जापानले नर्सिङ केयर गिभरमा नेपाली कामदार लैजाने, कात्तिकमा परीक्षा
काठमाडौं । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो । जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने छ । ‘स्पेसिफाइड स्किल्ड वर्कश’ अन्तर्गत जापानमा नर्सिङ केयर गिभरमा जान चाहनेले नर्सिङ केयर र जापानी भाषा परीक्षा उतीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । नर्सिङ केयर गिभरमा जापान जान चाहनेले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ अन्तर्गत ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिनुपर्नेछ । जसमा ‘फन्डामेल्टल अफ केयर’को १०, ‘मेकानिज्म अफ द माइन्ड एण्ड बडी’ को ६, ‘कम्युनिकेशन स्किल’ को ४, ‘फिजिकल केयर’ को २० र प्रयोगात्मक अभ्यास अन्तर्गत पाँच वटा प्रश्नको उत्तर दिनुपर्नेछ । प्रयोगात्मक परीक्षा कम्प्युटर प्रणाली (सिबिटी) माध्यमबाट दिनुपर्नेछ । यसैगरी परीक्षार्थीले ‘नर्सिङ केयर जापानीज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’ अन्तर्गत ३० मिनेटमा १५ वटा प्रश्नको उत्तर दिनुपर्नेछ । जसमा ‘टेक्निकल टम्र्स अफ केयर’ ५, ‘कम्युनिकेशन अफ केयर’ ५ र ‘डकुमेन्ट अफ केयर’को ५ गरी १५ अङ्कको भाषा परीक्षा दिनुपर्नेछ । भाषा र सीप परीक्षाका लागि एक हजार जापानी येन दस्तुर बुझाउनुपर्ने उल्लेख गरिएको छ । परीक्षा सम्पन्न भएको एक महिनापछि नतिजा सार्वजनिक हुनेछ । कम्तीमा ६० प्रतिशत अङ्क प्राप्त गर्ने परीक्षामा उतीर्ण हुने जापानी श्रम मन्त्रालयले जनाएको हो । कात्तिक १० देखि १२, १९ देखि २१ र २६ देखि २८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि कसरी आवेदन गर्ने भन्ने बारेमा आगामी असोज १५ गतेभित्र जानकारी दिइने बताइएको छ । नेपाल सरकार र जापान सरकारबीच गत चैत ११ गते नेपाली श्रमिक पठाउने सम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको थियो । जापानले १४ वटा कार्यक्षेत्रमा विदेशी श्रमिक भित्र्याउने नीति अख्तियार गरेको छ । जापानले कृषि, नर्सिङ केयर, सवारी साधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिने जनाएको छ । नेपाली श्रमिकलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भए तापनि कुन कुन क्षेत्रमा के कति सङ्ख्यामा नेपाली श्रमिकको माग हुने हो भन्ने विषय निश्चत हुनु बाँकी रहेको श्रम मन्त्रालयले जनाएको छ । रासस
वल्र्ड मर्चेन्टको सीईओमा पुष्पप्रसाद श्रेष्ठ चयन
काठमाडौँ । वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुष्पप्रसाद श्रेष्ठ चयन भएका छन् । २०७३ साल माघ १२ गतेदेखि रिक्त रहेको सीइओ पदमा श्रेष्ठ नियुक्त भएका हुन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १० गतेदेखि लागु हुने गरी श्रेष्ठलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव भरतबहादुर थापाले जनाएका छन् । वल्र्ड मचेन्ट समस्याग्रस्त अवस्थाबाट साउन १५ गतेदेखि फुकुवा भएको हो ।
आठ इँटा उद्योगमा डोजर लगाउन नगरपालिकाले दियाे निर्देशन, ९० कराेड नाेक्सान
काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको निर्देशनमा भकुण्डेबेसीमा स्थापना भइराखेका आठ इँटा उद्योगको भौतिक संरचनामाथि डोजर लगाउँदा कम्तीमा रु १० करोडभन्दा बढीको सामग्री नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ । महासङ्घले जारी गरेको विज्ञप्तिमा उद्योगका चिम्नि, पाकेका इँटा, बासस्थान तथा कार्यालय भवन ध्वस्त हुँदा सो मूल्यबराबरको सामग्री क्षति भएको आरोप लगाउँदै त्यस कार्यको भर्सर्ना समेत गरेको छ । सरकारले उद्योग प्रतिष्ठानको विकास, प्रवद्र्धन र संरक्षण गर्नुपर्नेमा उल्टो डोजर लगाएर व्यक्तिगत सम्पत्ति नोक्सानी पुर्याउने, उद्योगी व्यवसायीलाई मानसिक रुपमा यातना दिने कार्य गरेकाले यसको छानविन गरी तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकाय समक्ष महासङ्घले माग गरेको छ । त्यस्तै पछिल्लो समयमा काठमाडौँको चन्द्रागिरि नगरपालिकालेसमेत आफ्नो क्षेत्रभित्रका इँटा उद्योग सञ्चालनमा रोक लगाउन पत्र काटिसकेको भन्दै यसले संवैधानिक हक हननको घटना बढाएको महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । परम्परागत भुस्से इँटा बनाउन छोडेर आधुनिक प्रविधि प्रयोग गर्दै आएको र यसबाट वायु प्रदूषण कम गर्न योगदान पुर्याउँदै आएको जनाइएको छ । महासङ्घले इँटा व्यवसाय विद्यमान कानूनको विधि र प्रक्रियाअनुसार दर्ता भएका, कर तिर्ने गरेका र सामाजिक उत्तरदायित्वका कामसमेत गर्दै आएकाले ती देशका जिम्मेवार व्यवसायी भएको उल्लेख गरेको छ । रासस