अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो
वासिङटन । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या दुई लाख ११ हजार पुगेको छ । यहीबीच, अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान तीन लाखभन्दा मुनि रहेको छ । तथ्याँक विश्लेषणबाट संयुक्तराज्य अमेरिकाको श्रम बजार निकै नाजूक अवस्थामा रहेको देखिएको छ । तर अमेरिकी श्रम बजारमा गत डिसेम्बरमा अमेरिकी कम्पनीहरुले १ लाख ४५ हजार नयाँ रोजगार सिर्जना गरेका छन् । यद्यपि गत नोभेम्बरमा यस्तो रोजगारी सिर्जना करिब दुई लाख ५६ हजार हुने पूर्वानुमान गरिएको थियो । अमेरिकी श्रम विभागका अनुसार अमेरिकामा हाल बेरोजगार दर ३.५ प्रतिशत पुगेको छ । रासस
युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ, कम्पनीलाई पूर्ण व्यवसायिक रुपमा अगाडि बढाउने प्रतिवद्धता
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी यस कम्पनीको संस्थापक सेयरधनी एनई गु्रप प्रालिका अध्यक्ष समेत रहेका छन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले माघ ९ गते बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिर्ई पदभार ग्रहण गरेका छन् । अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी वहन गरिसकेका छन् । देशको अर्थतन्त्रप्रति गहिरो रुची राख्ने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् । अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिक रुपमा अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताएका छन् । कुशल व्यवस्थापकीय क्षमताका कारण समाजमा ख्याती कमाएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण सेयरधनीहरुबीचकाे सम्बन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट बीमा कम्पनीका रूपमा स्थापित गर्ने कम्पनीको विश्वास रहेको छ ।
राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी, ८० प्रतिशत मत खस्यो
काठमाडाैं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिएका छन् । मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बसेकाे देखिन्थ्याे । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचनमा ५ सय ५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख एक हजार ५ सय ६ गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । मतदान सकिनासाथ राजनीतिक दलको सहमतिमा मतगणना कार्य प्रारम्भ हुने छ । आजै राति सातै प्रदेशबाट निर्वाचनको नतिजा प्राप्त हुनेछ । यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तद्वय नरेन्द्र दाहाल र इश्वरीप्रसाद पौड्यालले वाग्मती प्रदेशको ललितपुर नगरपालिका–४ स्थित वडासमितिको भवन परिसरमा कायम गरिएको मतदान केन्द्रमा भइरहेको मतदानको निरीक्षण गरे । उक्त मतदान केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १ सय १० र स्थानीय तहतर्फ २ सय ३८ मतदाता कायम छन् । रासस