उद्योगलाई विद्युत् माग पूरा गर्न नवलपरासीकै हकुईमा १३२ केभीएको सवस्टेशन बनाउँदैछौँ- कार्यकारी निर्देशक घिसिङ
परासी । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको विद्युत् माग पूरा गर्न सवस्टेशन निर्माणलाई जोड दिएको जानकारी दिएका छन् । पश्चिम नवलपरासीस्थित नेपाल विद्युत् प्राधिकरण परासी वितरण केन्द्रको नवनिर्मित कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले परासी–भैरहवा औद्योगिक क्षेत्रमा सवस्टेशन बनाउन लागिएको बताए । पश्चिम नवलपरासीको हकुईमा सवस्टेशन बन्ने जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले भने, “परासी–भैरहवा क्षेत्र औद्योगिक क्षेत्रको रूपमा विकास भइरहँदा विद्युतकाे माग बढिरहेको छ, उद्योगलाई विद्युत् माग पूरा गर्न हामीले नवलपरासीकै हकुईमा १३२ केभीएको सवस्टेशन बनाउँदैछौँ, त्यहाँबाट उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति हुन्छ ।” उक्त क्षेत्रमा उद्योगीले लामो समयदेखि सवस्टेशन बनाउन माग गर्दै आएका थिए । नवलपरासीकै सुनवलमा पनि न्यू बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत ४०० केभीएको सवस्टेशन बन्ने प्रक्रियामा छ । परासी वितरण केन्द्रको भवन रु ९० लाखमा निर्माण भएको केन्द्र प्रमुख विजय महतोले जानकारी दिए । कार्यकारी निर्देशक घिसिङले शनिबार नै नवलपरासीमा निर्माण हुन लागेको न्यू बुटवल सवस्टेशन, भरतपुर–बर्दघाट ट्रान्समिसन लाइन र होङ्सी सिमेन्ट ट्रान्समिसन लाइनको पनि निरीक्षण गरेका छन् ।
जापान रोजगारीका लागि दुई हजार बढी कामदार लैजाने तयारी
काठमाडौं । जापान रोजगारीका लागि नेपाली झण्डै दुई हजार तीन सय कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३ सय नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । जनवरी ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखमा भाषा परीक्षा हुनेछ । यस्तै आगामी मार्च ३–५, ९–११, १२ र १५–१९ तारिखसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा शुल्क दुई हजार ५ सय तोकिएको छ । कम्प्युटरमा आधारित परीक्षा प्रणालीका आधारमा लिखित, सीप परीक्षणलगायत परीक्षा हुनेछ । परीक्षार्थीले साधारण बोलिचाली तथा प्रस्तुती, जापानी भाषा सुनाइ र पढाइमा उर्तिण हुनुपर्नेछ । २ सय ५० अङ्कको परीक्षामा सहभागीले न्यूनतम् २ सय अङ्क ल्याउनुपर्ने छ । परीक्षामा सहभागी हुन चाहने युवाले नेपाली नागरिकता, राहदानी वा सवारीचालक परिचय पत्र बुझाउनु पर्ने छ। दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र आफ्नो वरिपरिको परिस्थितिको बारेमा जापानी भाषामा सहजै बोल्न सक्नुपर्नेछ । फाउण्डेशनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गर्दै आएको छ । गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो । पहिलो चरणमा जापान रोजगारीका लागि १३ हजार युवाले सहभागिता जनाएका थिए । नेपालबाट नर्सिङ केयरगिभरमा कामदार लैजाने जापानको तयारी छ । जापानले गतवर्ष विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने घोषणा गरेको हो ।
आर्थिक संघको २९औं वार्षिक साधारणसभा, अध्यक्षमा प्राडा प्याकुरेल
काठमाडौं । नेपाल आर्थिक संघको अध्यक्षमा अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेल चयन भएका छन् । संघको २९औं वार्षिक साधारणसभाले प्याकुरेलको अध्यक्षतमा आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्य समिति चयन गरेको हो । नेपालका अर्थशास्त्रीहरुको एकमात्र पेशागत संगठन नेपाल आर्थिक संघ नेपालको आर्थिक क्षेत्रमा विभिन्न नीतिगत तथा अनुसन्धानमुलक कार्यमा संलग्नहुँदै आएको छ । संघले नेपाल सरकारलाई खास गरी बजेट निर्माण तथा अन्य आर्थिक नीतिनिर्माण सम्बन्धमा समय समयमा स्वतन्त्र रुपले परामर्श दिँदै आएको संघका नवनिर्वाचित महासचिव गोपाल तिवारीले बताए । नेपालका वरिष्ठ अर्थशास्त्रीहरु, संघका साधारण सदस्य तथा आजिवन सदस्यको सहभागिता भएको उक्त भेलाले वरिष्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेलको अध्यक्षतामा आगामी ३ वर्षका लागि १७ सदस्यीयकार्य समिति चयन गरेको हो । उक्त वार्षिक भेलालाई सम्बोधन गर्दै श्रीलंकाका लागि नेपालका पूर्वराजदुत प्याकुरेलले संघले युवा अर्थशास्त्रीहरुलाई आर्थिक नीति तथा कार्यविधिहरुमा नयाँ दृष्टिकोण सहित पेश हुन सक्ने बनाउने विश्वास व्यक्त गरे । वरिष्ठ अर्थशास्त्रीको अनुभव र नयाँ पुस्ताको भिजन तथा उर्जाले नेपालको आर्थिक क्षेत्रमा उल्लेख्य टेवा दिन सक्ने र त्यसको आधार स्तम्भको रुपमा संघलाई परिचालित गरिने उनको भनाइ छ । ‘संघ नयाँ पुस्तालाई आर्थिक नीति तर्जुमादेखि कार्यान्वयनसम्मका कार्यमा सरकार तथा विकासका सहयात्रीहरुलाई तयार गर्ने स्वतन्त्र पेशागत संगठनको रुपमा विकास गरिनेछ,’ अध्यक्ष प्याकुरेलले भने । आगामी कार्यक्रमका रुपमा देशका सातै प्रदेशमा राष्ट्रिय आर्थिक मुद्दाहरु तथा वित्तीय संघीयता सम्बन्धी विषयहरुमा प्रदेशस्तरीय संवादहरु सञ्चालन गर्ने कार्यक्रम रहेको तथा राष्ट्रिय तहमा अनुसन्धान सम्मेलन गरिने संघका नवनिर्वाचित महासचिव तिवारीले बताए । संघका अध्यक्ष प्राडा प्याकुरेलले संघले राष्ट्रिय बजेट तथा सरकारले तोकेका अन्य प्राथमिकताका क्षेत्रमा नीति निर्माण सम्बन्धमा स्वतन्त्र राय दिने कार्यलाई निरन्तरता दिइने समेत बताए । कार्यक्रममा सहभागीहरुले संघ दरिलो थिंक ट्याङ्कको रुपमा विकसित हुँदै गइरहेको तथा यसको साख विस्तार हुँदै गइरहेको अवस्थामा यसका गतिविधिले विशेष महत्व राख्ने भएकोले नयाँ कार्यसमितिले उक्त साख विस्तारका लागि थप चनाखो र सक्रिय भएर लाग्नु पर्ने बताए । संघको नवनिर्वाचित कार्यसमितिमा प्राडा प्याकुरेल अध्यक्ष, डा. भवानी ढुंगाना वरिष्ठ उपाध्यक्ष, प्राडा गोविन्द नेपाल उपाध्यक्ष, गोपाल तिवारी महासचिव, डा. खोमराज खरेल सचिव र प्राडा शान्ता सिंह कोषाध्यक्ष छन् । कार्यसमिति सदस्यहरुमा प्राडा विजय श्रेष्ठ, प्राडा केशवराज खड्का, केशवप्रसाद आचार्य, डा. पोषराज पाण्डे, प्राडा शिवराज अधिकारी, प्राडा माधवप्रसाद दाहाल, डा. मणिकुमार नेपाल, डा यादवमणि उपाध्याय, नविन अधिकारी तथा जमुना श्रेष्ठ छन् । संघमा त्रिवि केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्राडा कुसुम शाक्य पदेन सदस्य रहेका छन् ।