पाटा नेपालद्वारा ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को तेस्रो संस्करण आयोजना

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को तेस्रो संस्करण आयोजना गरेको छ । पाटा युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्ट्र सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा आयोजना हुने वार्षिक कार्यक्रम हो । सो कार्यक्रम प्रतिभावान युवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम,सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमता अभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने मञ्च बनेको छ । यस वर्ष पाटा नेपालले पाटा ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट २०२० अन्र्तगत “पब्लिक स्पिकिङ कम्पिटिसन”,“टुरिजम एन्ड हस्पिटालिटी क्विज” र “फुटसल प्रतियोगिता” गरि तीन वटा कार्यक्रम अघि सारेको छ । फेब्रुअरी २४ तारिका दिन राजधानीको गेट कलेजमा आयोजित “पब्लिक स्पिकिङ कम्पिटिसन”को फाइनलमा १० वटा विभिन्न पाटा नेपाल सदस्य शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुले “पर्यटनमा आई पर्ने जोखिम तथा संकट न्युनीकरणका उपायहरु र आत्मवल निर्माणको आवश्यकता”, “भ्रमण वर्ष २०२० अभियानका लागि चुनौती तथा अवसरहरु”र “नेपाललाई घुम्नै पर्ने गन्तव्यका रुपमा स्थापना गर्ने रणनीतिहरु” जस्ता विषयमा प्रस्तुती दिएका थिए । उक्त कार्यक्रमको निणार्यक मण्डलको रुपमा पूर्व पर्यटन सचिव दीपेन्द्र पुरुष ढकाल, पाटा नेपालका निर्वतमान अध्यक्ष र कोरा टुर्सका सिइओ विजय अमात्य रहेका थिए ।सहभागिहरुमध्ये नाथम कलेजका छात्र सन्जय नेपाल प्रथम, गेट कलेजका सम्जिक ह्याङग राई दोस्रो र सिल्भर माउन्टेनकी रोवीना श्रेष्ठ तेस्रो स्थान हासिल गरेका थिए । विजेताले पुरुस्कार स्वरुप आगामी मार्च ३१ देखी अप्रिल ३ सम्म यूएईमा आयोजना हुने पाटा एनुअल समिट्मा सहभागि हुने अवसर प्राप्त गरेका छन । त्यसैगरी फेब्रुअरी २७ तारिखका दिन मिडभ्यालि इन्टरनेशनल कलेजमा आयोजित “टुरिजम एन्ड हस्पिटालिटी क्विज” को उपाधि सिल्भर माउन्टेन स्कुुुल अफ होटल म्यानेजमेन्टले प्राप्त गरेको छ भने नेपाल कलेज अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट ले दोस्रो र ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशनले तेस्रो स्थान हासिल गरेका छन । पाटा नेपाल द्धारा आयोजित युथ ट्यालेन्ट क्वेस्ट २०२० लाई जेनिथ ट्रेनिङ्ग इन्सिटिच्यूट, हाई ग्राउन्ड एडभेन्चर, वनहर्न एडभेन्चर, बुद्ध एयर, समिट एयर, केजिएच ग्रुप अफ होटल, सेभर नेपाल, आर्य भिलेज ट्राभल, मेरियट काठमाडौं, गोइङ नेपाल, ¥याफटिङ स्टार, फुडमान्डु, सिमसिमे ट्राभल र एटर्निटी लगायत विभिन्न सदस्य शैक्षिक संस्थाहरु गेट, मिडभ्याली, क्याथ, आईएसटि,गेटवे एनसिटिटिएम,र एविसि कलेजहरुले प्रायोजन तथा सहकार्य गरेका थिए ।

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णुकुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनित भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ्ग काउन्सिल र पदाधिकारी समितिको हालै सम्पन्न बैठकले परिसंघको विधानको व्यवस्था अनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो । वरिष्ठ उपाध्यक्षमा मनोनित विष्णु कुमार अग्रवाल परिसंघको उपाध्यक्षमा कार्यरत छन् । परिसंघमा विगत डेढ दशकदेखि राष्ट्रिय परिषदको सदस्यका साथै विभिन्न समितिको संयोजकको रुपमा सेवा गर्दै आएका छन् । परिसंघको विगत १३औँ वार्षिक साधारण सभापछि उपाध्यक्ष पदमा निर्वाचित उनी नेपालको विभिन्न उद्योग, बैँक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायसँग आवद्ध छन् । परिसंघसँग आवद्ध सीएनआई-वाईईएफको संस्थापक समेत रहेका अग्रवाल परिसंघबाट विगत वर्षहरुमा आयोजित तीन वटा पूर्वाधार सम्मेलनहरुको सफल आयोजना गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन् । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा परिसंघको स्वतः अध्यक्ष हुने प्रावधान छ ।

टेलिकमको प्रवक्तामा राजेश जोशी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा राजेश जोशी नियुक्त भएका छन् । टेलिकमले मंगलबारदेखि लागू हुने गरी उनलाई कम्पनीको प्रवक्तामा नियुक्त गरेको हो । उनी यसअघि कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा निमित्त प्रबन्धकको रुपमा कार्यरत थिए ।