लामो समयदेखि रोकिएका पुराना उद्योगलाई फेरि नवीकरण गरिँदै

घोराही । दाङमा लामो समयदेखि नवीकरण रोकिएका पुराना उद्योगको पुनः नवीकरण शुरु गरिएको छ । जिल्लामा सञ्चालित उद्योग विभिन्न कारणले घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण हुन सकेका थिएनन् । नवीकरण हुन नसकेका उद्योगहरु उद्योग वाणिज्य सङ्घको लामो प्रयासपछि नवीकरण शुरु गरिएको हो । विभिन्न कारणले समयमा नवीकरण नभएका उद्योगको जरीवाना तिर्दा समेत घरेलु कार्यालयले नवीकरण गरेको थिएन । सङ्घले यसका लागि प्रदेश सरकार तथा सङ्घीय सरकारसँग पटक–पटक छलफल गर्दै आएको थियो । त्यसपछि प्रदेश सरकारले केही दिनअघि नवीकरण रोकिएका उद्योगको पुनः नवीकरण गर्न अख्तियारी दिएको थियो । प्रदेश सरकारले गरेको यस प्रकारको निर्णयले उद्योगीलाई सहजता भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिएका छन् । नवीकरणका लागि उद्योगी घरेलु कार्यालयसम्म पुगे पनि काम नभएपछि त्यसै फर्किने गरेका थिए । “हामीले पटक–पटक नवीकरण गर्नका लागि अनुरोध गर्दै आएका थियौँ, अहिले त्यो पूरा भएको छ”, अध्यक्ष भुसालले भने । यस विषयमा केही दिनअघि दाङ, प्युठान, रुपन्देही, भैरहवा, नेपालगञ्जलगायतका उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय पदाधिकारी तथा प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री लीला गिरीबीच छलफलसमेत गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालय दाङले पनि मिति सकिएका उद्योगको नवीकरण शुरु भएको जनाएको छ । कार्यालयका प्रमुख उद्योग अधिकृत वासुदेव रिजालले मिति सकिएका उद्योगको नवीकरण शुरु भएको जानकारी दिएका छन् । “निमावली निर्माण भएर आएपछि नवीकरण शुरु गरेका छौँ”, रिजालले भने, “तोकिएको जरिवाना तिरेर आगामी २०७७ भदौ ३ गतेसम्म नवीकरण गरिसक्नुपर्ने निर्देशन आएको छ ।” आइतबारबाट शुरु भएको नवीकरणका लागि दैनिक आधा दर्जन उद्योगी नवीकरणका लागि आउने गरेका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । रासस

लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ प्रधानको कार्यकाल थपियो

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नूर प्रकाश प्रधानको कार्यकाल थपिएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले प्रधानको कार्यकाल थप्ने निर्णय गरेको हो । प्रधानलाई चार बर्षअघि कम्पनीको सीईओमा नियुक्त गरिएको थियो । उनले अब फेरी चार बर्षसम्म सीईओका रुपमा लुम्बिनी जनरल इन्स्योरेन्सको नेतृत्व सम्हाल्नेछन् ।

बैंक अफ काठमाण्डूको स्वतन्त्र संचालकमा मोहना लोहनी

काठमाडौं । बैंक अफ काठमाण्डूको स्वतन्त्र संचालकमा मोहना लोहनी नियुक्त भएकी छिन् । बैंकको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले लोहनीलाई स्वतन्त्र संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संचालक पदमा नियुक्त भएसँगै उनले उक्त पदको जिम्मेवारी सम्हाल्ने छन् ।