निर्माण क्षेत्रमा काम गर्न नेपाली इजरायल जान सुरु
काठमाडाैं । नेपालीलाई इजरायलले निर्माण क्षेत्रमा पनि रोजगारीको व्यवस्था गर्ने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेसँगै इजरायलमा रोजगारीको नयाँ क्षेत्र खुलेको हो । परराष्ट्रमन्त्री डा नारायण खड्का र नेपालका लागि इजरायलका राजदूत हानान गोडर–गोल्डबर्गरबीच आज दिउँसो भएको वार्तापछि उक्त निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षले सुसारे/सेवासुश्रुवा क्षेत्रमा सहायक कामदार छनोटका सम्बन्धमा आवश्यक सबै प्रक्रिया पूरा भएकामा सन्तोष व्यक्त गर्दै यस क्षेत्रका ९९ जना कामदारको पहिलो टोली आज इजरायल प्रस्थान गर्ने घोषणा गरेका छन् । सुसारे/सेवासुश्रुवा क्षेत्रका लागि छनोट गरिएका एक हजारभन्दा बढी कामदार आगामी हप्ताहरूमा इजरायल प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तोकिएको समयमा हाजिर हुँदैनन् कर्मचारीः ७३२ लाई कारबाही सिफारिस
काठमाडाैं । राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयसहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने क्रम नरोकिएको जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षमा १४७ कार्यालयमा गरिएको अनुगमनमा ७३२ कर्मचारी तोकिएको समयमा कार्यालयमा नआएको पाइएको छ । यस्तै १५६ कर्मचारीले तोकिएको पोसाक नलगाएको फेला परेको केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । हालै सरुवा भएर जल तथा ऊर्जा आयोगको सचिवालयमा जान लाग्नुभएका सचिव घिमिरेले चालु आर्थिक वर्षमा केन्द्रले गरेका कामकारबाही तथा अनुगमनको बारेमा जानकारी गराउँदै पछिल्ला समयमा सुशासन कायम गर्न धेरै सुधारात्मक प्रयास गरिएको जानकारी दिए । यसरी तोकिएअनुसार काम नगर्ने निजामती कर्मचारीलाई निजामती सेवा ऐन २०४९, स्वास्थ्य सेवाका कर्मचारीलाई स्वास्थ्य सेवा ऐन २०५३ र करार सेवाका कर्मचारीलाई सेवा करार सम्झौताबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाएको पनि उनले बताए । घिमिरेले गत आर्थिक वर्षबाट ल्याइएको २५० र चालु आर्थिक वर्षमा परेको २६३ उजुरीमध्ये २२१ अर्थात् ४३ प्रतिशत फछ्र्योट भएको जानकारी दिए । प्राप्त विवरणअनुसार २१ वटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ भने ४७ उजुरीको विषयमा आवश्यक निर्देशन दिइएको छ । केन्द्रका अनुसार १५३ उजुरी तामेलीमा रहेको, ७० उजुरीमा छानबिन समिति गठन भएको र ७३ वटा प्रतिवेदन पेश भएको छ । हाल करार तथा राजनीतिक नियुक्तिद्वारा सार्वजनिक पद धारण गर्ने व्यक्ति सङ्घीय तहमा ७२ हजार ८००, प्रदेश तहमा ११ हजार ४०० र स्थानीय तहमा दुई लाख २६ हजार रहेका र उनीहरुको सम्पत्ति विवरण बुझाए नबुझाएको बारेमा प्रतिवेदन तयार पारी अख्तियारमा पेश गर्ने योजना रहेको सचिव घिमिरेले जानकारी दिए । उनका अनुसार विभिन्न प्रदेशमा सचेतनामूलक गोष्ठी, सदाचार प्रवद्र्धन कार्यक्रमका साथै प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएका छन् । विश्व बैंकको सहयोगमा सडक विभागअन्तर्गत सञ्चालित ३५ र राष्ट्रिय गौरवका १७ आयोजनाको प्राविधिक परीक्षणका लागि सम्झौता अन्तिम चरणमा पुगेको छ । सिंहदरबारमा आज पत्रकारसँगको भेटघाटका क्रममा सतर्कता केन्द्रले केही गर्ने होइन भनेर मागेका प्रतिवेदनसमेत नपठाउने गरेको विगतको उदाहरण प्रस्तुत गर्दै सचिव घिमिरेले पछिल्ला समयमा केन्द्रमै बोलाएर जानकारी लिने र नआउनेलाई कारबाहीको सिफारिस गर्न थालेपछि जवाफदेही हुनेक्रम बढेको पनि बताए । रासस
दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुवँर, नेपालका लागि पहिलाे महिला एमडी
काठमाडाैं । दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशक (एमडी)काे रूपमा नियुक्त गरेको छ । दराजले उनलाई दराज नेपालकाे एमडीमा नियुक्त गरेकाे हाे । एमडी कुवँरले दराज नेपालसँग आवद्द हुन पाउँदा उत्साहित भएकाे बताएकी छन् । कुवँरलेले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एम बि ए ,गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बि एस सकाएर १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गरेकाे अनुभव छ । यो अवधिमा उनले कार्लसन वागोनलिट ट्राभल र इ–कमर्स अग्रगामी, अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरिन् जहाँ उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट जस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न सहयोग गरेकी थिइन् । उनको नियुक्तिसँगै दराजका सबै अपरेटिङ देशहरूमा अब स्वदेशी प्रबन्ध निर्देशक (एमडी)हरू रहेको कम्पनीले जनाएको छ । वर्तमान एमडी लिनो अहलेरिङले सिङ्गापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि आँचलले पदभार ग्रहण गर्नेछन् । अहलरिङले भने, ‘दराजका लागि यो निकै सुनाैलाे समय हो, विगत ३.५ वर्षमा देशमा इ–कमर्स निर्माण र यस उद्योगको जग बसाल्नु ठूलो सम्मानको कुरा हो।’ ‘हामीसँग ७५० भन्दा बढी डरजियनसको उत्कृष्ट टोली छ र सामान्यतया दराज र ई–कमर्सको भविष्य अत्यन्त उज्ज्वल हुनेछ, म दराज समूह भित्र रहनेछु, यो व्यवस्थापनको मामलामा एक धेरै सहज संक्रमण हुनेछ, आँचलको नेतृत्वमा दराजले अझ ठूलो उचाइमा पुग्नेमा म विश्वस्त छु, ‘ उनले भने ।