कर्मचारी सञ्चय कोष सञ्चालक समितिको अध्यक्षमा राजश्व सचिव कर्ण
काठमाडौं । राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण कर्मचारी सञ्चय कोष सञ्चालक समितिको अध्यक्ष बनेका छन् । उनले सोमबार पद तथा गोपनियताको सपथ पनि लिएका छन् । सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ खुबाएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको थियो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ । सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिए । ‘हडतालजन्य कामहरू हुने वातावरण नहोस्’, उनले भने, ‘कोष मर्यादित रूपमा सञ्चालनमा आओस् ।’ यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए । उनी सेवा निवृत्त भएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।
नाडेप लघुवित्तको स्वतन्त्र सञ्चालकमा माधब प्रधान नियुक्त
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधब प्रधान नियुक्त भएका छन् । भदौ १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रधानलाई रिक्त स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
इजरायल रोजगारीः भदौ अन्तिम सातादेखि भाषा परीक्षा
काठमाडौं । सरकारी तवरबाट इजरायलमा रोजगारीका लागि भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ । वैदेशिक रोजगार विभागले ‘केयरगिभर’ का लागि इजरायल जानेहरूको अंग्रेजी भाषको लिखित परीक्षा भदौ अन्तिम साता हुने जनाएको हो । विभागले परीक्षा केन्द्रका सम्बन्धमा पछि सूचना प्रकाशन गर्ने र परीक्षाको प्रवेश पत्र अनलाइनमार्फत उपलब्ध हुने जनाएको छ । यसअघि नै विभागले इजरायल रोजगारीमा सहभागी हुने नेपाली श्रमिकको लिखित र मौखिक परीक्षा लोक सेवा आयोग सरह हुने जनाएको थियो । सरकारले सम्झौताअनुसार इजरायल रोजगारी सरकारबाट हाल १ हजार जना सहायक कामदारको माग भएकोले वैदेशिक रोजगार निर्देशिकाले तय गरेको प्रक्रिया बमोजिम ९ हजार ६ सय ९९ नेपाली नागरिकहरूले आवेदन दिएका छन् । सरकारले पहिलो चरणमा १ हजार नेपाली श्रमिकलाई इजरायल रोजगारीमा पठाउने तयारी गरेको छ । जसअनुसार ७० प्रतिशत अर्थात ७ सय महिला र ३० प्रतिशत अर्थात ३ सय पुरुष रोजगारीका लागि जान पाउनेछन् । लामो समयको तयारी पश्चात नेपाली श्रमिकका लागि इजरायलमा रोजगारीका खुला गरेको हो । बिभागका अनुसार इजरायलमा रोजगारको लागि मासिक ५३०० एनआईएस तलब हुनेछ । जसको नेपाली विनिमय अनुसार करिब तलब एक लाख ९३ हजार रुपैयाँ बढी हुन आउँछ । सो तलब सातामा ४२ घण्टाको हिसावमा हुन्छ ।