वैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल
काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशक कुमार दाहाललाई नियुक्त गरिएको छ । यातायात विभागका पूर्व महानिर्देशक तथा राष्ट्रिय सूचना आयोगका सहसचिव दाहाललाई वैदेशिक रोजगार विभागमा नियुक्त गरिएको हो । विभागका निवर्तमान महानिर्देशक भीष्मकुमार भुसाल १० महिनाको कार्यकाल लगतै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त भएसँगै दाहाललाई विभागमा ल्याइएको हो । विभागको महानिर्देशक पदमा दाहाल नियुक्त भएसँगै वैदेशिक रोजगारीको क्षेत्रमा भएका समस्यालाई समाधान गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै निवर्तमान महानिर्देशक डा. भुसालले यस क्षेत्रमा धेरै चुनौती बताए । वैदेशिक रोजगार विभागका २० औं महानिर्देशक दाहाल आइतबारदेखि कार्यालय आउने भन्दै हाल आफू राष्ट्रिय सूचना आयोगमा नै रहेको जानकारी दिएका छन् ।
एउटै वडामा दूध बिक्रीबाट मासिक एक करोड आम्दानी
कास्की । माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको वडा नं ३ घाचोक र वडा नं ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ । लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ । लाहाचोकका कृषकले दूध बिक्रीबाट दैनिक रु तीन लाख ५० हजार तथा मासिक एक करोड पाँच लाख आम्दानी गर्दै आएको गाउँपालिका पशु सेवा शाखाका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए। दूध बिक्रीबाट आयआर्जन हुन थालेपछि कृषकहरु क्रमशः व्यावसायिक पशुपालनमा आकर्षित हुने क्रम बढेको छ । विगतमा एक/दुई वटा पशुपालन गरेर घरायसी उपभोग गर्दै आएका कृषकले समेत व्यावसायिक पशुपालन शुरु गरेका छन् । गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । विशेषगरी यहाँको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत उत्पादन बढिरहेको शाखा प्रमुख पौडेलले बताए । उत्पादित दूध वडामा रहेका दुग्ध सहकारीले सङ्कलन गरेर बजार पुर्याउँछन् भने कही फार्म तथा कृषकले आफ्नै साधनबाट बजार लैजाने गरेका छन् । सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेको हो । जति पनि उत्पादित दूध सहजै नजिकको पोखरा बजारमा खपत हुने भएकाले समेत कृषक पशुपालनमा आकर्षित बनेको देखिन्छ । शुरुमा लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म शुरु गरेपछि अन्य स्थानीयवासीसमेत उनको सिको गर्दै पशुपालनमा आकर्षित भएको वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए । गुरुङको फार्ममा अहिले ३०० भैँसी छन् । विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । वडा नं ३ को घाचोकबाट समेत दैनिक तीन हजार ५०० लिटर दूध बजारमा बिक्री हुने गरेको बताइन्छ । यहाँ वडामा रहेका दुई दुग्ध उत्पादक सहकारीका माध्यमबाट कृषकले आफ्नो उत्पादन बजारसम्म पुर्याउँदै आएका छन् । गाउँपालिकाभरबाट समग्रमा दैनिक १० हजार ५०० लिटर दूध बजारसम्म जाने गरेको पशु सेवा शाखाको तथ्याङ्क छ । नौ वडा रहेको गाउँपालिकाको वडा नं ६ धितालबाट दैनिक एक हजार लिटर बिक्री हुने गरेको छ । त्यसैगरी रिभान, माछापुच्छ्रे र सार्दीखोलबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको तथ्याङ्क छ । त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ । समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रु सात लाख ३५ हजार तथा मासिक रु दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको तथ्याङ्क छ । गाईको दूध प्रतिलिटर रु ५५ तथा भैँसीको रु ८५ मा बिक्री भए पनि औसतमा प्रतिलिटर रु ७० मूल्य पर्ने गरेको छ । दुग्ध उत्पादक कृषक गोपाल पोखरेलले पशु आहारामा बर्सेनि मूल्यवृद्धि हुँदासमेत दूधको मूल्य लामो समयदेखि नबढ्दा कृषक मर्कामा परेको बताउँछन् । दाना, घाँस तथा परालको बर्षेनी मूल्यवृद्धि हुँदासमेत कृषकले उत्पादन गरेको दूधको मूल्य लामो समयदेखि बढ्न सकेको छैन । यसबाट पीडित भएकाे उनले सुनाए। ‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार, समृद्ध माछापुच्छ्रे मूल आधार’ को लक्ष्यसहित गाउँपालिकाले कृषि विकासलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष कर्ण गुरुङ बताउँछन् । चालू आर्थिक वर्षमा कृषकको मनोबल उच्च राख्दै कृषिको व्यावसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि रु ६२ लाख ५० हजार बजेट विनियोजन गरी काम भइरहेको उनले जानकारी दिए । गाउँपालिकामा स्थानीय गाई, भैँसी, उन्नत भैँसी, गाई, बाख्रा, भेडा, चौँरी तथा घोडा गरी २५ हजार ३६७ सङ्ख्यामा पशु रहेको बताइन्छ ।रासस
वैदेशिक रोजगारीको समस्याबारे डा. संग्रौलाको सार्वजनिक महत्वको प्रस्ताव सदनमा
काठमाडौं । प्रतिनिधी सभा सांसद डा. डिला संग्रौलाले वैदेशिक रोजगारीको समस्याबारे सार्वजनिक महत्वको प्रस्ताव सदनमा पेश गरेकी छन् । उनले मंगलबारको संसदमा सो प्रस्ताव पेश गरेकी हुन् । करिब करिब ४० लाखभन्दा बढी युवाहरु रोजगारीका लागि विदेशिएसँगै आएका समस्याको बारेमा उनले सरकारको ध्यान आकर्षित हुनु पर्ने प्रस्ताव पेश गरेकी हुन् । डा.संग्रौलाले विदेशीएका धेरै नेपाली स्वदेश नफर्की विदेशमै जीवन त्याग्न बाध्यता भएको बताइन् । पिडित परिवारलाई सहायता तथा रोजगारी प्रदान गर्न सरकार लाग्नु पर्ने उनको भनाइ छ । वैदेशिक रोजगारीमा गएका ७ हजार ३ सय ९० जनाले एक दशको अवधिमा ज्यान गुमाएका छन् भने दुई दर्जनभन्दा बढी नेपाली युवा विभिन्न मुलुकका अस्पतालमा कोमामा छन् । मुलुकभित्र रोजगारीका सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नु पर्छ, तर यसमा सरकार मौन छ,’ उनले भनिन् । पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेशिया सरकारसँग सम्झौता गरेपनि नेपाली कामदार पठाउनका लागि सरकारले नै मलेशियाली कम्पनीहरुसँग सम्वाद गर्नु पर्ने अवस्था छ ।