फागुन १४ र १५ गते पहिलो लगानी सम्मेलन हुँदै

रोल्पा । रोल्पा नगरपालिकाले यही फागुन १४ र १५ गते लिवाङमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा उद्योग, व्यापार पर्यटन तथा जलविद्युत्को क्षेत्रमा व्यक्ति एवं विज्ञको सहभागिता रहने छ । जलविद्युत्, पर्यटन, कृषि तथा उद्यमका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ सम्मेलन गर्न लागेको नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए । उनले जिल्लामा लगानीको राम्रो सम्भावना रहेकोे र सम्मेलनपश्चात् ऊर्जा, कृषि तथा पर्यटनको क्षेत्रमा प्रगति हुने बताए । जिल्ला समन्वय समिति तथा उद्योग वाणिज्य सङ्घ सम्मेलनको सहआयोजनक रहेका छन् । सम्मेलनले ऊर्जा तथा पर्यटन क्षेत्रको लगानीको ढोका खुल्ने विश्वास लिएको आयोजक समितिका सहसंयोजक विश्वकुमार चन्दले बताए । रासस

किसानलाई ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गर्दै वाग्मती प्रदेश सरकार

हेटौँडा । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो । प्रत्येक कृषकको समेत ५० प्रतिशत लगानी हुनेगरी ढुवानी ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गरिने जनाइएको छ । त्यसरी अनुदान प्राप्त गर्ने प्रदेशभरका १३ कृषकको नाम छनोट कार्यसमेत सम्पन्न गरिएको बताइएको छ । कृषि निर्देशनालयका अनुसार त्यसरी छनोट गरिएका प्रदेशका १३ किसानमध्ये आठले पिकअप गाडी, दुईले ट्र्याक्टर र तीन जनाले ढुवानी ट्रक प्राप्त गर्नेछन् । प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन कृषकलाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई कृषिमा प्रयोग हुने उपकरण उनीहरुको समेत थप लगानीमा वितरण गर्न लागिएको निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले जानकारी दिए । उनका अनुसार त्यस्ता कृषि उपकरण प्राप्त गर्न ती किसानले कम्तीमा ४०० रोपनी जग्गामा तरकारी, फलफूल तथा अन्नबाली लगाएको हुनुपर्ने छ । प्रदेश सरकारले कृषि उपजको वृद्धिका लागि साना किसानलाई पनि अलग्गै कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको मन्त्रालयले जनाएको छ । आधुनिक कृषि प्रणाली अपनाई पशुपालन तथा कृषि उत्पादन गर्ने व्यावसायिक कृषकलाई सरकारले सहयोग गर्ने प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा बताउँछन् । त्यसरी गरिने कृषिमा जैविक कृषि प्रणाली अपनाउने कृषकलाई सरकारले प्रथमिकता दिने उनको भनाइ छ ।रासस

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र देशको समृद्धि हुन्छः उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायिक प्रबद्र्धनका लागि ढुक्कसँग काम गर्ने वातावरणको सृजना गरी उनीहरुसँग सही अर्थमा साझेदारी गर्न सकिएमा मात्र देशमा समृद्धि प्राप्त हुने बताएका छन् । दार्चुलामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सवलाई आइताबर सम्बोधन गर्दै उनले भने– निजी क्षेत्रलाई सरकारले विकासको साझेदारका रुपमा लिएर हातेमालो गरेर अघि नबढ्दासम्म देशमा समृद्धि सम्भव छैन । नेपालका तीनओटै तहका सरकारहरुले निजी क्षेत्रसँग सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी गर्न सकेमा प्रदेशस्तरमा लगानी भित्रिने छ र यसबाट समृद्ध नेपाल र सुखी नेपालीको सरकारको अभियान सार्थक बन्नेछ उनले भने । नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको आवश्यकता र महत्वमाथि प्रकाशपार्दै देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा हो र यससँगको सहकार्य र साझेदारीबाट मात्र देश समृद्ध बन्न सक्ने ढकालले बताए । उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिश्पर्धा गरेको देखिएकोले यसलाई व्यावहारिकतामा परिणत गरी तीनै तहका सरकारले निजी क्षेत्रको प्रबर्धन गरी अघि बढ्न सुझाव दिएका छन् । उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा नियम कानूनहरु निर्माण गर्दा सरोेकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिएमा यसको कार्यान्वयनमा सहयोग पुग्ने र अन्ततः यसबाट राज्य र नेपाली नागरिक नै लाभान्वित हुने धारणा पनि राखे ।