२० हजारलाई रोजगारी दिने उद्देश्यसहित आयो भान्साको विषादीरहित गुणस्तरीय खाना

काठमाडौँ । नेपाल युथ डेवलपर क्लबले अबको एक वर्षभित्र २० हजार युवालाई रोजगारी दिने उद्देश्यका साथ विषादीरहित सस्तो र गुणस्तरीय किचेन शुरु गरेको छ । भान्सा किचेन नाम दिएर उसले कलंकीबाट अभियान सुरु गरेको हो । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी उक्त क्लबले नेपालमा विषादीयुक्त र लापरवाहीबाट बनेको खानाहरुले ग्राहकवर्गको स्वास्थ्यमा निकै समस्या देखापरेको भन्दै भान्सामार्फत गुणस्तर खानाको निर्माण प्रक्रिया सुरु गरेको जनाएको छ । क्लबका अध्यक्ष महेश मगरले भान्साले विषादीरहित अर्गानिक खानामात्र उपलब्ध गराउने बताए । अहिले ५० युवालाई रोजगारी दिइएको र एक वर्षभित्र २० हजारलाई रोजगारी दिनेगरी अभियान बढाईएको उनको भनाई थियो । उनले भने,‘हाम्रो अभियान विषादीरहित स्वस्थ, शुलभ र सस्तो खाना खुवाउने हो ।’ उनले देशमा युवाहरुलाई रोजगारीको अवसर दिलाउनुको साथै स्वास्थ्यबद्र्धक खाना खुवाउने अभियान पनि आफूहरुले चलाएको विश्वास दिलाए । आफूहरुले स्नातक पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई रोजगारीको लागि पहिलो प्राथमिकतामा राखेको पनि उनले सुनाए । युवा सशक्तिकरणका लागि क्लब सक्रिय रहेको बताउँदै मगरले भने,‘राजगारीका लागि अहिलेसम्म पनि पहिचान हुनुपर्छ । पहिचान नभए रोजगारी पाउन निकै कठिन छ ।’ नेपाल युथ डेवलपर क्लबद्वारा स्थापना गरिएको भान्साले प्रत्येक दिन फरक–फरक खानाका परिकार बनाउने पनि अध्यक्ष मगरले बताए । उनले बजारको मूल्यभन्दा निकै सस्तो दरमा खाना उपलब्ध गराउने जानकारीसमेत दिए । उनकाअनुसार भान्साले सात दिन सात परिकारको खानाको व्यवस्था गरेको छ । सो खानाहरु प्रत्येक दिन गुणस्तर टेस्ट भएपश्चात मात्र खाना ग्राहकवर्गमा पु¥याउने गरिएको पनि उनले जनाए । तत्काल भान्साले ५० जना विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गरेको र आगामी एक वर्षभित्र नेपाल युथ डेवलपर क्लबले द्यजबलसामार्फत २० हजारलाई रोजगारी दिने उद्देश्य लिएको मगरले बताए । खानाको गुणस्तरमा कुनैपनि सम्झौता नहुने समेत उनले प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, ट्याक्सी चालकहरुलाई ध्यानमा राखेर ‘ट्याक्सी–कर्नर’ को समेत स्थापना गर्न लागिएको उनले घोषणा गरे । ‘भविष्यमा नेपाल युथ डेवलपर क्लबले नेपालीहरुलाई ठूलो मात्रामा विदेश पलायन हुनबाट रोक्नसक्ने र स्वदेशमै रोजगानरी सिर्जना गर्नेछ । हामी यो विश्वासका साथ यो अभियानमा लागेका छौं ।’–उनले थपे । यस वर्ष काठमाण्डौँ, ललितपुर र भक्तपुरमा सटर खोल्ने समेत उनले जनाए । बजारको मूल्यभन्दा कम दर र गुणस्तरमा खाना प्रदान गर्ने जनाउँदै उनले अहिले प्रति प्लेट ७५ रुपैयाँ लिईएको बताए । देशमा रोजगारीको अवस्था नभएको कारण सम्पूर्ण युवाहरु विदेश पलायन हुन बाध्य भएको उनले कहालीलाग्दो अवस्था सुनाए । यसलाई मध्यनजर गरेर स्वदेशमै युवाहरुलाई रोजगारी सिर्जना गर्ने प्रयासमा नेपाल युथ डेवलपर क्लबले भान्सा माफर्त यो अभियान सुरु गरेको उनको भनाई छ । कार्यक्रममा नेशनल प्रजातान्त्रिक गठबन्धनका संयोजक तथा पूर्वमन्त्री किशोरी महतोले नेपाल युथ डेवलपर क्लबद्वारा गरिएको शभारम्भले युवा वर्गमा रोजगारी सिर्जना गर्ने आशा व्यक्त गरे । उनले भने,‘रोजगारीको नाममा राज्यले युवा वर्गालाई विदेश पलायन गरेको छ र युवाले पठाएको रेमिट्यान्सले राज्य चलेको छ ।’ नेपाल युथ डेवलपर क्लबले राम्रो काम गरेका भन्दै उनले धन्यवाद समे दिए । डेवलपर क्लबद्वारा स्थापना गरिएको भान्साले जैविक खानाका साथ गुणस्तर खानाको व्यवस्था गरेको उनले बताए । राज्यको कमजोरीका कारण युवाहरु विदेश पलायन हुन बाध्य रहेका उनले पटक–पटक गुनासो पोखे । युवालाई नेपाल युथ डेवलपर क्लबले उत्प्रेरित गर्ने काम गरिरहेको पनि उनले स्पष्ट पारे ।

हिमालयन बैंकको अध्यक्षमा गौतम

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् । बुधबार सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले गौतमलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हाे । बैंकलाई प्रतिस्पर्धी बनाउन आफूले सक्दो प्रयास गर्ने अध्यक्ष गौतमले बताए । ‘बैंकलाई राम्रो बनाउने मेरो पहिलो प्राथमिकता हो, ठूलो बैंक बनाउने भन्दा पनि प्रतिस्पर्धी र अब्बल बैंक बनाउन सक्दो प्रयास गर्छु’, अध्यक्ष गौतमले विकासन्युजसँग भने । बैंकमा सर्वसाधारणको १५ प्रतिशत मात्रै सेयर स्वामित्व छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणकाे सेयर हिस्सा कम्तिमा ३० प्रतिशत बनाउन निर्देशन दिईसकेको छ । बैंकले प्रमोटर सेयर साधारणमा परिणत गरेर साधारण सेयरको हिस्सा बढाउने रणनीति लिएको छ । त्यस्तै, सभाले संस्थापक सेयरधनीको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले आगामी कार्यकालको लागि आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैसल लालानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको हो । सञ्चालक पदको निर्वाचनको लागि यी ५ जनाको मात्रै उमेदवारी परेकाले सभाले निर्विरोध निर्वाचित गरेको हो ।

नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई बुधबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा  आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्नबाट सुशोभित गरेका हुन् । मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुने गरी उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेको हो । उक्त समारोहमा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गरे । प्रहरी सङ्गठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ सङ्केत गर्दै उनले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिए । उनले नेतृत्व परिवर्तन भए पनि कार्यसम्पादन सम्झौता उही रहेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् । उनले प्रहरी अधिकारी व्यक्तिवादी भावना बढेकोतर्फ सङ्केत गर्दै आफूलाई सच्याउनु जरुरी छ भने । ‘माथिल्लो तहमा प्रतिष्पर्धात्मक भावना बढी भएको छ, उछिन्न दौडनेभन्दा व्यावसायिक काममा ध्यान दिनुपर्छ, व्यक्ति केन्द्रित दौडले व्यावसायिकतामा कतै न कतै सम्झौता भएको छ’, प्रहरी अधिकृतलाई इङ्कित गर्दै गृहसचिव न्यौपानेले भने । प्रहरी समायोजन र आपराधिक गतिविधि निस्तेज पार्न केही चुनौती रहेको स्वीकार गर्दै उनले त्यसमा सङ्गठनको व्यावसायिकता प्रदर्शन गर्दै सामूहिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले हालै मात्रै प्रहरीसम्बन्धी दुई विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकाले अब छिट्टै आवश्यक प्रक्रिया अघि बढ्ने बताए । हरेक हप्ता गृहमन्त्रालयमा उच्च व्यवस्थापनको समीक्षा बैठक बस्ने जानकारी दिँदै उनले बैठकले सुरक्षाको क्षेत्रमा उत्पन्न हुने समस्या समाधानमा सहयेग गर्ने विश्वास व्यक्त गरे । प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्नुपर्ने र अपराधलाई निस्तेज पार्नुपर्ने आजको आवश्यकता औँल्याउँदै उनले समृद्ध नेपाल निर्माणमा प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए । गृहसचिव न्यौपानेले भने, ‘शान्ति सुरक्षा कामय गर्न चुक्यौँ भने समृद्ध राष्ट्र निर्माण अभियानमा असर पर्छ, यसतर्फ प्रहरी अधिकृतको ध्यानाकर्षण गराउनु चाहन्छु ।’ अपराधी नियन्त्रण र प्रहरी समायोजन वर्तमानका चुनौतीः नवनियुक्त महानिरीक्षक ज्ञवाली उक्त समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले अपराध नियन्त्रण र प्रहरी समायोजन वर्तमान समयमा प्रहरीका लागि चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौती सामना गर्न प्रहरी सङ्गठन तयार रहेको बताएका छन् । मुलुक सङ्घीयतामा गए पनि कानूनतः सबै प्रक्रिया सङ्घीयतामा गइनसकेको उनको भनाइ थियो । संविधान कार्यान्वयन, नागरिकको अधिकार संरक्षण गर्न महानिरीक्षकको हैसियतमा आफू कटिबद्ध रहेको उल्लेख प्रहरी महानिरीक्षकक ज्ञवालीले गृहमन्त्रालयको मार्ग निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाए । उनले अवाञ्छित र विध्वंसात्मक गतिविधि निस्तेज गरी कानूनको पालनामा आफूले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । उनले समृद्धि, समुन्नत र सुशासनको क्षितिजमा उदाउँदै गरेको मुलुकको छेकवारलाई परास्त गर्ने विश्वससमेत दिलाए । आजको जनउत्तरदायी युगमा प्रहरीले नागरिकको मन जितेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै ज्ञवालीले प्रहरीको भेषमा कुनै अवाञ्छित गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रहरी कर्मचारीको मनोबल उच्च राख्नमा नै आफ्नो ध्यान जाने उनको भनाइ थियो ।रासस