खारेजीमा परेर पनि वैदेशिक रोजगारीका नाममा ठगी गर्ने संस्थाको कार्यालयमा विभागको सिलबन्दी

काठमाडाैं । विगतमा वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था बमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका संस्थाहरुलाई वैदेशिक रोजगार विभागले गत भदाै २९ मा सूचना प्रकाशित गरी दिएको निर्देशन विपरित त्यस्ता कतिपय संस्थाले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको फेला परेको छ। चप्पलकारखाना स्थित सि-लिंक ओभरसिज सर्भिसेस प्रा. लि. को इजाजतपत्र स्वतः रद्द भएको भएतापनि हालसम्म पनि सक्कल राहदानी र रकम फिर्ता नगरेकाले राहदानी र क्षतिपूर्ति रकम दिलाईपाउ भनी निमिका शेर्पा समेत ७ जनाले दिएको उजुरीको सम्वन्धमा विभागले कार्तिक ४ गते उक्त स्थानमा आकस्मिक अनुगमन टोली खटाएको थियो। अनुगमन टोली विगतमा सि-लिंकको कार्यालय रहेको भवनमा पुग्दा करिव ७०/८० जना व्यक्तिहरु सि-लिंकलाई बुझाएको राहदानी र रकम फिर्ता पाउने आशमा सि-लिंकको भवन परिसरमा कुरिरहेको पाइएको थियो। तर उक्त सि-लिंकले विभागको निर्देशन विपरित हालपनि कार्यालय खडा गरी वैदेशिक रोजगारमा पठाईदिने भनी व्यक्तिहरुसँग रकम र राहदानी संकलन गरिरहेको अनुगमन टोलीको प्रारम्भिक अनुसन्धानमा फेला परेको छ। अनुगमन टोली आएको थाहा पाएपछि सि-लिंकको संचालक भनिएका अनिस सुन्दास भन्ने व्यक्ति सम्पर्कविहिन  भएको हुँदा सि-लिंकमा रहेका राहदानी र व्यक्तिहरुले रकम बुझाएको प्रमाण भएका कागजातहरु सुरक्षित गर्नको लागि घर धनी ,पत्राकार र सुरक्षाकर्मीको रोहवरमा सि-लिंक रहेकको घरलाई सिलवन्दी गरिएको छ। यस भन्दा अघि पनि भदौ २४ गते वौद्ध प्रहरीले उक्त सि-लिंकले संकलन गरेका करिव १५० जना व्यक्तिहरुको राहदानी सहित सि-लिंकका कर्मचारीलाई बाैद्ध क्षेत्रवाट नियन्त्रणमा लिई वैदेशिक रोजगार विभागमा मानिस सहित राहदानी वुझाएको थियो जसको हाल विभागले विस्तृत अनुसन्धान गरिरहेको छ भने फरार संचालक बिरुद्ध विभागले कानूनी कारवाही अघि बढाएको छ। पछिल्लो समय धरौटी थप गर्न नसकी खारेजीमामा परेका कतिपय म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भनी सोझासाझा व्यक्तिहरुलाई झुक्याई राहदानी र रकम बुझ्ने काम गरिरहेको भन्ने मौखिक गुनासो प्राप्त भएको छ। त्यस्तो कार्य गर्ने व्यक्ति वा संस्थाबारेमा जानकारी प्राप्त गर्ने जुनसुकै व्यक्तिले वैदेशिक रोजगार विभागमा जानकारी गराउन विभागले सबैमा अनुरोध गरेको छ। त्यस्ता ठगी धन्दा चलाउनेहरु विरुद्ध कानून बमोजिम हदैसम्मको कारबाही गर्ने तयारीमा विभाग रहेको छ ।

नेपाल बैंकको सञ्चालकमा सावित्री श्रेष्ठ

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा सावित्री श्रेष्ठ नियुक्त भएकी छिन् । नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रानुसार श्रेष्ठलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जनाएका छन् ।  

कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महिनादेखि अलपत्र परेका हुन् । छ महिनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पुर्याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम र तलब नदिएपछि अलपत्र परेको पीडित युवराजले बताएका छन् । “चार महिनासम्म लेबरको काम लगायो”, उनले भने, “कम्पनीले सम्झौताविपरीत काम लगाए पनि तलबसमेत नदिएको र अहिले मेनोफ्युज सप्लाइ कम्पनीले भने खान र बस्न दिएर राखेको छ ।” काठमाडौँको धुम्बाराहीस्थित टाईगर ओभरसिस मेनपावर कम्पनीमा प्रतिव्यक्ति रु ८० हजार बुझाएर उनीहरु कतार पुगेको पीडित युवराजका दाजु राजकुमार तामाङले बताए । “इलेक्ट्रिसियनको काम भनेर मेनपावर कम्पनीले सम्झौतापत्र देखाएपछि मैले नै सबैजनाको धरौटीबापतको रकम बुझाएको थिएँ”, उनले भने, “कतार पुर्याएपछि चार महिना लेबरको काम दियो र मासिक रु एक हजार १०० तलब दिने सम्झौता भए पनि उनीहरुले अहिलेसम्म एक पैसा पनि पाएका छैनन् ।” यसरी, चार महिनासम्म कम्पनीले तलब नदिएपछि दोहास्थित लेबरकोटमा उजुरी दिँदासमेत कुनै सुनुवाइ नभएको अलपत्र परेका युवाको गुनासो थियो । दुई महिनादेखि काम र शुरुदेखि नै दाम नपाएर अलपत्र बनेका आफूहरूललाई उद्धार गरेर नेपाल फर्काउन उनीहरुले सम्बन्धित निकायमा गुहार मागिरहेका छन् । उनीहरुलाई कतार पठाउने धुम्बाराहीस्थित टाईगर ओभरसिस मेनपावर कम्पनी अहिले बन्द रहेको पीडितका दाजु राजकुमारले बताएका छन् । “विसं २०७५ फागुन १४मा प्रवेशाज्ञाा आएको देखाउँदै धरौटी रकम बुझेर चार महिनापछि जेठ २३ गते उडायो”, उनले भने, “अहिले उनीहरू बसुन्धारामा राप्ती म्यानपावर कम्पनी खोलेर बसेका छन् ।” उता मेनपावर कम्पनीका प्रबन्ध निर्देशक गोविन्द शिवाकोटीले भने उनीहरुले बिना कारण काम छाडेर बसेको बताउँछन् । “उनीहरुले कम्पनीसँग लेबरमै सम्झौता गरेर कतार गएका हुन्”, उनले भने, “अहिले काम छाडेर बसेका रहेछन् । सम्झौताअनुसारको काममा फर्किएमा वातावरण बनाउन सकिन्छ ।” टिकट र प्रवेशाज्ञा निःशुल्क भएपनि सो मेनपावर कम्पनीले उनीहरुलाई प्रतिव्यक्ति रु ८० हजार रकम असुलेको र अधिकांश व्यक्तिसँग पनि यसैगरी धरौटीको नाममा रकम असुल्ने गरेको पीडितहरूको गुनासो थियो । रासस