नेपाल व्यवस्थापन संघको अध्यक्षमा किरणकुमार श्रेष्ठ, उपाध्यक्षमा मिश्र र पोखरेल निर्वाचित

काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनी व्यक्तिगत तर्फबाट संघमा सदस्य निवार्चित भएका थिए । त्यस्तै, म्यानको उपाध्यक्षमा दुई जना निर्वाचित भएका छन् । जसमध्ये प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र निर्वाचित भएका छन् भने दोश्रो उपाध्यक्षमा आईएमई समूहका सीईओ सुमन पोखरेल निर्वाचित भएका छन् । नवनिर्वाचित प्रथम उपाध्यक्ष मिश्र संस्थागत सदस्यबाट निर्वाचित भएका हुन् भने दोश्रो उपाध्यक्ष पोखरेल व्यक्तिगततर्फबाट सदस्यमा निर्वाचित भएका म्यानले जानकारी दिएको छ ।

यूनिलिभर नेपालको प्रबन्ध निर्देशकमा अमलान मुखर्जी

काठमाडौं । यूनिलिभर नेपालको प्रबन्ध निर्देशक(एमडी)मा अमलान मुखर्जी नियुक्त भएका छन् । माघ २४ गते(फेब्रुअरी ७) बसेको कम्पनी सञ्चालक समितिको बैठकले मुखर्जीलाई कम्पनीको एमडी पदमा नियुक्त गरेको हो । नवनियुक्त एमडी मुखर्जीले आगामी फागुन १८ गते(मार्च १)देखि आफ्नो पदको जिम्मेवार सम्हाल्ने छन् । हाल कम्पनीको एमडी पदको जिम्मेवार आशिष राईले सम्हालिरहेका छन् । उनले आगामी फागुन १७ गतेदेखि (फेब्रुअरी २९) लागू हुने गरी उक्त पदबाट राजिनामा दिँदै छन् । त्यसपछि रिक्त हुने कम्पनीको एमडी पदमा अमलान मुखर्जी नियुक्त गरिएको कम्पनीले बताएको छ ।

अनि महान् भइन् ‘अधिकृत साहेवकी श्रीमती’

काठमाडौं । हातमा दुई चार पोका निम्की, खजुरी र फुरुनदाना लिएर पसल पसलमा जानु सुजिताको दैनिकी । पसलेवालाहरु कसैले किन्छन्, कसैले किन्दैनन् । यो क्रम चलि रहेको छ विगत १४ वर्षदेखि । काठमाडौंको चावहिल चोक नजिकै देखिन्छन् सुजिता पौडेल । २०६२ सालदेखि काठमाडौंको चावहिलमा बस्दै आएकी सुजिताको दैनिकी अलि पृथक छ । हुन त उनी अधिकृतकी श्रीमती । घरमा खान, लाउन र छोराछोरीलाई विद्यालय पढाउन पैसा पुग्छ । तर, उनलाई त्यतिले सन्तुष्टि मिलेन । उनले आफैले केही गर्ने योजनाका साथ काम गरिन् ।  त्यो काम थियो उनको निम्की, खजुरी र फुरुनदानाको व्यापार । सुरुमा उनका श्रीमानले पनि पत्याएनन् । सानो–सानो पाकेटहरु पसल–पसलमा लिएर विक्रि गर्नु सहज थिएन उनका लागि। तर भन्छन् नी– ‘जहाँ इच्छा त्यहाँ उपाय’ सुजिताले पनि त्यही संकल्प लिएर अगाडि बढिन् र सुरु गरिन् निम्की, खजुरी र फुरुनदानाको व्यापार । अब सुरु भयो उनको पसल–पसलमा गएर अर्डर लिने काम । फुरुनदाना बनाउनका लागि उनले सुरुमा १५ हजारको सामग्री घरमा ल्याइन् । उनको दैनिकी दिनभर पसल–पसलमा गएर बित्थ्यो । कसैले किन्थे कसैले किन्थेन । कसैले किनेन भनेर पनि उनी निराश हन्थिनन् । किनकी उनको यात्रा लामो थियो । दिन महिना र वषौं बित्दै गए । उनको व्यापारले पनि काँचुली फेर्दै गयो । बजारमा उनी चिनन थालिन् । सबैले उनको व्यापार मन पराउन थाले । उनका श्रीमान अधिकृत थिए । उनका श्रीमान ृषि अनुसन्धान केन्द्र खुमलटारमा अधिकृतका रुपमा काम गर्थे । उनका श्रीमान अधिकृत भएकै कारण उनले धेरै कुरा पनि सुन्नु पर्यो । श्रीमान अधिकृत हुनुहुन्छ, यसरी पसल–पसलमा आएर सामान किन बेच्छौं ? भन्ने खालका प्रश्नहरु उनले जीवनमा धेरै खेप्नु पर्यो । ‘छिमेकी र आफन्तहरुले अधिकृतको श्रीमती भएर पनि यस्तो काम गर्छौ भन्थे, म खिसिक्क हाँसेर प्रतिक्रिया दिन्थेँ, उनीहरुलाई मेरो केही जवाफ हुन्थेन,’ उनले भनिन् । आफुले कामलाई सानो ठूलो कहिल्यै नलिएको उनी बताउँछिन् । उनी बजारमा चिनिदै गइन् । उनका ग्राहक उनका प्रडक्ट मन पराउन थाले । माग पनि बढ्न थाल्यो । सुरु सुरुका दिनहरुमा मार्केटमा स्थापित हुन धेरै गाह्रो भएको उनले सुनाइन् । हाल उनको प्रडक्ट धेरैले मन पराउँछन् । हिजो अधिकृतको श्रीमती भएर पनि यस्तो काम गर्ने भन्नेहरु आजभोली उनलाई महान महिलाको ताज भिडाउँछन् । हाल सुजिताले स्तुती खाद्य प्रोडक्ट नाम गरेर एउटा घरेलु उद्योग खोलेकी छन् । करिब १० जना लाई पनि उनले आफ्नो उद्योगमा रोजगारी दिएकी छन् । हिजो अधिकृतकी श्रीमती भनेर गिज्याउनेहरु आजभोली सफल महिला उद्यमीको उपनाम दिने गरेको उनले बताइन् । सधैं कामप्रति झुकाव राखेर अगाडि बढे एकदिन अवश्य नै सफल भइने उनले बताइन् । वि.स २०३१ सालमा विरगञ्जमा जन्मिएकी सुजिता हाल सफल उद्यमीका नामले चिनिन्छिन् । उनी अहिले ४६ वर्ष भइन। तर, उनको काम प्रतिको जोश जाँगर भने उत्तिकै छ । फुरुनदाना, खजुरी, मिठेऔंठे, निम्कीलगायतका सामानको अर्डर लिन पसल–पसल जाने सुजिताको दैनिकी आज पनि निरन्तर छ । उनी समाजमा सबैको उदाहरण दिने पात्र बनेकी छन् । जनकपुरमै एसएलसी पास गरेकी उनले त्यस लगत्तै घरेलु तथा महिला उद्यमीले प्रदान गरेको तालिम लिइन् । एसएलसी पास भएसँगै उनले जनकपुरकै रारा बहुमुखी कलेजबाट कक्षा १२ पास गरिन् । बिबिएस पढ्दै उनको वि.स २०५३ सालमा सिन्धुलीका पुरुषोत्म खतिवडासँग विवाह भयो । जव विवाह भयो उनको अध्ययनले भने निरन्तरता पाउन सकेन । उनले काठमाडौंमै आएर हाल गरिरहेको व्यवसाय गर्न थालिन् । सुरुमा सबैले संकुचित नजरबाट हेरे पनि उनको काम निरन्तर अगाडि बढेकै कारण उनलाई सबैले अधिकृतकी महान श्रीमतीको संज्ञा दिन्छन् । हाल उनी सन्तुष्ट छिन् । १४ वर्ष अघिदेखि गरेको एउटा सानो व्यापारबाट एक उद्योगीको दर्जा पाएकी छिन् । विभिन्न महिला उद्यमी कार्यक्रममा जाँदा उनलाई एक पृथक तथा फरक नजरबाट हेर्ने गरेका छन् । नेपालको आर्थिक विकासका लागि घरेलु तथा महिला उद्यमीहरुको ठूलो योगदान छ । आफ्नो काममा निरन्तर नहड्बडाएर लागे सफलता हात पार्न सकिने उनी बताउँछिन् ।