चन्द्रागिरी हिल्सको सञ्चालकमा उमा विष्ट निर्वाचित
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको सञ्चालकमा उमा विष्ट (जिसी) निर्वाचित भएकी छिन् । पुस २९ गते सम्पन्न कम्पनीको १२औं वार्षिक साधारण सभाले विष्टलाई सञ्चालकमा निर्वाचित गरेको हो । उनी कम्पनीको सर्वसाधारण सेयरधनीको तर्फबाट निर्वाचित भएकी हुन् ।
सेञ्चुरी क्यापिटलको सीइओमा रमेश कुमार श्रेष्ठ नियुक्त
काठमाडाैं । सेञ्चुरी क्यापिटल मार्केट्सको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्समा माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गरेका छन् । रमेश कुमार श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।
स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गर्नेछौं: श्रममन्त्री
दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने बताएका छन् । मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवद्र्धनका लागि छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह गरे । श्रेष्ठले उद्यमशीलताको संस्कृति विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै बजारको मागबमोजिम सीपमूलक श्रमशक्ति विकास गर्न आवश्यक रहेको बताए । यस क्षेत्रका व्यहारिक कठिनाइ तथा समस्याको पहिचान गर्दै आन्तरिक रोजगारीको क्षेत्रमा क्रियाशील सरोकारवालालाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो । सरकारको मुख्य प्राथमिकता देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नु रहेको बताउदै उहाँले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न दीर्घकालीन रणनीति बनाएर अघि बढ्नु आवश्यक रहेको स्पष्ट गरे । स्थानीयस्तरमा रहेका रोजगारीको सम्भावनाका क्षेत्रको पहिचान गर्न र आन्तरिक रोजगारीको प्रवद्र्धनमा सङ्घ, प्रदेश र स्थानीय तहबीच आपसमा समन्वय गर्न आवश्यक रहेको उनले बताए । रासस