आर्थिक समृद्धिसँग जोडिएको भैँसीपालन व्यवसायलाई दीर्घकालीन विकास गर्न राष्ट्रिय रणनीति बनाइँदै
कास्की । नेपालमा भैँसीपालनको दीर्घकालीन विकासका लागि राष्ट्रिय रणनीति निर्माण गरिने भएको छ । नेपालको कृषिमा आबद्ध कूल जनसङ्ख्याको ५० प्रतिशत कृषकले भैँसीपालन गर्दै आएका छन् । करिब ८५ प्रतिशत जनताको आर्थिक समृद्धिसँग जोडिएको र देशको कूल गार्हस्थ्य उत्पादनमा छ प्रतिशत योगदान रहेकाले समेत यसको व्यावसायिक विकासका लागि राष्ट्रिय रणनीति बनाउनुपर्ने आवश्यकता महसुस भएपछि आगामी दुई महिनाभित्र पहिलो पटक १० वर्षे भैँसीपालन रणनीति बनाएर सार्वजनिक गर्ने तयारी गरिएको हो । देशको तीन हजार ५०० मिटर उचाइसम्म व्यावसायिक भैँसीपालन सम्भव रहेको तथा प्रशस्त चरन क्षेत्र र अनुकूल हावापानी रहेको अवस्थामा भैँसीपालनको व्यावसायीकरणमा देखिएका समस्या पहिल्याउँदै दिगो विकासका लागि राष्ट्रिय नीति निर्माण गर्ने उद्देश्यले वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, प्राविधिक तथा कृषकहरु सम्मिलित सोमबार र मङ्गलबार पोखरामा भएको राष्ट्रिय कार्यशालाले व्यावसायिक विकासका लागि अवलम्बन गर्नुपर्ने नीतिका बारेमा विभिन्न पाँच सैद्धान्तिक विषयमा छलफल गरेको थियो । कार्यक्रममा भैँसी प्रजनन तथा संरक्षण, दाना र पोषण सुधार, स्वास्थ्य र कल्याण सुधार तथा भैँसीको बजार मूल्य शृङ्खला र नीति र ज्ञान व्यवस्थापनका विषयमा सहभागीहरुबीच छलफल गरी आवश्यक सुझाव सङ्कलन गरिएको थियो । सहभागीहरुले दूधालु भैँसी सुधार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, स्थानीय ‘लिमे’, ‘पारकोटे’ जातको भैँसीको संरक्षणको नीति बन्नुपर्ने, जलवायु परिर्वतका कारणले समेत भैँसीपालन गर्नेहरुको सङ्ख्या घटिरहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने र उत्पादन लागत कम गर्नक घाँसमा आधारित पशुपालन उपयुक्त रहेको निश्कर्ष निकालिएको पशुसेवा विभागका महानिर्देशक डा वंशी शर्माले बताएका छन् । सहभागीहरुबाट प्राप्त सुझावहरुलाई समावेश गरेर आगामी तीन हप्ताभित्र विभागका उपमहानिर्देशक डा. दयमन्ती श्रेष्ठको संयोजकत्वमा रहेको सम्पादन बोर्डमा पठाउने र त्यहाँ आवश्यक सम्पादनपछि एक महिनाभित्रमा कृषि तथा पशुपक्षी मन्त्रालयले स्वीकृत गरेर १० वर्षीय राष्ट्रिय रणनीति सार्वजनिक गरिने बताइएको छ । समग्रमा आगामी दुई महिनाभित्रमा भैँसीपालनको विकाससम्बन्धी राष्ट्रिय रणनीति सार्वजनिक गरिने र सो रणनीतिलाई नेपालमा आगामी वर्ष तय भएको १० औँ एशियाली भैँसी कार्यशालामा समेत प्रस्तुत गरिने कृषि वन विश्वविद्यालयका प्राध्यापक डा. भूमिनन्दन देवकोटाले जानकारी दिए । पशुजन्य खाद्य पदार्थमा सबैभन्दा बढी योगदान रहेको भैँसीपालनलाई अनुसन्धानमा आधारित विकास गर्ने उद्देश्यले भैँसी विकास समाज गठन गर्ने निर्णयसमेत कार्यशालाले गरेको छ । समाजको संयोजकमा कृषि वन विश्वविद्यालयका प्राध्यापक डा. भूमिनन्दन देवकोटा रहेका छन् । समाजले पशुविकासमा क्रियाशील सङ्घसंस्थासँग समन्वय गरी अनुसन्धानमा आधारित विकासलाई जोड दिने लक्ष्य रहेको बताइन्छ । समाजको सदस्यहरुमा कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक डा निना अमात्य गोर्खाली, पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा लोकनाथ पौडेल, डा चन्द्र ढकाल, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका वरिष्ठ पशु विकास अधिकृत शिवनाथ महतो र राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन कार्यालय हरिहरभवनका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज भट्ट रहेका छन् । त्यसैगरी, सदस्यमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. नवीन घिमिरे, कृषि वन विश्वविद्यालयका उपप्राध्यापक डा. गोकर्ण गौतम, कृषक प्रतिनिधि तथा सातवटै प्रदेश सरकारअन्तर्गतको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रालयले तोकेका एक/एक जना प्रतिनिधि सदस्य रहने राष्ट्रिय पशु प्रजनन कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. खगेन्द्र सापकोटाले जानकारी दिएका छन् । नेपालमा खपत हुने कूल २२ लाख मेट्रिक टन दूधमध्ये भैँसीको दूधले ६४ प्रतिशत तथा चार लाख मेट्रिक टन मासुमध्ये ५४ प्रतिशत भैँसीको मासुले ओगटेको बताइन्छ । पशुजन्य खाद्य उत्पादनमा ५५ प्रतिशत योगदान भैँसीको रहेको तथ्याङ्क छ । रासस
पर्यटन बाेर्डकाे सीईओमा धनञ्जय रेग्मी नियुक्त
काठमाडाैं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले रेग्मीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो । बोर्डले सिइओ छनोट उपसमितिले सिफारिस गरेका ३ जनाको नामबाट रेग्मीलाई ४ वर्ष कार्यकालका लागि सिइओमा नियुक्ति गर्ने निर्णय गरेको छ। छनोट उपसमितिले माघ ५ मा नयाँ सिइओका लागि सिफारिस गरेका ३ जना उम्मेदवारको नाममा एकमत नभएपछि विवाद सुरु भएको थियो। तर, पर्यटन नियमावली २०५५ र सिइओ छनोट कार्यविधि मिच्न चलखेल सुरु भएसँगै छनोट उपसमिति सदस्यहरूले चेतावनीसमेत दिँदै आएका थिए। छनोट उपसमितिले नयाँ सीईओका लागि आवदेन दिएका १७ जनाबाट ९ जनाको नाम सर्ट लिस्ट गरी धनञ्जय रेग्मी, हिकमत सिंह ऐर र दीपक बस्ताकोटीको नाम नेपाल पर्यटन बोर्डको सञ्चालन समितिमा रिफारिस गरेको थियो।
म्यानपावरको ठगी आँटः ३ दाजुभाइबाट साढे १५ लाख खाइदिए, नक्कली कागज थमाएर दुतावास पठाए
काठमाडौं । विदेश पठाइदिन्छु भन्दै म्यानपावर कम्पनी गल्फ रिक्रुमेन्टका संचालक कृष्णबहादुर तामाङले एकै परिवारका ३ दाजुभाइसहित ४ जनाको साढे १५ लाख रुपैयाँ ठगी गरेका छन् । तामाङले ओखलढुंगाका विष्णुबहादुर कार्कीका ३ दाजुभाइ र उनका साथी अजय परियारको साढे १५ लाख रुपैयाँ ठगी गरेका हुन् । वैदेशिक रोजगार विभागमा भेटिएका कार्की र परियार विभागका महानिर्देशकको प्रतिक्षामा थिए । वैदेशिक रोजगारीमा लागि चेक रिपब्लिक पठाउने भन्दै गल्फ रिक्रुटमेन्टका संचालक तामाङले विष्णुसहित उनका भाइहरु विक्रम र सन्तोष तथा साथी अजय परियारबाट १५ लाख ५० हजार रुपैयाँ लिएको कार्कीले जानकारी दिए । तर, पैसा लिए पनि उनीहरु विदेश जान पाएका छैनन् । तामाङले आफूले पैसा मात्रै लिएनन्, विष्णुका भाइहरुलाई अन्तरवार्ताको लागि भन्दै प्लेनबाट भारतको राजाधानी नयाँ दिल्ली पनि पठाए । चेक रिपब्लिककको दुतावास नेपालमा नभएकोले अन्तरवार्ताका लागि नयाँ दिल्ली जान भनिएको विष्णुले बताए । ‘तपाईंहरु विदेश जाने कन्फर्म भयो, चेक रिपब्लिकको दुतावास नेपालमा छैन, अन्तरवार्ताको लागि नयाँ दिल्ली जानुपर्छ भने, अनि भाइहरु विक्रम र सन्तोष दिल्लीमा रहेको चेक रिपब्लिकको दुतावास पुग्दा पो हामीलाई दिएको कागजात नक्कली रहेको र आफूहरु ठगिएको थाहा पायौं,’ विष्णुले भने । यसरी ठगिएको थाहा पाएपछि पीडितले संयुक्त रुपमा गत १६ साउनमा विभागमा उजुरी गरेका थिए । विभागले ४० दिनभित्रमा समाधान गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेपनि आजसम्म समस्याको समाधान नभएको अजय परियारले बताए । यसरी फसे विष्णु कार्की बुबाको माध्यमबाट २०७५ साल जेठ महिनामा म्यानपावर व्यवसायी कृष्णबहादुर तामाङ्गसँग जोडिए । तामाङ्ग गल्फ रिकुमेन्टका संचालक थिए । ओखलढुंगा घर भएका विष्णु कार्कीका बुबालाई तामाङ बैदेशिक रोजगारीका नेपालीलाई विदेश पठाउँछन् भन्ने थाहा थियो । पीडक तामाङ र पीडित दुबै पक्ष ओखलढुंगा जिल्लाको छिमेकी गाउँपालिकाका बासिन्दा हुन् । छिमेकी गाउँका तामाङले विष्णुका बुबासँग चेक रिपब्लिकमा कामको लागि राम्रो अवसर आएको हुँदा तीनै जना छोरालाई रोजगारका लागि पठाउन आग्रह गरेका थिए । सबै बुझ्दा उनलाई राम्रै लाग्यो । आफ्ना तीन जना छोरासँगै छोराका साथी अजय पनि सँगै जाने भए । र, त्यसको लागि तामाङले मागेअनुसार सुरुमै प्रतिव्यक्ति १÷१ लाख रुपैयाँका दरले रकम पनि बुझाए । तामाङले पैसा माग्दै गए । र, ४ जनाले नै गरी १५ लाख ५० हजार रुपैयाँ बुझाए । यस्तो रकम बुझाएपछि तामाङले अन्तरवार्ताको लागि भन्दै दिल्ली पठाएका थिए । वैदेशिक रोजगारी जाने क्रममा म्यानपावरबाट ठगिएको भने यो पहिलो उजुरी हैन । पछिल्ला दिनहरुमा विभागले नयाँ रोजगारका गन्तव्य खोज्नुका साथै अनलाइनबाटै ई–स्टीकर, ई–टोकन तथा मेसेजिङ्ग प्रणाली लागू गरे पनि ठगीको संख्या भने घटेको छैन । अघिल्लो वर्षको अनुपातमा म्यानपावरबाट ठगीमा परेका पीडितका उजुरी ३५ प्रतिशत बढेका छन् । गत आर्थिक वर्षको यो समयसम्म ५ सय ४८ वटा उजुरी दर्ता भएका थिए भने यस वर्षको सोही अवधिभित्र ७ सय ५३ वटा उजुरी विभागमा परेका थिए । म्यानपावर मर्ज भएपछि झन समस्या विष्णु कार्कीसहित पीडितले रकम बुझाएको गल्फ रिक्रुमेन्ट म्यानपावर अहिले अस्तित्वमा छैन । सो म्यानपावर साधनासँग मर्ज भयो । कार्की परिवार र परियारसँग पैसा लिने गल्फका कृष्णबहादुर तामाङ अहिले सम्पर्क विहिन छन् । साधनाको व्यवस्थापन नमराज तामाङले सम्हालेका छन् । मर्जर भएसँगै गल्फ रिकुमेन्ट म्यानपावरको खातामा रहेको ४ लाख रुपैयाँ साधना म्यानपावरमा आएको छ । बाँकी रकम गल्फका कृष्णबहादुरसँगै रहेको साधनाले बताउने गरेको छ । कृष्णबहादुरले लिएको पैसा व्यक्तिगत भएकोले संस्थागत रुपमा दायित्व आफूमा नसर्ने नमराजले बताए । ‘गल्फले ४ लाख रुपैयाँ दिन बाँकी रहेको देखिन्छ, त्यति पैसा दिने हो भने म तयार छु, अरु रकम लिनुपर्नेछ भने कृष्णबहादुरको व्यक्तिगत लेनदेनको कुरा हो, उहाँसँगै कुरा गर्नुपर्छ, म र साधनासँग जोडिने विषय होइन,’ नमराजले भने । ऋण तिर्नका लागि गाँउको जग्गा नै बेच्नु पर्यो ३ भाइ छोरा विदेश पठाउँन विष्णुका बाबुले गाउँमै २५ प्रतिशत व्याजमा ऋण लिएका थिए । ऋण लिएर बुझाएको पैसा कृष्णबहादुरले खाइदिए । साहूँले ताकेता गरेपछि ओखलढुंगाको चम्पादेबीमा रहेको आफ्नो जग्गा जमिन बेचेर ऋण तिरेको विष्णु कार्कीले बताए ।