इँटा उद्योगीद्वारा प्रत्येक हप्ता कामदारलाई ३० करोड भुक्तानी
विराटनगर । नेपालका इँटा उद्योगीहरुले प्रत्येक हप्ता रु ३० करोड रकम ग्रामीण क्षेत्रका कामदारलाई भुक्तानी गर्ने गरेको आज यहाँ आयोजित कार्यक्रममा बताइएको छ । कोशी अञ्चल इँटा उद्योग व्यवसायी सङ्घको नवौँ साधारणसभामा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विदेशी कामदारलाई न्यूनीकरण गरी स्वदेशी कामदारलाई दक्ष बनाई रोजगार उपलब्ध गराउनुपर्ने बताए । उनले ग्रामीण क्षेत्रमा गरिबी निवारणमा ठूलो भूमिका निर्वाह गरेका उद्यमीहरुले इँटाको तौल घटाई गुणस्तरीय उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्री कार्कीले पानी र असिनाबाट उद्योगीहरुलाई हुने क्षति न्यूनीकरण गर्न कानूनी, व्यवस्थापकीय लगायतका अन्य सहयोग गर्न सरकार तयार रहेको धारणा व्यक्त गरे । प्रदेशसभा सदस्य जयराम यादवले उद्यमीले जनस्वास्थ्यमा क्षति नपुर्याउने स्वदेशी तथा विदेशी उपकरण प्रयोग गर्न अनुदानलगायत भन्सार छुट उपलब्ध गराउन सहयोग गर्ने बताएका हुन् । सङ्घका अध्यक्ष महेन्द्रप्रसाद साह, महासचिव अरुण प्रधान, नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेल लगायतले नेपाल इँटामा आत्मनिर्भर रहेको जानकारी दिएका छन् । इँटा उद्योगले नेपालको कूल गार्हस्थ्य उत्पादनमा दुई प्रतिशत योगदान दिएको छ । नेपाल सरकारमा दर्ता भएका एक हजार ४०० र सङ्घमा दर्ता भएका एक हजार इँट्टा उद्योग विभिन्न जिल्लामा सञ्चालनमा रहेका छन् । सङ्घले आज सहमतिका आधारमा नेतृत्व चयन गर्ने छ । रासस
नबिल बैंकमा ६० जनालाई जागिरको अवसर
काठमाडौँ । नबिल बैंकमा जागिरको अवसर खुलेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी १० जना र ट्रेनी असिस्टेन्ट ५० जना गरी ६० जना कर्मचारी माग गरेको हो । स्नातकोत्तर उत्तीर्ण र २८ वर्ष भन्दा कम उमेरका म्यानेजमेन्ट ट्रेनीमा तथा स्नातक उत्तीर्ण र २५ वर्ष भन्दा कम उमेरकाले ट्रेनी असिस्टेन्टमा आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुक र योग्यता पुगेकाहरुले अनलाइन मार्फत असोज ११ गतेसम्म आवेदन दिन सक्ने छन् ।
‘द ब्रिटिस कलेज’को पाँचौ दीक्षान्त समारोहमा दीक्षित भए ३२९ विद्यार्थी
काठमाडौँ । ‘द ब्रिटिस कलेज’ले आयोजना गरेको पाँचौ दीक्षान्त समारोहमा ३२९ जना विद्यार्थीहरु दीक्षित भएका छन् । बौद्धस्थित हायत रिजेन्सीमा भएको उक्त समारोहमा द एमस्सी इन्टरनेशन बिजनेश म्यानेजमेन्ट एण्ड बिबिए (हन्स) बिजनेस एण्डका विद्यार्थीलाई यूनिभसिर्टी अफ वेष्ट इंग्ल्याण्डका कार्यकारी डिन म्याक’डोउलले दीक्षित गरेका थिए । त्यस्तै, बिएएस्सी (हन्स) कम्प्युटिङ) लाई लिड्स बेकेट यूनिभसिर्टीका उपकूलपति तथा प्रोफेसर एन्ड्रीउ स्लेड्सले दीक्षित गरेकी थिइन् । दीक्षित हुनेमा ५१ जना बिबिए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट, ४८ जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड, ब्रिस्टल), २३० जना बिएस्सी (हन्स) कम्प्युटिङका विद्यार्थी लिड्स बेक्केट युनिभर्सिटीबाट दीक्षित भएका हुन् । यो हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीहरु दीक्षित भएको वर्ष रहेको र यसले कलेजको सफलताको पक्षलाई दर्शाएको कलेजका अपरेशन डाइरेक्टर महेन्द्रराज कडेँलले बताए । यस दीक्षान्त कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरु, एकेडेमिसियनहरु, विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथिमा बेलायतका हाउस अफ लर्डका प्रतिनिधि एघारौ अर्लअफ स्याण्डवीच जोन एडवर्ड हलिस्टर मोन्टागु रहेका थिए । त्यस्तै, अन्य अतिथिहरुमा माइकल रटल्याण्ड ओबिइ (भुटानका लागि ब्रिटिस अनरी काउन्सेल तथा द ब्रिटिस कलेजका सल्लाहाकार), द ब्रिटिस कलेजका सिइओ तथा संस्थापक राजन कँडेल, कलेजका अपरेशन डाइरेक्टर महेन्द्रराज कडेँल उक्त कार्यक्रममा सहभागी थिए । त्यसैगरी, पाउल क्लिभेस (इटोन कलेजका पुर्व भुगोल प्रमुख तथा द ब्रिटिस कलेजका सल्लाहाकार), डाक्टर चिरन थापा (मान्यताप्राप्त शिक्षाविद् तथा द ब्रिटिस कलेजका सल्लाहाकार), पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर, एच. ही रिचार्ड मोरिस (नेपालका लागि बेलायती राजदूत), अनुबन्ध प्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुमा लिड्स बेकेट यूनिभसिर्टीका डेपूटी उपकूलपति तथा प्रोफेसर एन्ड्रीउ स्लेड्स, यूनिभसिर्टी अफ वेष्ट इंग्ल्याण्डका कार्यकारी डिन रेमण्ड म्याक’डोउलको उपस्थिति रहेको थियो । कार्यक्रम सुरुवातमा ‘द ब्रिटिस कलेज’का प्रिन्सिपल जोए फोस्टर एलिसले सम्बोधन गरेका थिए । ‘द ब्रिटिस कलेज’का सिइओ तथा संस्थापक राजन कँडेलले नेपालको शैक्षिक क्षेत्रको विकासको लागि नेपालभरी गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेका बारेमा प्रष्ट पारेका थिए । साथै उनले भूतपूर्व विद्यार्थीहरुको लागि कलेजले सँधै सहयोग गर्ने वाचा गरेका छन् । उनले कलेजमा रहेको ‘अल्मुनाई’मा आबद्ध हुनको लागि समेत विद्यार्थीहरुलाई अनुरोध गरेका थिए । त्यस्तै, नेपालका लागि राजदुत रिचार्ड मोरिसले ब्रिटिस कलेजले नेपालमा नै अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त बेलायती विश्वविद्यालयहरुको सम्वन्धन लिएर नेपालमै विदेशी डिग्री प्रदान गरेर उल्लेखनीय काम गरेको बताए । द एमस्सी इन्टरनेशन बिजनेश म्यानेजमेन्ट तर्फबाट दीक्षित भएकी कुसुम निरौलाले द ब्रिटिस कलेजले दिएको अवसर र अनुभवलाई धन्यवाद दिइन् । प्रमुख अतिथि मोन्टागुले ब्रिटिस कलेजले भौतिक परिवर्तन भन्दा पनि दिमाग र हृदयमा हुने परिवर्तनलाई बुझेको बताए । उनले दीक्षित भएका विद्यार्थीहरु कर्मशिल भएर काम गर्नको लागि प्रेरणा समेत दिए । त्यस्तै, उनले कलेजले दिएको गुणस्तरीय शिक्षाको तारिफ गर्दै सिइओ कँडेल तथा कलेज परिवारलाई पनि बधाइ समेत दिए ।