सबैकाे आँखा बानेश्वरकाे खाइमाेनाेमा

काठमाडाैं । काठमाडौं बानेश्वर चोकको वायाँपट्टीको अग्लो विल्डिङ । त्यही विल्डिङको भुइँतलामा सफा चिटिक्क परेको एउटा पसल छ । त्यो पसलको बाहिरीपट्टी लेखिएको देखिन्छ खाइमोनो जापान । खाइमोनो जापान ? सायद तपाईं पनि अल्मलिनुभयो होला । त्यो बाटोमा हिड्ने जोकोहीले पनि ‘खाइमोनो’मा आँखा लगाएर हिडिरहेका देखिन्छन् । सिसाको ढोका खोलेर भित्र पस्ने वित्तिकै मलिन र स्पष्ट आवाजमा सुनिन्छ-यहाँलाई खाइमोनोमा स्वागत छ । जापानी भाषामा खाइमोनो भनेको नेपालीमा किनमेल हो । अब तपाईंले बुझिसक्नुभयो होला बानेश्वरको खाइमोनो सुपरमार्केट ।खाइमोनो भित्रको माहोल पृथक किसिमको छ । सबै आ-आफ्नो कामका व्यस्त देखिन्छन् । त्यही व्यस्तको माहोलमा काम गर्न व्यस्त देखिन्थे निरोज भुसाल । खाइमोनोका चिफ अपरेसन ईन्चार्ज हुन निरोज भुसाल ।  उनी र उनका साथीहरुले जापानमा उत्पादित विभिन्न सामानहरु ल्याएर नेपालमा व्यवसाय थालेका छन् । उनले आफ्नो पसलमा आउने ग्राहकलाई फरक किसिमको स्वाद र अनुभव दिन खोजिरहेका छन् । विगत वर्षहरुमा जापानमा बटुलेका अनुभवहरु प्रयोग गरेर उनी आफ्नै देशमा केही गर्ने वातावरण सिर्जना गरिरहेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका १ तम्घास स्थायी घर भएका भुसालको जीवन संघर्षमय छ । उनको जीबनयात्रा प्रेरणादायी पनि छ । आफ्नो छोराले प्रगती गरोस् । धेरै पढोस् र असल मान्छे बनेर समाजको सहयोग गरोस् भन्ने सबै आमाबुबाको चाहना हुन्छ । त्यही चाहना निरोजका आमाबुबाको पनि थियो । आमाबुबाको त्यही चाहना र आफ्नो लक्ष्यलाई पछ्याउँदै निरोज संर्घषको दौरानमा छन् । आफ्नो सपनालाई साकार गर्न र आत्मनिर्भर भएर बाँच्न उनले उनका साथीहरु मिलेर हाल काठमाडौंको बानेश्वर चोकमै एउटा खाइमोनो नामको पसल स्थापना गरेका छन् । करिब ५ करोडमा खाइमोनो स्थापना निरोज भुसाल आफै केही गर्नु पर्छ भन्ने मानसिकता बोकेका एक उदाहरणीय युवा हुन् । उनका संघर्षका पाइलाहरु धेरै लामा छन् । तिनै संघर्षका पाइलाहरुलाई यथार्थमा बदल्दै उनी रउनका साथीहरुले करिब ५ करोडको लागतमा खाइमोनो जापान स्थापना गरेका छन् ।  करिब १० वर्ष जापानमा काम गरिसकेका उनले जापानमै उत्पादन भएका विभिन्न सामानहरुलाई नेपालमा ल्याएर विक्रि गरिरहेका छन् । ‘१० वर्ष जापानमै काम गरेँ, जापानको विजनेस पोलिसी बुझेँ, त्यसपछि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले यो व्यवसाय गर्न थालेँ,’ उनले भने ।  करिब ५ जना साथी मिलेर खाइमोनो जापान खोलेका छन् । नेपालमा निरोजले मात्र काम गरिरहेका छन् । उनका अन्य साथीहरु जापानबाटै काम गर्ने उनी बताउँछन् । हाल खाइमोनोमा जापानी उत्पादनहरु मात्र पाइन्छन् । जव खाइमोनोभित्र मान्छे प्रवेश गर्छ उसले जापानमा भएको आभास गर्छ । पसलको संरचना, पसलमा भएका सामान, काम गर्ने कर्मचारी र पसलको पद्धती दुरुस्तै जापानिज छ । जब हाम्रा ग्राहकहरु पसलमा आउँछन, दुरुस्तै जापानमा आएको महसुस हुने गरेको प्रतिक्रिया दिने निरोज बताउँछन् । अहिले खाइमोनोमा जापानी उत्पादनका स्टेशनरी, कस्मेटिक, हाउसहोल्ड, किचेन, स्वास्थ्यसँग सम्बन्धित सामान, ट्वेजलगायतका सामानहरु पाइन्छन् ।  खाइमोनो जापानसँग सम्बन्धित भएकोले यहाँ पाइने सामानहरु अन्यकोमा पाइनेसँग कुनै तुलना नहुने उनी बताउँछन् । ‘हाम्रो सामानको मूल्य अन्यकोभन्दा सस्तो नै हुन्छ, क्वालिटीपनि अन्यको भन्दा राम्रो छ,’ उनले भने । जापनिज उत्पादनका सामानहरु नेपाली ग्राहकले मन पराउने भएकोले ती सामान नेपालमै ल्याएर पसल खोलेको उनले बताए । हाल खाइमानेनोमा १० जनाले रोजगारी पाएका छन् । खाइमोनोको सामान प्रयोग गर्न आउने ग्राहकको संख्या दैनिक बढ्दै गएको उनी बताउँछन् । १० वर्ष जापानमा निरोज भुसाल सानैदेखि पढ्नमा साह्रै रुची राख्थे । पढाईको सिलसिलामा उनले धेरै विद्यालयहरुको अनुभव पनि लिए । उनले विद्यालयको शिक्षा दिपेन्द्र पुलिस स्कूलबाट लिए । दश कक्षा पास भइसकेपछि उनी प्लस टु पढन् बुटवल गए । पढाई पनि राम्रै थियो । प्लस टु पनि राम्रैसँग पास गरे निरोजले । उनको चाहना बिबिए पढ्ने थियो । उनी बिबिए पढ्न पुनः काठमाडौं आए । कलेजमा पढ्दै गर्दा उनको मन अब विदेश जाने तर्फ लाग्यो । विदेश कसरी जाने भन्ने सोचमा लागे उनी । विदेश जानका लागि उनले अप्लाई पनि गरे । उनी पास भए । अब उनको जापान जाने कुरा तय भयो । जापान जाने चाहना भएका उनको इच्छा पनि पुरा भयो । बीबीए पढ्दै गर्दा उनी जापान गए । त्यतिखेर उनी १९/२० वर्षका थिए । उनले जापानको रिचुमिकान एसिया प्यासिफिक युनिभर्सिटीमै बिबिए गरे । ‘लगभग १० वर्ष जापानमा बसें, जापानमा धेरै काम गरेँ, रेष्टुरेण्ट, फ्याक्ट्री, लगायतका कम्पनीमा काम गरेँ ।’ उनले भने । जापानमा पढ्दै काम गर्दै गर्दा धेरै कुरा सिकेको उनी बताउँछन् । ‘त्यहाँको काम सिकेर नै आफ्नै देशमा आएर केही गर्ने ममा उत्सुकता भयो, साथीहरुसँग आफुभन्दा ठुलोबाट सल्लाह लिएर नेपाल फर्केँ र यो पसल खोलेँ,’ उनले भने । जापानमा काम गर्दा त्यहाँका मानिसहरुले आफ्नै देशमा केही गर्नुपर्छ भनेर सल्लाह दिने गरेको उनी बताउँछन् । विदेशमा गइहाले पनि त्यहाँको सीप र अनुभवलाई प्रयोग गरेर नेपालमै केही गर्न सकिने उनको भनाइ छ । यसका लागि सरकाले पनि सहज वातावरण सिर्जना गर्नु पर्ने उनको धारणा छ । खाइमोनो स्थापनाको समयमा पनि धेरै समस्या भएको बताउँदै उनले सरकारले केही गर्ने चाहना भएका युवालाई सहज वातावरण सिर्जना गरेर काममा लगाउनु पर्ने बताए ।  यो सँगै अन्य ठाउँमा पनि खाइमोनो विस्तार गर्ने उनको सोच छ । उनले काठमाडौंका मूख्य मूख्य ठाउँमा खाइमोनोको सेवा विस्तार गर्ने बताए । ग्राहकले सस्तो सामानभन्दा पनि गुणस्तर प्रयोग गर्न चाहने भएकाले आफुले नेपालमा खाइमोनोको आवश्यकता महसुुस गरेको उनको धारणा छ ।

युवा लक्षित हेरचार डटकममा इस्लिंगटन कलेजका विद्यार्थी इन्टर्न गर्दै

काठमाडौं । बिजुली, पानी, फर्निचर, एसी, फ्रिज, रंगरोगन, नेटवर्किङ्ग सम्बन्धी घर तथा कार्यालयहरुमा, मर्मत सम्भार सम्बन्धी कार्य गर्दै आएको हेरचार डटकमले इस्लिंगटन कलेजका आइटी विद्यार्थीहरुलाई इन्टर्नको व्यवस्था गरेको छ । इन्टनको पहिलो व्याजमा प्रमेश घिमिरे तथा बिनिश पौडेल समावेश भएका थिए । युवा जोश अनि केही गर्छु भन्नेहरुको लागि हेरचार सधैं भरपर्दो प्लेटफर्म रहेको हेरचारका प्रबन्धक उत्सब भट्टराईले बताएका छन् । ‘समस्या हामीलाई समाधान हजुरलाई’ भन्ने मूल नाराका साथ अगाडि बढेको हेरचारले केही गर्छु भन्ने युवाहरुलाई विदेश होइन हेरचार आउनुस संगै केही गरौं भन्ने गरेको भट्टराईले बताए । दृढ इच्छाशक्ति अनि कडा मिहिनेत गर्न सके नेपालमै सुन फ़लाउन सकिन्छ भन्ने विश्वास आफूमा रहेको प्रबन्धकले बताएका छन् ।  

कावासोतीमा ३ हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र बन्ने, २१ करोड लागतमा दुई वर्षभित्र सक्ने लक्ष्य

कावासाेती । नवलपुरको कावासोतीमा रु २१ करोडको लागतमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएको छ । ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वादेशका लागि’भन्ने नारा लिएर फर्किएका १ सय १ युवाको पहलमा कावासोती नगरपालिका–१४ अग्यौलीमा चिस्यान केन्द्र निर्माण हुन लागेका हो । ती युवाले रिटर्नी कृषि तथा पशुपालन समूह स्थापना गरेर संस्थामार्फत केन्द्र बनाउन लागिएको समूहका अध्यक्ष नेत्रनारायण थनेतले जानकारी दिएका छन् । उनका अनुसार केन्द्र सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको २० र समूहको ३० प्रतिशत लगानी केन्द्रमा हुनेछ । कृषिउपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालिम र बीउबिजन चिस्यान केन्द्रले नै उपलब्ध गराउने अध्यक्ष थनेतले बताए । परियोजना संयोजक युवराज पाठकका अनुसार अहिले चिस्यान केन्द्रको अन्तिम मस्यौदा पूरा भएको र आवश्यक पर्ने सामग्री सम्बन्धित कम्पनीसँग जानकारी काम जारी रहेको छ । करिब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको केन्द्र जर्मन प्रविधिबाट बन्ने छ । फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ । किसानले केन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् र भाडामा लिएर आफ्ना सामान राख्न चाहनेका लागि पनि सेवा उपलब्ध हुने छ । केन्द्र स्थापना अगाडि बढेपछि कृषक खुशी भएका छन् । जिल्लामा उत्पादन हुने सुन्तला, अमिलो, आलु, प्याजलगायतका कृषिउपज यहाँ भण्डारण गरेर बेमौसममा बिक्री गरी अम्दानीमा वृद्धि गर्न सकिने प्रधानमन्त्री आधुनिकीकरण परियोजना नवलपुरका वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले बताए ।रासस