दर्ता भएका उद्योगमा चार हजार ५८२ ले रोजगारी पाएका छन् । रासस

सामूहिक तरकारी खेती गर्दै बेराेजगार युवाहरू

पाल्पा । सामूहिक तरकारीखेतीमा जिल्लाका बेरोजगार युवाले रोजगारी पाउन थालेका छन् । तानसेन नगरपालिका–७, प्रभाषमा सामूहिक तरकारीखेतीमा १३ युवाले रोजगारी पाएका हुन् । उनीहरूले जनही मासिक रु नौ हजार पारिश्रमिक पाउँछन् । सामूहिक तरकारी खेतीका लागि केही युवाले ४० रोपनी जग्गा भाडामा लिएबापत वार्षिक रु ८० हजार जग्गाधनीलाई तिर्नेगरी व्यावसायिक तरकारी उत्पादनमा जुटेका हुन् । विसं २०७५ माघ महिनादेखि सञ्चालित सामूहिक तरकारीखेती यस क्षेत्रकै नमूना व्यवसायका रुपमा परिचित छ । तानसेनस्थित तरकारी जोन सञ्चालन समितिका नौ युुवाको सक्रियतामा प्रभाषमा बाँझो जमिनमा व्यावसायिक तरकारी उत्पादन गर्दै आइएको उक्त समितिका सहसंयोजक ठाकुरध्वज कार्कीले बताए । बाँझो २० रोपनी जमिनमा दुई टमाटरका बिरुवा, पाँच रोपनीमा काँक्रो तथा सिमी र पाँच रोपनी जग्गामा करेला उत्पादन गरी वार्षिक रु चार लाख, ८५ हजार ९०४ को कारोवार गर्न सफल भएको उनको भनाइ थियो । पहिलो वर्ष व्यावसायिक तरकारी खेती गर्दा अनुभवको अभावका साथै असिनापानीले बाली नोक्सानी गर्दा सोचेजस्तो उत्पादन हुन सकेको थिएन । लामो खडेरी, सिँचाइको अभाव र उत्पादनका लागि पूर्वाधार निर्माणले व्यावसायिक तरकारीखेतीका लागि चुनौती थपिएको उनीहरूको भनाइ थियो । तरकारी खेतीमा नवीनतम प्रविधिको प्रयोग, थोपा सिँचाइ र मल्ङ्गि टनेलमा उत्पादित तरकारी पर्यावरणीय सन्तुलनमा आधारित छ । विषादीको प्रयोग कम, जैविक विषादी तथा पासोको प्रयोग गरी किरा नियन्त्रण गर्दा यहाँ उत्पादित तरकारीको बजार माग राम्रो रहेको व्यवस्थापक धु्रवराज भण्डारीको भनाइ थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइको रू सात लाखको सहयोगमा शुरु भएको सामूहिक तरकारीखेतीबाट रु १५ लाख ४२ हजार २९० बराबरको कारोबार हुँदै आएको छ । उक्त एकाइले जिल्लाको ७६० हेक्टर जमिनमा तरकारी बाली उत्पादनका लागि सहयोग पुर्याउँदै आएको छ । तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकामा यो परिचयोजना सञ्चालित छ । रासस