काठमाडौंमा शुरु भयाे नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो
काठमाडौं । ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ शुक्रबारदेखि शुरु भएकाे छ । कार्यक्रमकाे उद्घाटन उद्याेग मन्त्री लेखराज भट्टले गरेका हुन् । माघ १७ गते शुक्रबारबाट काठमाडौंको भृकुटी मण्डपमा शुरू भएकाे एक्स्पाे माघ १९ गतेसम्म चल्नेछ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा छैठौं ‘नेपाल उड इन्टरनेशनल एक्स्पो २०२०’ र ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ आयोजना गरेका हुन् । प्रदर्शनीमा संसारका विभिन्न देशका २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी गराउन यस्तो प्रदर्शनीहरु गर्दै आएको आयोजकले जनाएकाे छ। अन्तर्राष्ट्रिय प्रदर्शनीमा उड वर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मिसिनेरिज्, पावर टुलस्, प्लेउड, डोर्स एण्ड विन्डोज्, फिटिङ्स, उड एसेसरिज, र्व म्याटेरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रडक्टस्हरु पनि राखिएका छन् । तीन दिने छैठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ ।
विराटनगरमा प्रदेश स्तरीय चित्रकला प्रदर्शनी
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा बिहीबार प्रदेश स्तरीय चित्रकला प्रदर्शनी भएको छ । कार्यक्रमको पहिलो दिन प्रदेश नं १ विराटनगरको सेन्ट्रल महलमा सम्पन्न भएको हो । कार्यक्रममा माननीय सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ सभासदस्य सञ्जय वान्तवा, प्राज्ञ गंगा सुवेदी, प्राज्ञ सरोजा खड्गी, प्राज्ञ एस.सी. सुमन, पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति विजु थपलिया, सामाजिक विकास मन्त्रालयका कानून विद् कोष राज न्यौपाने , पत्रकार महासँघका अन्यक्ष विक्तम लँुइटेलको उपस्थिति रहेको थियो । ललितकला संगम विराटनगरका अध्यक्ष गोपाल कलाप्रेमीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रमको सञ्चालन निवास पोखरेलले गरेका थिए । ४० जना भन्दा बढी कलाकारहरुद्वारा निर्माण गरिएका चित्रकलाको अवलोकन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले प्रदेश नं १ मा चित्रकलाको प्रदर्शनी भए होलान् तथापी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागले ललितकला संगम विराटनगरसँग गरेको यो कार्यक्रम पहिलो रहेकोले आभार व्यक्त गरेका छन् । नेपाल सरकार अन्र्तगतको यो संस्थाले कलाको विकास, प्रवद्र्धन, उन्नयन, संरक्षण गर्दै आएको छ । कार्यक्रममा राजभण्डारीले प्रदेश नं १ विराटनगरमा एउटा कला म्यूजियम निर्माण गर्ने र यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैगरी प्रमुख अतिथि माननीय सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले चित्रकला मार्फत नेपालको विशिष्ठताको परिचय र पहिचान दिएको हुन्छ । यसर्थ यसलाई प्रदेश स्तरीय विस्तार गर्नु आवश्यक रहेको बताए । त्यसैगरी, विविध धर्म, भाषा, संस्कृति भएको देश विश्वको सर्वोच्च शिखर देखि होचो भु–भाग रहेको कारण यस कार्यक्रम महत्वर्पुण रहेको कारण बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक संग्राहलयको निर्माण गर्ने बजेट विनियोजन गरिएको कुराको समेत जानकारी गजमेर गराए ।
वैदेशिक रोजगारीमा जाने युवाले पाउने भए बिना धितो ऋण
जनकपुरधाम । प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन सम्झौता सम्झौता भएको छ । बिहीबार भएको सम्झौता अनुसार बैंकले युवालाई ऋण दिन शुरुआत गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गर्दै प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा कार्यक्रम शुरुआत गरिएको जानकारी दिए । उनले अब वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकेर रोजगारमा जान आग्रह समेत गरेका छन् । यसअघि एसबिआइ बैंकले कर्जाको शुभारम्भ गरेको थियो । प्रभु बैंकले सो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा वैदेशिक रोजगारमा जाने युवालाई उपलब्ध गराउनेछ । सिरहा, धनुषा र महोत्तरीमा एसबिआइ बैंकले सेवा दिने जनाइएको छ । ती बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउँमा बचत खाता खोली दिने र राहदानी लिइ श्रमसम्झौतापछि बैंकमा जम्मा गरेपछि पाँच दिनभित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ । बैंकका कार्यकारी प्रमुख मणिराम पोखरेलको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साह,सचिव रामकृष्ण सुवेदी, डिफिडका रोब क्लर्क, सीप परियोजाका बलजित बोहराले नयाँ कार्यक्रम शुरुआत भएको बताए ।रासस