चेपाङको जीवनस्तर उकास्न साढे २ कराेडकाे परियोजना शुरू गरिँदै

मुग्लिन ।  इच्छाकामना गाउँपालिका भित्र रहेका चेपाङ समुदायको सामाजिक तथा आर्थिक उन्नयन गर्न परियोजना शुरुआत भएको छ । सो गाउँपालिकाको सहकार्यमा सौराहास्थित सपना भिलेज सोसियल इम्प्याक्टले ‘सबै यात्राको शुरुआत एक सपनाबाट हुन्छ’ भन्ने नाराका साथ परियोजना शुरु गरेको हो । सस्थाका अध्यक्ष ध्रुव गिरीलले विभिन्न प्रतियोगितामार्फत यहाँका स्थानीयवासीमा परिवर्तन गर्ने परियोजनाको लक्ष्य रहेको जानकारी दिएका छन् । यसअघि चितवनको कालिक नगरपालिकामा परियोजना कार्यान्वयनमा आएको थियो । यहाँका ४८० घरधुरीमा कार्यान्वयनमा आउने परियोजनाले सरसफाइ, घर, करेसाबारी, शिक्षा, स्वास्थ्य, आर्थिक आयआर्जन लगायतमा करिब रु दुई करोड ५० लाख खर्च गर्ने जनाइएको छ । तीन वर्षसम्म सञ्चालन हुने परियोजनाको बुधबार गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले शुभारम्भ गर्दै गैरसरकारी संस्थाले निश्चित समयसम्म काम गर्ने भएकाले यहाँकै स्थानीयवासी आफ्नो जीवन परिवर्तनका लागि जागरुक हुनुपर्ने बताएकी छन् । कार्यक्रम निर्देशक सुजन बस्नेतले अन्तर घर, अन्तर विद्यालय, अन्तर स्वास्थ्यकर्मी, अन्तर कृषक, अन्तर आमा समूहबीच प्रतिष्पर्धा गराएर परिवर्तन ल्याइने जानकारी दिए । पछिल्लो जनगणनाअनुसार २५ हजार १२ जनसङ्ख्या रहेको यस गाउँपालिकामा चेपाङको सङ्ख्या नौ हजार रहेको छ । रासस

स्वस्तिक लघुवित्तको संचालकमा ४ जना निवार्चित, अध्यक्षमा सत्य नारायण झा

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न संस्थाको पहिलो साधारणसभाले संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व हुने गरी ४ जनालाई सञ्चालक पदमा निर्वाचित गरेको हो । निर्वाचन अधिकृत नारायण वस्तीका अनुसार उक्त पदमा सत्य नारायण झा, डा. प्रमोद कुमार झा, सुधांशु शेखर झा र रवि सेन शाह निर्वाचित भएका हुन् । साथै, सोहीदिन बसेको संचालक समितिको बैठकले संचालक सत्य नारायण झालाई अध्यक्ष चयन गरेको छ । सभामा संस्थाका अध्यक्ष झाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । त्यस्तै, सभाले आ.व. २०७५/०७६ को अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको वार्षिक प्रतिवेदन सहितको आ.व. २०७५/०७६को सम्पुर्ण वित्तीय विवरणहरु माथि छलफल, लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने, सम्वन्धि सामान्य प्रस्ताव पास गरेको छ । साथै, सभाले भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने प्रयोजनका लागि सम्पुर्ण आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरको छ ।

बैंकिङ्ग क्षेत्र सामाजिक सुरक्षा कोषको विपक्षमा होइन्, केही विषयमा सहमति हुँदै

काठमाडौं । सामाजिक सुरक्षा कोषको दायरा निजी प्रतिष्ठान तथा श्रमिकलाई अनिवार्य रुपमा आवद्ध गराउने विषयमा विभिन्न खालका टिकाटिप्पणी भइरहेका छन् ।  पछिल्लो समय वैंकिङ्ग क्षेत्रले सामाजिक सुरक्षा कोष आफूहरूकाे लागि अनुकूल नभएकाे भन्दै  आलोचना हुँदै गर्दा नेपाल बैकर्स एसाेसिएसनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल शर्माले वैंकिङ्ग क्षेत्र कोषको विरोधी नभएको बताए । सञ्चार केन्द्र नेपालको आयोजनामा भएको पत्रकार सम्मेलनमा सिइओ रहेका शर्माले नीजि क्षेत्रका कर्मचारीको विषयलाई ध्यानमा राखेर कार्यविधि संशोधन गर्ने विषयमा सहमति भएकाे वताए । सामाजिक सुरक्षा काेष नेपालका लागि नयाँ भएकाले रोजगारदाता तथा श्रमिकले बुझ्दै जाने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । विभिन्न क्षेत्रबाट काेषका विषयमा टिकाटिप्पणी भएकाेले प्रश्न उठेकाे भन्दै उनले जायज माग सम्बाेधनका लागि काेष तयार रहेकाे वताए । हालसम्म कोषमा १ लाख ३८ हजार श्रमिक र १२ हजार रोजगारदाता आवद्ध भएको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले आगामी दिनमा सामान्य नागरिकका लागि लक्षित गरी सेवा सुविधाका विषयमा परिमार्जन आवश्यक रहेकाे वताए । पारदर्शिताका साथ सामाजिक सुरक्षा कोषलाई मजदुरमैत्री बनाउनु पर्ने ट्रेड यूनियन (कांग्रेस) का उपाध्यक्ष तेजेन्द्र कार्कीले बताए । ठूला उद्योगलाई मात्र नभइ सबै साना उद्योगहरुलाई समावेश गरेर लैजानु पर्ने उपाध्यक्ष कार्कीले वताए ।