नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णुकुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनित भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ्ग काउन्सिल र पदाधिकारी समितिको हालै सम्पन्न बैठकले परिसंघको विधानको व्यवस्था अनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो । वरिष्ठ उपाध्यक्षमा मनोनित विष्णु कुमार अग्रवाल परिसंघको उपाध्यक्षमा कार्यरत छन् । परिसंघमा विगत डेढ दशकदेखि राष्ट्रिय परिषदको सदस्यका साथै विभिन्न समितिको संयोजकको रुपमा सेवा गर्दै आएका छन् । परिसंघको विगत १३औँ वार्षिक साधारण सभापछि उपाध्यक्ष पदमा निर्वाचित उनी नेपालको विभिन्न उद्योग, बैँक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायसँग आवद्ध छन् । परिसंघसँग आवद्ध सीएनआई-वाईईएफको संस्थापक समेत रहेका अग्रवाल परिसंघबाट विगत वर्षहरुमा आयोजित तीन वटा पूर्वाधार सम्मेलनहरुको सफल आयोजना गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन् । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा परिसंघको स्वतः अध्यक्ष हुने प्रावधान छ ।

टेलिकमको प्रवक्तामा राजेश जोशी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा राजेश जोशी नियुक्त भएका छन् । टेलिकमले मंगलबारदेखि लागू हुने गरी उनलाई कम्पनीको प्रवक्तामा नियुक्त गरेको हो । उनी यसअघि कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा निमित्त प्रबन्धकको रुपमा कार्यरत थिए ।

जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी : मन्त्री पोखरेल

भक्तपुर  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् । सिटीइभिटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उनले सिटीइभिटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सिटीइभिटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताएका हुन् । नामअनुसारले सिटीइभिटीले काम गर्न नसकेको भन्दै उनले करारमा कर्मचारी भर्ना गर्ने, जागिर खाने र बस्ने मात्रै सिटीइभिटीको काम हो भनी प्रश्नसमेत गरे । सिटीइभिटीका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले सिटीइभिटीले पर्याप्त जनशक्ति उत्पादन गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै भने, “सिटीइभिटीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता गरे पनि पर्याप्त जनशक्ति उत्पादन गर्न सकेको छैन, के सिटीइभिटी जागिर खाने थलोमात्रै हो ?” सिटीइभिटीले अहिलेसम्म निजी क्षेत्रलाई अस्थायी सम्बन्धन दिँदै आए पनि त्यो सम्बन्धन स्थायी बनाउनेतर्फ चासो नदिएको उनको भनाइ थियो । उहाँले निजी क्षेत्रसँगको सम्बन्धन स्थायी नभएकाले सिटीइभिटीले गुणस्तरीय र आवश्यकतानुसार जनशक्ति उत्पादन गर्न नसकेको बताए । सिटीइभिटीमाथि जहिले पनि मन्त्रालयले हस्तक्षेप गर्यो, काम गर्न दिएन भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै मन्त्री पोखरेलले भने, “जहिले पनि सिटीइभिटीलाई मन्त्रालयले हस्तक्षेप गर्यो भन्ने ? तपाइहरू भन्न सक्नुहुन्छ, मेरो सचिवालयले कुन–कुन घटनाक्रममा कहिले–कहिले हस्ताक्षेप गरेको छ ? मैले अहिलेसम्म एउटा पनि निजी संस्थालाई सम्बन्धन दिएको छैन ।” सिटीइभिटी आफू काम गर्न नसक्ने तर दोष मन्त्रालयलाई लगाउने गरेकामा रोष व्यक्त गर्दै मन्त्री पोखरेलले भने, “तपाइले एउटै कर्मचारीलाई जिम्मेवारीमा राख्नुभयो ? सक्रिय प्रणाली लागू भएन, पटक–पटक कर्मचारी फेरबदलको सल्लाह दिएँ, कार्यका आधारमा कार्यदिशा तय गरी काम गर्न निर्देशन दिएँ तर लागू भएन ।” सिटीइभिटी सीप, शिक्षा, चरित्र सिकाउने थलो हो भन्दै मन्त्री पोखरेलले आफ्नो जिम्मेवारीप्रति ध्यान दिन निर्देशन दिए । कार्यक्रममा लामो समय काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो । रासस