दक्ष कामदारका लागि अब एपबाटै जागिर, विदेशिने दिनकाे अन्त्य

काठमाण्डौँ । ‘अरबान्स नेपाल’ ले नेपालमै पहिलो लोकल होम सर्भिस एप लन्च गरेको छ । शुक्रबार काठमाण्डौँको होटल सोल्टीमा आयोजित एक कार्यक्रममा उक्त एप लन्च गरिएको हो । विशेषगरी दैनिक जीवनमा घर तथा कार्यालयमा हुने मर्मत संभारको समस्याहरुलाई मध्यनजर गर्दे यो एप लन्च गरिएको हो । अरबान्स नेपाल एउटा यस्तो एप हो जसमार्फत उपभोक्ताले आफुलाई चाहिएको दैनिक सेवाको लागि दक्ष कामदार हायर गर्न सक्नेछ, जसले सहुलियत र १५ दिनको ग्यारेन्टीका साथ सेवासुविधा उपलब्ध गराउनेछ । आफूले खोजेको बेला समाधान गर्ने ब्यक्ति नपाउने कारणलाई विशेष महत्व राख्दै, अब अनलाइनबाटै हरेक सुविधाहरु १ क्लिकमा नै घर आँगन अगाडि प्लान लिई अरबान्स नेपाल बजारमा पाइला चालेको दाबी आयोजकले गरेको छ । कार्यक्रममा अरबान्स नेपालका सिईओ तथा संस्थापक सविल खानले स्वदेशमै रोजगारीको माहोल बनाउछु भन्ने नाराका साथ आफूहरुले यो एप लन्च गरेको जानकारी दिए । खानले भने दैनिक १ हजार २ सय भन्दा बढी युवा खाडी मुलुकमा कामको सिलसिलामा पलायन हुनु पर्ने अवस्था छ । जसमध्ये ७० भन्दा बढी नेपाली रातो बाकसमा मुत्युकको रुपमा फर्कन्छन् । जब हाम्रै देशमा हामीलाई चाहिने सुविधाको माग छ भनेर सिटिभिटिबाट हजारौ दक्ष कामदारहरु दिक्षित भएर निस्कन्छन भने देशमै रोजगारको प्लेटफर्म हामी आफैले बनाउनु पर्दछ । उनले भने  किन परिवारको साथ छोडेर अर्काको देशको ४० डिग्रि घाममा आफनो पसिना बगाउने र ज्यान जोखिममा हाल्ने ? अरबान नेपाल त्यो प्लेटफर्म बनिसकेको छ । टुटलको जस्तै कमिशन मोडलमा आफु आफ्नै मालिक जस्तै काम गर्ने विकल्प आफै छान्ने सिस्टम बनाइएको छ । जसले गर्दा विचौली तथा दलालहरुले कुनै पनि मौका पाउने छैनन् , खानले भने । उनले अन्तिममा भने सरकारलाई दोष दिन छाडौ, हामी युवाले हाम्रै युवाहरुको लागी सोचौं, कसैको भरमा नबसौं ।उक्त कार्यक्रमको पूर्व सन्ध्यामा अरबान्स नेपालले युथ माइग्रेशन एण्ड इट्स् इम्प्याक्ट इन द इन्टरप्रिनरशिप कल्चर इन नेपाल विषयक प्यानल डिसकसन पनि गरेको थियो । उक्त प्यानल डिसकसनमा चौधरी ग्रुपका एक्जुकिटिभ डाइरेक्टर करुण चौधरी, ल्याटिडो लेदरका सञ्चालक विलाल अहमेद साह, टुटलका को–फाउण्डर सिक्सिड भट्ट सँगै प्रोप्रटि ३६० डिग्रिका सञ्चालक सन्तोष प्रधानले टिप्पणी गरेका थिए भने क्लियर भिजनकी प्रकृति भट्टराई बस्नेत मोडरेटर बनेकी थिइन् । साथै, अरबान्स नेपालले नेपालमै बसेर केही गर्न खोज्ने युवाहरुलाई लक्षित गरेर नेपालीले नेपालकै लागी गर्छु भन्ने नारा लिएको युट्यूबमा क्याम्पेन गर्न लागेको जानकारी पनि उक्त अवसरमा दिइयो ।

अपराधमा विदेशी नागरिकको संलग्नता बढ्दो, वर्कपर्मिटमा काम गर्नेको तथ्यांक छैन राज्यसँग

सांकेतिक फोटो काठमाडौं । पछिल्लो समय अपराधिक क्रियाकलापमा विदेशी नागरिकको संलग्नता बढ्दो क्रममा छ । नेपालमा पर्यटक भीसामा आउने र यहीँ बसेर गैरकानुनी कार्यमा संलग्न विदेशी नागरिकको संख्या बढ्दो क्रममा देखिएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष गैरकानुनी कार्यमा संलग्न ८ सय ५७ जना विदेशी नागरिक पक्राउ परेका छन् । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ७ सय ३७ जना र आर्थिक वर्ष २०७३/७४ मा ५ सय ५५ जना विदेशी नागरिक पक्राउ परेका छन् । विदेशी नागरिकले नेपालमा आएर गैरकानुनी कार्य गर्ने गरेपनि आधिकारिक रुपमा कति विदेशीले नेपालमा लामो समय बस्छन् भन्ने यकिन तथ्यांक राज्यको कुनै पनि निकायसँग छैन । केही विदेशी नागरिक नेपालमा लुकेर काम गर्ने तथा गैरकानुनी काममा समेत संलग्न हुने गरेको पाइएको छ । विदेशी नागरिकले वर्क पर्मिट नलिई नेपालमा कुनै पनि प्रकारको काम वा पेशा व्यवसाय गर्न पाउदैनन् । नेपालमा काम गर्नको लागि वर्क पर्मिट दिने जिम्मेवारी श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पाएको छ । तर, विभागसँग पनि अहिले कति विदेशी नागरिकले वर्क पर्मिट पाएर काम गरिरहेका छन् भन्ने छैन । कसैले श्रम स्वीकृति माग्न आए दिने गरेको विभाग अहिले कति विदेशी नागरिक काम गरिरहेका छन् भन्ने तथ्यांक दिन भने सक्दैन । विभागका सूचना अधिकारी सूर्यप्रसाद उपाध्याय कुन वर्ष कति विदेशीले श्रम स्वीकृति (वर्क पर्मिट) पाए भन्ने तथ्यांक मात्रै रहेको बताउँछन् । ‘कुन वर्ष कति विदेशीले वर्क पर्मिट प्रश्नमा सूचना अधिकारी उपाध्यायले भने । विभागका अनुसार गत मंसिर मसान्तसम्ममा १ हजार ६० जना विदेशी नागरिकले वर्क पर्मिट लिएका छन् । यो संख्या नयाँ वर्क पर्मिट लिने र नवीकरण गराउने सम्मको हो । गत साउनमा नयाँ र नवीकरण गरी वर्क पर्मिट लिने विदेशीको संख्या २ सय ४१ छ । यस्तै भदौमा ३ सय ४२ जना, असोजमा १ सय ५८ जना, कात्तिकमा १ सय ७१ जना र मंसिरमा १ सय ४८ जना विदेशीले नयाँ वर्क पर्मिट तथा नवीकरण गराएका छन् । अहिले नेपालमा कार्यरत विदेशी नागरिकको संख्या यति नै हो त भन्ने प्रश्नमा विभागका अधिकारीहरु जवाफ दिन सक्दैनन् । उनीहरु आफै ‘वर्क पर्मिटट लिएकाहरु केही उनीहरुकै देश गइसके होलान्, केही काम गर्दै होलान्, वा अन्य अवस्था पनि हुन सक्छ’ भन्ने विभागका अधिकारीहरुको भनाइ छ । बढ्दै अपराधको ग्राफ नेपालमा पर्यटक भीसामा आउने र गैरकानुनी कार्यमा संलग्न हुने विदेशीको संख्या बढ्दो छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापाका अनुसार विदेशी नागरिकहरु अनलाइन ठगीदेखि बैङ्क तथा एटीएम ह्याकिङ, चोरी, मानव बेचविखन, यौन दुराचार, हत्या, अपहरण, लागूऔषध र दुर्लभ वन्यजन्तुको ओखटेपहार ओसारपसार जस्ता गैरकानुनी कार्यमा संलग्नता बढ्दो छ । यस्तो गैरकानुनी कार्यमा भारत, चीन, बङ्गलादेश, बेलायत, अमेरिका, युरोप तथा अफ्रिकालगायत देशका नागरिकको संलग्नता बढी देखिएको प्रहरीको भनाइ छ । प्रहरीले अघिल्लो साता मात्रै शंकास्पद गतिविधि गरेको अभियोगमा एकैपटक १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पर्यटक भीसामा नेपाल आएर लुकेर बस्ने तथा वर्क पर्मिट लिएर बसेकाहरु पनि गैरकानुनी क्रियाकलापमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ ।

औद्योगिकीकरण तथा लगानी प्रर्वद्धनका लागि उद्योग मन्त्रालय र परिसंघले सघन रुपमा सहकार्य अघि बढाउने

काठमाडौं । नेपाल उद्योग परिसंघ र उद्योग मन्त्रालयले सरकार र उद्योगी व्यवसायीहरुबीच विश्वासको वातावरण बनाउदै औद्योगिकीकरण तथा लगानी प्रर्वद्धनमा सघन रुपमा सहकार्य गर्ने भएका छन् । बिहीबार परिसंघमा भएको छलफलमा उद्योग सचिव यामकुमारी खतिवडाले उद्योगी व्यवसायीहरुका तर्फबाट परिसंघले प्रस्तुत गरेका औद्योगिकीकरण, निर्यात वृद्धि तथा आयात प्रतिस्थापनका विषयमा सघन सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको हुन् । सचिव खतिवडाले एकल बिन्दु सेवा केन्द्रको प्रभावकारिता, वातावरणीय मापदण्ड सम्बन्धी व्यवस्थामा लचकता, निकासी अनुदान प्याकेजमा विस्तार र नेपाली आत्मनिर्भर हुने गरी स्वदेशी उद्योगहरूको विकास तथा विस्तार र आधुनिकीकरणका लागि प्रोत्साहन गर्ने लगायतका विषयमा मन्त्रालयले थप सहकार्य गर्दै अघि बढ्ने बताएका छन् । छलफलको प्रारम्भमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकार र उद्योगी व्यवसायीबीच विश्वासको वातावरण बनाउन आपसी छलफललाई निरन्तरता दिदै जाने । बताएका छन् । अध्यक्ष मोरले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्दै निर्यात वृद्धि सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई थप लगानीका लागि उत्प्ररित गर्न आवश्यक वातावरण बनाउन आग्रह गरे । अध्यक्ष मोरले उद्योग विभागमा रहेको एकल बिन्दु सेवा केन्द्रको प्रभावकारिता बढाउन तथा निर्यातमा विविधिकरण र उद्योग सम्बन्धी कानूनको सुधारमा मन्त्रालयले देखाएको अग्रसरताले उद्योग स्थापना तथा सञ्चालनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले विशेष आर्थिक क्षेत्र सञ्चालन तथा अन्य औद्योगिक क्षेत्रमा उद्योग स्थापना तथा सञ्चालनमा देखिएका अवरोध हटाउन पहल भइरहेको जानकारी गराए । उद्योग विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले उद्योगी व्यवसायी तथा लगानीकर्ताका लागि विभागले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको उल्लेख गरे । उद्योग विभागमा रहेको उद्यमी सहजकर्ता सेण्टरको उपयोग गर्न पनि महानिर्देशक सिटौलाले आग्रह गरेका छन् । सो अवसरमा परिसंघका उपाध्यक्षहरु अनुज अग्रवाल, विष्णु अग्रवाल, कृष्णप्रसाद अधिकारी, सुलभ अग्रवाल र राजेश अग्रवालले उद्योग तथा लगानी विस्तारका विषयमा प्रस्तुती गर्दै औद्योगिकीकरणको वातावरण बनाउन तत्कालीन तथा दीर्घकालीन रणनीतिहरु अघि बढाउन आवश्यक रहेको बताएका छन् ।