लक्ष्मी लघुवित्तद्वारा २ महिने सिलाई कटाई तालिम प्रदान
काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्थाले रुपन्देही जिल्लाको सुर्यपुरा, शाखामा आबद्ध ग्राहकहरुलाई २ महिने सिलाई कटाई तालिम प्रदान गरेको छ । उक्त तालिम पुस १० देखि माघ ८ गते सम्म सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख २० जना ग्राहकहरुलाई सहभागी गराइएको थियो । टेलरीङ्ग व्यवसायमा आर्कषण गरी महिला ग्राहक सदस्यहरुलाई सफल उद्यमी बनाउने र जीविकोपार्जनलाई सहज बनाउन उक्त सीपको माध्यमबाट आयआर्जनको क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले सिलाई कटाई तालिम आयोजना गरिएको थियो । तालिम समापन कार्यक्रममा उपस्थित गैडहवा गाँउपालिकाकी उपाध्यक्ष सुभावती यादवले “सबैले जागिर नै खानु पर्छ भन्ने छैन् आफ्नो सिप र क्षमता अनुरुपको कार्यबाट व्यावसायिक भई आत्मनिर्भर तिर लाग्न सकिने” कुरा बताएकी थिइन् । लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंकसँंगको सहकार्यमा शाखा रहित बैंकिङ्ग सुविधा सँगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले यस्ता किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।
वैदेशिक रोजगारको समय अवधिमा नेपालमै मृत्यु भए परिवारलाई ७ लाख सहयोग
काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपाली युवाको श्रम स्विकृति अवधिमा नृेपालमै मृत्यु हुन गएमा परिवारलाई ७ लाख रुपैयाँ सहायता दिने भएकाे छ । बिदामा नेपाल हुँदा जस्तो सुकै अवस्थामा मृत्यु भएको भेटिएका मृतकका परिवारलाई सरकारले आर्थिक सहायता रकम स्वरुप ७ लाख दिने निर्णय गरेको हो । हालसम्म वैदेशिक रोजगारीको क्रममा विरामी भई स्वदेश आएका तथा उपचारको क्रममा मृत्यु हुनेलाई सो रकम दिइने छ । अहिलेसम्म १ सय १४ श्रमिकको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जानकारी गराउँनुको साथै सबै मृतक परिवारसामु सहायता रकम पुर्याउने निर्णय गरेको छ । त्यहाँ अन्य विविध कारण नेपाल आएको समयमा २ सय १ जनाको मृत्यु भएको बोर्डले जनाएको छ । बोर्डमा निवेदन दर्ता गरेका सबै मृतकका परिवारसामु सहायता रकम प्रदान गर्ने भएको छ । पछिल्लो समय ५० देखि ६० जनालाई बोर्डले सहायता रकम प्रदान गरेको छ । २०७४ मा वैदेशिक रोजगार ऐन संशोधन भएसँगै मृतकका परिवारलाई ७ लाख रुपैयाँ दिने भएको हो । यस अगाडी ३ लाख रुपैयाँ सहायता रकम बोर्ड मृतकका परिवारलाई दिँदै आएको थियो । वैदेशिक रोजगारमा गएका विरामी भएर तथा बिदामा नेपाल आएका जम्मा ३ सय १५ जना मध्ये अझै २ सय ९० जना मृतकका परिवारलाई ७ लाख रुपैयाँको दरले सहायता रकम प्रदान गर्ने भएको छ । आर्थिक सहायता रकम बराबर वैदेशिक रोजगार बोर्डले करिब ३० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । त्यस्तै हालसम्म साढे ६ करोड रुपैयाँ १ सय १२ मृतकका परिवारलाई प्रदान गर्न व्यवस्था गरेको थियो ।
यूनाईटेड मोदी हाइड्रोको अध्यक्षमा नरेन्द्र वल्लभ पन्त, सञ्चालकमा तिमिल्सिना नियुक्त
काठमाडौं । यूनाईटेड मोदी हाइड्रो पावरको अध्यक्षमा नरेन्द्र वल्लभ पन्त नियुक्त भएका छन् । माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष पन्तले यसअघि सोही हाइड्रोमा निर्देशकको रुपमा काम गरेका थिए । हाइड्रो क्षेत्रमा १० वर्ष बिताएका उनले सो क्षेत्रमा राम्रो अनुभव बटुलिसकेका छन् । उनी अहिले २५ मेगावटको सिंगटी हाईड्रो इनर्जीमा निर्देशक र तक्सार फिकुवा खोला हाइड्रो प्रालिमा महाप्रबन्धकको रुपमा कार्यरत छन् । साथै, उनले ओम देव प्लाजा र देव लिजिङ कम्पनीमा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ)को कार्यभार सम्हालेका थिए । माउन्टेन स्टेटमा अर्गनाइजेसनल लिडरसीप अध्ययन गरेका अध्यक्ष पन्तले कम्प्लेक्स डेभलपर्स लिजर्स एसोशियसन(मल एसोशियसन नेपाल)मा कोषाध्यक्ष भई काम गरेका छन् । त्यस्तै, सोही दिन बसेको संस्थाकाे बैठकले सुधीर प्रसाद तिमिल्सिनालाई प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको छ । नियुक्तीसँगै अध्यक्ष पन्त र सञ्चालक तिमिल्सिनाले एक कार्यकालको जिम्मेवार सम्हाल्ने छन् ।