कोरोना भाइरसको संक्रमण बढेसँगै वैदेशिक रोजगारीमा थप चुनाैती

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै वैदेशिक रोजगारीमा थप समस्या तथा चुनौती पैदा भएको छ । पछिल्लो समय कोरोना भाइरस फैलिएसँगै आगामी दिनमा वैदेशिक रोजगारमा समस्या पैदा भएकाे वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले बताएका हुन् । नेपाल सरकारले कोरियामा कामदार पठाउन रोक लगाएसँगै पछिल्लो समय कुवेतको भिसा बन्द गरेको छ । त्यस्तै अन्य कोरोना संक्रमण फैलिएका देशको अवस्था हेरेर श्रम स्वीकृति रोक्ने तयारीमा सरकार रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलन मार्फत अध्यक्ष गैरेले भने- ‘कोरोना भाइरसले सबैलाई संवेदनशील बनाएको छ, करिब ४२ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारी रहेको यो अवस्थामा नेपाली कामदारको विषय सरकारको धारणा प्रति सहमत रहेका छौं ।’ नेपाली कामदारलाई रोजगार गन्तव्य मुलुकले बन्द गर्न नभनेसम्म यता नेपाल सरकार हतारिनु पर्ने अवस्था पैदाँ नभएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेले जानकारी दिए । छिमेकी राष्ट्रबाट नै कोरोना भाइरसको उद्गम स्थल भएकाले आगामी दिनमा वैदेशिक रोजगारी जानलाई गाह्रो पर्ने व्यवसायी संघले जनाएको छ । साउदी अरब र दुबईले सूचना जारी गर्दा सरकारी अधिकारीहरु अति संवेदनशिल बन्दै गएका छन् । फ्लाई दुबई मार्फत बहराई गएका ३० जना नेपालीको फर्किनुको मूख्य कारण कोरोना संक्रमण देशमा जाँदा हो । केहि दिन अघि इरानबाट एक बहराईनी नागरिकले यात्रा गर्ने क्रममा भाइरस सरेको थियो । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १ सय नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ । यस भाइरसका कारण विश्वभरी कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।  संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ । यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेकाे बेला अमेरिकामा पनि छ जनाको ज्यान गएको अधिकारीहरूको भनाइ छ ।

नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा डा. पुन नियुक्त

काठमाडाैं । नेपाल बैंकले युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।  पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र केन्द्रका अध्यक्ष डा. पुनले हस्ताक्षर गरे । प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाइ दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए । सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्राण्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको बताएका छन् । उनले देशको समृद्धिका लागि अगाडि बढ्ने मौका आएको भन्दै नेपाल बैंकको प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जनस्तर र विदेशीको सहयोगमा स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० वटा क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ । वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्तित्व पुन म्याग्दी जिल्लाको नाङ्गीगाउँमा जन्मिएका हुन् । उनले एशियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मान पाएका छन् । विसं १९९४ कात्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्न रूपमा नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंकले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम छ ।

निजी शिक्षक सासु कोषमा जान उत्साहित, रोजगारदाताले उत्सुकता नदेखाएकाे आरोप

काठमाडौं । निजी शैक्षिक संस्थाका शिक्षकहरु सामाजिक सुरक्षा कोषमा जान उत्साहित भएका छन् । उनीहरु कोषमा आवद्ध हुन उत्साहित भएपनि रोजगारदाताहरुको कारण त्यसमा सहभागी हुन नपाएको बताएका छन् । पछिल्लो समय रोजगारदाता र योगदानकर्तालाई एकिकृत गर्नका लागि गरिएको कोषको केहि कार्यविधि संशोधनको माग उद्योगी र बैंकिङ्ग क्षेत्रका मानिसले गरिरहदाँ निजि क्षेत्रका शिक्षक भने कोषमा जान उत्साहित भएका हुन्। वि.स २०७५ साल मंसिर ११ गते नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा कोषको प्रभाव त्यति धेरै परेको छैन । तर, उनीहरु भने समाजिक सुरक्षा कोषमा जान पाउनु पर्ने भन्दै आवाज उठाउन थालेका छन् । संस्थागत विद्यालय शिक्षक यूनियन (आइएसटीयु) अध्यक्ष होमकुमार थापाले निजी शिक्षकहरु सामाजिक सुरक्षा कोषमा जान इच्छुक भएपनि रोजगारदाताले त्यति उत्सुकता नजनाएको बताए । शैक्षिक संगठनका प्याब्सन र एन प्याब्सनले सरकारी निकायसँग कुरा गर्दा कोषमा आवद्ध हुने भन्ने तर बाहिरी निस्किएपछि सामाजिक सुरक्षा कोषका विषयमा बुझेर मात्र अगाडि बढ्नु पर्छ भन्ने धारणा रोख्ने गरेको उनको भनाइ छ । यो प्रवृतिले निजी शिक्षक मारमा परेको उनले बताए । रोजगारदाताले सबैको चाँसो रहेको सामाजिक सुरक्षा कोषमा आवद्ध ल्याउन टर्दै आएसँगै निजि संस्थागत विद्यालय शिक्षक यूनियन कोषमा नै धर्ना बसेका छन् । उनीहरु सामाजिक सुरक्षा कोषमा सहभागी हुन पाउनु पर्ने भन्दै धर्ना बसेका हुन् । निजी शिक्षकलाई कोषमा ल्याउनका लागि प्याब्सन र एन प्याब्सनसँग पटक–पटक छलफल गरेपनि बेवास्ता गरेपछि उक्त धर्ना गर्न बाध्य भएको यूनियनका उपाध्यक्ष नारायण पौडेल बताउँछन् । सामाजिक सुरक्षा कोषबाट सुरुवात गरेको धर्ना अगामी दिनमा यस विषय सुनुवाई नभए जिल्ला जिल्लामा पुर्याउने उनको भनाइ छ । वि.सं. २०४८ सालदेखि शैक्षिक पेसामा आवद्ध रहेका जोरपाटीका मोतिराम फुयालले निजि विद्यालयका संचालक आफ्नो संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषयमा पछाडि हटेको बताउँछन् । २०७६ सालको साउन मसान्तसम्म सम्पूर्ण निजि प्रतिष्ठानका कर्मचारीलाई कोष आवद्ध गराउँने उद्देश्यले अगाडी बढेको थियो । तर, कोषमा सूचिकृति हुनेको संख्यामा त्यति ठूलो फरक देखिँदैन । निजि विद्यालयको विषय बोल्ने प्याब्सन र एन प्याब्सनले सरकारी निकाय र शिक्षकहरुको भेलामा कोष प्रति फरक–फरक धारणा व्यक्त गर्दै आएका उनीहरुको भनाइ छ । कोष सुरु भएदेखि तीन पटक समय थप्दा पनि आठ हजार पाँच सय शिक्षकलाई कोषमा नसमेटिएको प्रति उनीहरुले विरोध जनाएका हुन् । शिक्षक कर्मचारीहरुलाई नियुक्ति पत्र नदिएको,शिक्षा ऐन अनुसार बिद्यालय व्यवस्थापन समिति नबनाएको, नेपाल सरकारले तोकेको तलब बिदा बीमा उपादान लगाएतका सेवा सुबिधा नदिएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।