महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रवक्तामा श्रेष्ठ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जीवन कुमार श्रेष्ठलाई प्रवक्तामा नियुक्त गरेको छ । महाशाखाले मंगलबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई प्रवक्तामा नियुक्त गरेको जनाएको हो । प्रवक्तामा नियुक्त भएसँगै श्रेष्ठले जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूलाई सम्प्रेषण गर्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
राहदानी लिने महिलाको सङ्ख्या बढ्दो
काठमाडाैं । वैदेशिक रोजगारका लागि रसुवाबाट राहदानी लिने महिलाको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । निमित्त प्रशासक एवं सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईका अनुसार यस आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म राहदानी प्राप्त गरेका कुल ४०१ जनामध्ये ६० प्रतिशत महिला छन् । उनीहरुले विदेश जानकै लागि नेपाली नागरिकता लिने र त्यसको भोलिपल्टै राहदानी प्राप्तिको लागि आवेदन पेश गर्न थालेका छन् । चालू आवको साउनदेखि मङ्सिर ३० गतेसम्म नेपाली नागरिकता प्राप्त गर्नेको सङ्ख्या ३२६ जना र राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या करिब १ हजार ५०० पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली नागरिकता, राहदानी, संस्थादर्ता, राष्ट्रिय परिचयपत्र प्राप्ति एवं स्थानीय प्रशासनबाट प्रदान गरिने विविध प्रकारका सेवा लिनका लागि दैनिक ३५ देखि ४० जना सेवाग्राही आउने गरेका छन् । रासस
एनबीआईको सीईओमा लम्साल नियुक्त, बैंकिङ क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्यूट(एनबीआई) लिमिटेडको प्रमूख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । इन्टिच्यूटको सञ्चालक समितिले मंसिर ३० गतेदेखि लागु हुने गरी लम्साललाई एनबीआईको सीईओको पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ लम्साल बैंकिङ्ग क्षेत्रका चीरपरिचित व्यक्तित्व हुन् । उनले यसअघि सानिमा बैंक, प्रभु बैंक, जनता बैंक नेपाल लि. लगायतका बैंकको प्रमूख कार्यकारी अधिकृतको रुपमा कार्य गरी दुई दशक भन्दा लामो बैंकिङ्ग अनुभव प्राप्त गरेका छन् । पछिल्लो समय जनता बैंक नेपालको सीईओ कार्यकाल पश्चात उनले बैंकिङ्ग क्षेत्रमा विशेषगरी क्रेडिट विषयको प्रशिक्षकको रुपमा योगदान पुर्याउँदै आएका थिए । नवनियुक्त सीईओको नियुक्तीसँगै ईन्स्टिच्यूटले बैंकिङ्ग जगतको मानव संशाधनको क्षमता विकासमा टेवा पुर्याउने किसिमका बस्तु तथा सेवाको विविधीकरण मार्फत अझ बढी योगदान पुर्याउन सफल हुने अपेक्षा गरीएको छ ।